+
+
Shares

विवाद मिलाउन मधेश प्रदेशमा रास्वपाको विशेष टोली परिचालन

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २९ गते १७:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाले मधेश प्रदेशको संगठन विवाद मिलाउन सहमहामन्त्री हरि ढकालको संयोजकत्वमा ‘मधेश प्रदेश संगठन अडिट समिति’ खटाएको छ।
  • समितिले पर्साबाट सुरु गरेर बारा, रौतहट, सर्लाही, जनकपुर र महोत्तरीमा छलफल सकाएको छ, र सोमबार सप्तरीमा छलफल गर्दैछ।
  • मधेशका आठ जिल्लामध्ये पर्साबाहेक सात जिल्लामा अधिवेशन हुन नसकेपछि विवाद समाधानका लागि रास्वपा सभापति रवि लामिछानेले पनि मधेश जाने तयारी गरेका छन्।

२९ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मधेश प्रदेशको विवाद मिलाउन विशेष टोली बनाएर खटाएको छ ।

रास्वपाको प्रथम महाधिवेशन गत असार दोस्रो साता चितवनमा सम्पन्न भएको थियो । तर मधेश प्रदेशका आठ जिल्लामध्ये पर्सा बाहेकका अन्य सात वटा जिल्लामा अझैसम्म अधिवेशन हुन सकेको छैन ।

यस सन्दर्भमा रास्वपाले विशेष टोली परिचालन गरेको हो ।

यही भदौ ५ गते बसेको रास्वपाको केन्द्रीय समिति बैठकले पार्टीका सहमहामन्त्री हरि ढकालको संयोजकत्वमा ‘मधेश प्रदेश संगठन अडिट समिति’ गठन गरेको थियो ।

उक्त समितिले स्थलगत रूपमै पुगेर छलफल र संवाद गरिरहेको छ । सहमहामन्त्री हरि ढकाल नेतृत्वको अडिट समितिमा नेताहरू सुरेन्द्र चौधरी, अशोककुमार चौधरी, प्रमोद न्यौपाने, जगदीश खरेल र पुनम अग्रवाल सदस्य रहेका छन  ।

अडिट समितिले समितिले पर्सा जिल्लाबाट छलफल सुरु गरेको थियो । पर्साबाट बारा, रौतहट, सर्लाही, जनकपुर र महोत्तरीमा अडिट सम्पन्न गरेको छ । सोमबार सप्तरीमा छलफल छ ।

सात वटै जिल्लामा छलफल गरेर संगठन अडिट गर्दै विवाद समाधानको उपायसहित विशेष टोली काठमाडौं फर्किनेछ ।

रास्वपाका एक नेताका अनुसार, सांसद र संगठन बिचको रस्साकस्सीले मधेशमा अधिवेशन सम्पन्न गर्न नसकिएको हो । यसपछि चितवनमा सम्पन्न महाधिवेशनमा मधेशका पर्सा जिल्ला बाहेक अन्य जिल्लाहरूको पुरानै प्रतिनिधिहरूले सहभागीता जनाएका थिए ।

पर्सामा समेत समन्य विवादपछि तोकिएको दिन भन्दा एक दिन ढिलोगरी अधिवेशन भएको थियो । पर्सामा पनि निर्वाचित सांसद र संगठनबीच रस्साकस्सी भएको थियो । प्रतिस्पर्धामा भने तत्कालीन जिल्ला सभापति हरि पन्त विजयी भएका थिए ।

बाँकी जिल्लाको अधिवेशन गराउने गरी रास्वपाले विवाद समाधानका लागि काम गर्दैछ । यस निम्ति रास्वपाको केन्द्रीय समितिले नै सहमहामन्त्री ढकालको संयोजकत्वमा ‘मधेश प्रदेश संगठन अडिट समिति’ गठन गरेको हो ।

यो विशेष टोलीले हाल उक्त स्थलगत रूपमै छलफल र संवाद गरिरहेको छ । टोलीका एक सदस्यका अनुसार सप्तरीमा छलफल सकाएर बुधबार काठमाडौं फर्किने तयारी छ ।

त्यसपछि रास्वपा सभापति रवि लामिछाने मधेश प्रदेश जाने तयारी छ ।

त्यसक्रममा सभापति लामिछानेले विशेष टोलीले पहिचान गरेको समस्या र सुझाएको समाधानको उपाय समेतका आधारमा मधेशको विवाद समाधानका लागि पहल लिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?