३ साउन, जनकपुरधाम । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले गाउँ गौरवका आयोजनामा खर्च हुन नसकी फिर्ता भएको ९ करोड ४० लाख रुपैयाँभन्दा बढी बजेट पुन: उपलब्ध गराउन संघीय सरकारसँग माग गरेको छ ।
गाउँपालिका अध्यक्ष राजकुमार महतोले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै माग गरेका हन् । माग सम्बोधन नभएपछि उनले दोस्रो पटक भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावललाई ध्यानाकर्षण गराएका छन् ।
आर्थिक वर्ष २०८२/८३ मा गाउँ गौरवका आयोजनाका लागि विनियोजित बजेट कार्यान्वयन हुन नसकी फिर्ता गएको भन्दै महतोले उक्त रकमको क्षतिपूर्ति, चालु आर्थिक वर्ष २०८३/८४ मा शतप्रतिशत बजेट कार्यान्वयनको लिखित सुनिश्चितता तथा भ्रष्टाचारमुक्त स्थानीय तह निर्माणमा सरकारको सहयोग माग गरेका छन् ।
ज्ञापनपत्रमा गाउँसभाले स्वीकृत गरेको बजेट कार्यान्वयनका लागि पटक–पटक निर्देशन दिँदासमेत प्रमुख प्रशासकीय अधिकृत र पूर्वाधार विकास शाखा प्रमुख (इन्जिनियर) ले समयमै निर्णय तथा कार्यान्वयन प्रक्रिया अघि नबढाएको आरोप लगाइएको छ । त्यसकै कारण सडक, भवन र अन्य पूर्वाधारसम्बन्धी गाउँ गौरवका आयोजना सञ्चालन हुन नसकेको तथा सशर्त, समपूरक र विशेष अनुदानअन्तर्गत प्राप्त करोडौँ रुपैयाँ बजेट फिर्ता गएको दाबी गरिएको छ ।
उपभोक्ता समितिमार्फत सञ्चालन हुने साना योजनालाई प्राथमिकता दिँदै ठेक्कामार्फत सञ्चालन हुने ठूला आयोजना उपेक्षा गरिएकाले गाउँपालिकाले विकासको महत्वपूर्ण अवसर गुमाएको उल्लेख गर्दै आन्तरिक स्रोतबाट यस्तो बजेट घाटा पूर्ति गर्न असम्भव रहेको अध्यक्ष महतोले बताएका छन् ।
उनले आगामी वर्ष बजेट कार्यान्वयनमा ढिलाइ नहुने लिखित ग्यारेन्टी, कर्मचारी र जनप्रतिनिधिबाट सुशासन तथा भ्रष्टाचार नियन्त्रणमा पूर्ण सहयोगको सुनिश्चितता पनि माग गरेका छन् ।
महतोले यी माग समयमै सम्बोधन नभए आर्थिक वर्ष २०८३/८४ को बजेट गाउँसभाबाट पारित नहुने र त्यसको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने चेतावनी दिएका छन् । साथै आवश्यक परे शान्तिपूर्ण तथा कानुनी आन्दोलनका कार्यक्रम अघि बढाइने उल्लेख गरिएको छ ।
प्रतिक्रिया 4