+
+
Shares

प्रमुख प्रशासकीय अधिकृत नियमित कार्यालय नआएको भन्दै गाउँपालिका अध्यक्षले काटे हाजिरी

सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले प्रमुख प्रशासकीय अधिकृत जयकिशोर साह नियमित रूपमा कार्यालयमा उपस्थित नभएको भन्दै  हाजिरी काटेका छन् ।

अमलेश शर्मा अमलेश शर्मा
२०८३ असोज १ गते १४:५७

१ असोज, सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले प्रमुख प्रशासकीय अधिकृत जयकिशोर साह नियमित रूपमा कार्यालयमा उपस्थित नभएको भन्दै  हाजिरी काटेका छन् ।

अध्यक्ष महतोले बुधबार प्रमुख प्रशासकीय अधिकृत साहको हाजिरी काटेका हुन् ।

अध्यक्ष महतोले चालु आर्थिक वर्ष सुरु भएयता प्रमुख प्रशासकीय अधिकृत साहको उपस्थिति न्यून रहेको दाबी गरे । अध्यक्ष महतोका अनुसा साउन महिनामा साहको हाजिरी सात दिन मात्र देखिएको छ । बाँकी दिन ‘काठमाडौं काज’ उल्लेख गरिएको अध्यक्ष महताले बताए ।

‘यो हाम्रो कार्यकालको अन्तिम वर्ष हो । जनताका काम छिटो गर्नुपर्ने बेला प्रमुख प्रशासकीय अधिकृत नियमित रूपमा कार्यालयमा उपस्थित हुनुभएको छैन,’ अध्यक्ष महतोले भने ।

उनले गत आर्थिक वर्ष गाउँ गौरव आयोजनाअन्तर्गत विनियोजित ९ करोड ४० लाख रुपैयाँ बजेट कर्मचारीकै कारण खर्च हुन नसकेर फ्रिज गएको आरोप लगाए ।

यता प्रमुख प्रशासकीय अधिकृत साहले भने विवाद असार मसान्तदेखि नै सुरु भएको बताए । उनका अनुसार भदौ १० गते गाउँसभा सम्पन्न भएपनि बजेट तथा कार्यक्रम कानुनबमोजिम प्रमाणित नगरिएको विषयमा आफ्नो असहमति रहेको उनले बताए ।

‘गाउँसभा सम्पन्न भएको १५ दिनभित्र बजेट प्रमाणित गरी प्रमुख प्रशासकीय अधिकृतसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ,’ प्रमुख प्रशासकीय अधिकृत साहले भने, ‘त्यसपछि मात्रै अख्तियारी प्राप्त हुने र योजना कार्यान्वयन प्रक्रिया अघि बढ्ने हो ।’

उनले बजेटमा प्रशासनिक खर्च कटौती गरिएको र तर्जुमा दिग्दर्शनविपरीत बजेट ल्याइएको भन्दै अध्यक्षलाई ज्ञापनपत्रसमेत बुझाएको बताए ।

आफू कार्यालयमा अनुपस्थित रहेको आरोप अस्वीकार गर्दै साहले भदौ २४ र २५ गतेसम्म कार्यालय गएको दाबी गरे । स्वास्थ्य समस्याका कारण नियमित रूपमा उपस्थित हुन नसकेको उनको भनाइ छ ।

विवाद समाधानका लागि बुधबार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा छलफल भएको थियो । छलफलपछि कार्यपालिका बैठक बोलाउने निर्णय भएको जनाइएको छ ।

लेखक
अमलेश शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?