News Summary
Generated by OK AI. Editorially reviewed.- डोल्पा जिल्ला अस्पतालमा आर्थिक वर्ष २०८२/८३ मा १५ हजार ९७८ जनाले ओपीडी सेवा लिएका छन् भने २०३ जना जिल्ला बाहिर रेफर भएका छन्।
- अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव कायमै रहेकाले जटिल बिरामी उपचारका लागि जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता रहेको स्वास्थ्यकर्मीले बताएका छन्।
- स्थानीय र स्वास्थ्यकर्मीले डोल्पामा कम्तीमा ९औँ तहका विशेषज्ञ चिकित्सक तत्काल पदस्थापन गर्न प्रदेश सरकारसँग माग गरेका छन्।
२५ भदौ, डोल्पा । डोल्पा जिल्ला अस्पतालमा सेवा लिनेहरूको संख्या बढिरहेको छ । पछिल्लो एक वर्षमा १५ हजारभन्दा बढीले बहिरंग सेवा (ओपीडी) लिएका छन्। तर, बिरामीको चाप बढ्दै गए पनि अस्पतालमा लामो समयदेखि विशेषज्ञ चिकित्सकको अभाव भने कायमै छ।
आर्थिक वर्ष २०८२/८३ मा मात्रै अस्पतालबाट १५ हजार ९७८ जनाले ओपीडी सेवा लिंदा २०३ जना बिरामी थप उपचारका लागि जिल्ला बाहिर रेफर भएका छन्।
सो अवधिमा ८६१ जनाले आकस्मिक सेवा, ५ हजार ७९ जनाले ल्याब, ४४६ जनाले ईसीजी र ६१ जनाले मुटुको इको सेवा लिएका छन्। त्यस्तै, १ हजार ८३८ जनाले भिडियो एक्सरे (यूएसजी), २ हजार ६५८ जनाले एक्सरे र ७०८ जनाले भर्ना भएर उपचार सेवा लिएका छन्।
अस्पतालमा सुत्केरी सेवाको चापसमेत उल्लेख्य छ। आर्थिक वर्ष २०८२/८३ मा १५६ जनाले सुत्केरी सेवा लिएका छन्। तीमध्ये १२६ जनाको सामान्य र ३० जनाको शल्यक्रियामार्फत सुत्केरी गराइएको अस्पतालको तथ्यांक छ।
त्यस्तै, ४० जना नवजात शिशुले एसएनसीयू सेवा, ५०७ जना बालबालिकाले खोप सेवा, ४७६ जनाले अस्थायी परिवार नियोजन र सात जनाले स्थायी परिवार नियोजन सेवा लिएका छन्।
अस्पतालका अहेब तथा मेडिकल रेकर्डर कर्णबहादुर बुढाका अनुसार सो अवधिमा ३६ जनाले हर्निया, एपेन्डिक्स, लाइपोमालगायतका मेजर सर्जिकल सेवा र २०४ जनाले मध्यम खालका सर्जिकल सेवा लिएका छन्।
२०३ बिरामी जिल्ला बाहिर रेफर
अस्पतालमा उपलब्ध सेवाभन्दा बाहिरका जटिल प्रकृतिका बिरामीलाई भने जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता छ। आर्थिक वर्ष २०८२/८३ मा मात्रै अस्पतालले २०३ जना बिरामीलाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरेको जनाएको छ।
रेफर हुनेमा हड्डी भाँचिएका, ब्रेन हेमोरेज, जटिल पेटसम्बन्धी समस्या, पत्थरी, ठूलो आकारको पाठेघरसम्बन्धी समस्या, मुटुरोग तथा एनआईसीयू आवश्यक पर्ने नवजात शिशु बढी छन्।
भौगोलिक रूपमा विकट डोल्पाबाट जटिल बिरामीलाई नेपालगञ्ज, सुर्खेत वा काठमाडौं लैजानुपर्ने हुँदा उपचारसँगै यातायात खर्चसमेत महँगो पर्ने गरेको स्वास्थ्यकर्मी बताउँछन्। लामो र कठिन सडक यात्राका कारण गम्भीर अवस्थाका बिरामीको जोखिमसमेत बढ्ने गरेको उनीहरूको भनाइ छ।
जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमलबहादुर शाहीले विशेषज्ञ चिकित्सक नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भइरहेको बताए। ‘विशेषज्ञ चिकित्सक नहुँदा समस्या हुने गरेको छ। अहिले हामीसँग ८औं तहका तीन जना चिकित्सक छन्,’ उनले भने, ‘लामो समयदेखि ९औँ तहको विशेषज्ञ चिकित्सक पठाउन पटक–पटक माग गर्यौँ, तर सुनुवाइ भएन।’
कर्णाली प्रदेश सरकारले हालै गरेको चिकित्सक सरुवामा पनि डोल्पाले ९औं तहको विशेषज्ञ चिकित्सक पाउन सकेन। प्रदेश सरकारले कर्णालीका अन्य हिमाली तथा दुर्गम जिल्लामा ९औँ तहका चिकित्सक पठाउने निर्णय गरे पनि डोल्पामा भने पुनः ८औं तहकै चिकित्सक पठाउने तयारी गरेको भन्दै स्वास्थ्यकर्मी तथा स्थानीयले असन्तुष्टि जनाएका छन्।
जिल्ला अस्पतालमा कार्यरत दुई जना ८औं तहका चिकित्सकको सरुवा भएपछि उनीहरूको स्थानमा समेत ८औँ तहकै चिकित्सक पठाउने तयारी गरिएको हो।
जिल्ला स्वास्थ्य कार्यालयका निमित्त स्वास्थ्य व्यवस्थापक सिजन रावलले डोल्पामा ८औँ तहसँगै ९औँ तहको चिकित्सक आवश्यक रहेको बताए। ‘जिल्ला ठूलो छ। दैनिक बिरामीको चाप हुन्छ। यो जिल्लालाई आठौंसँगै नवौं तहको चिकित्सकको खाँचो छ,’ उनले भने, ‘अन्य जिल्लाजस्तो सुगम पनि छैन। जटिल प्रकारका बिरामी रेफर गर्दा उपचारसँगै यातायात खर्चसमेत धेरै हुन्छ।’
उनका अनुसार जिल्लामै कम्तीमा एक जना विशेषज्ञ चिकित्सक उपलब्ध भए जिल्ला बाहिर रेफर गर्नुपर्ने बिरामीको संख्या घटाउन सकिन्छ।
उता, कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयकी सचिव रोशनीकुमारी श्रेष्ठले ९औँ तहका चिकित्सकको हेरफेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गर्ने बताइन्। ‘९औं तहको चिकित्सकको माग डोल्पादेखि धेरै नै आएको छ। त्यहाँ आवश्यक पनि छ। तर त्यसमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हेर्ने गर्छ,’ उनले भनिन्, ‘हाम्रो मन्त्रालयबाट हामीले पठाउने भनेको ८औं नै हो। दरबन्दीअनुसारको चिकित्सक अभाव छ नै। अब मुख्यमन्त्री कार्यालयमा आवश्यक सहजीकरण गरौंला।’
जिल्ला अस्पतालको भौतिक पूर्वाधार तथा उपकरण विस्तार हुँदै गए पनि दक्ष तथा विशेषज्ञ जनशक्तिको अभाव भने कायमै छ। बिरामीको चाप बढ्दै गए पनि जटिल प्रकृतिका बिरामीको उपचारका लागि विशेषज्ञ चिकित्सक नहुँदा जिल्ला बाहिर रेफर गर्नुपर्ने अवस्था रहेको स्वास्थ्यकर्मी बताउँछन्।
एक वर्षमा १५ हजारभन्दा बढीले ओपीडी सेवा लिनुले जिल्लामा स्वास्थ्य सेवाको माग र अस्पतालप्रतिको निर्भरता उच्च रहेको देखाउँछ। तर, बिरामीको चापअनुसार विशेषज्ञ जनशक्ति उपलब्ध नहुँदा डोल्पाका नागरिकले सामान्यदेखि जटिल उपचारका लागि समेत जिल्ला बाहिर जानुपर्ने बाध्यता कायमै छ।
स्वास्थ्यकर्मी तथा स्थानीयले डोल्पाको भौगोलिक अवस्था र बढ्दो बिरामीको चापलाई ध्यानमा राख्दै कम्तीमा ९औँ तहका चिकित्सकसहित आवश्यक विशेषज्ञ जनशक्ति तत्काल पदस्थापन गर्न प्रदेश सरकारसँग माग गरेका छन्।
प्रतिक्रिया 4