+
+
Shares

बाढीमा बेपत्ता तीन दाजुभाइको कुशको शव बनाएर सामूहिक अन्त्येष्टि

डडेल्धुरा आलितालका टेकबहादुर घर्तीका तीन छोरा दिपक, राजेश र किरणको परम्पराअनुसार कुुशको शव बनाएर स्थानीय घाटमा अन्त्येष्टि गरिएको छ ।

जनक विष्ट जनक विष्ट
२०८३ असोज १ गते १८:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • १० भदौको भोटेकोशी बाढीमा बेपत्ता डडेल्धुराका टेकबहादुर घर्तीका तीन सहोदर छोराको कुशको शव बनाएर बिहीबार सामूहिक अन्त्येष्टि गरिएको छ।
  • आलिताल गाउँपालिका–८ का चन्द्रबहादुर जर्घाको पनि कुशको शव बनाएर २७ भदौमा अन्त्येष्टि गरिएको छ।
  • रसुवा बाढीमा आलिताल गाउँपालिकाका ११ जना बेपत्ता रहेको उपाध्यक्ष मैनाकुमारी रावलले बताइन्।

१ असोज, धनगढी । १० भदौको विनाशकारी भोटेकोशी बाढीमा बेपत्ता डडेल्धुराका तीन सहोदर दाजुभाइको कुशको शव बनाएर सामूहिक अन्त्येष्टि गरिएको छ ।

घटना भएको २२ दिन बित्दासमेत अवस्थाबारे यकिन नभएपछि आलिताल गाउँपालिका–७ का टेकबहादुर घर्तीको परिवारले बिहीबार कुशकोे शव बनाएर उनीहरूको सामूहिक अन्त्येष्टि गरेको होे ।

टेकबहादुरका अनुसार रसुुवा बाढीमा बेपत्ता तीन छोरा दिपक घर्ती (३०), राजेश घर्ती (२७) र किरण घर्ती (१८) को परम्पराअनुसार बिहीबार कुुशको शव बनाएर स्थानीय घाटमा अन्त्येष्टि गरिएको छ ।

घटनापछि घर्तीले काठमाडौं तथा चितवन पुगेर छोराहरूको खोजी गरेका थिए । तर नभेटेपछि आशा मार्दै सामूहिक अन्त्येष्टि गरेका हुन् । ‘तीनै जना छोरा लाङटाङ हाइड्रोपावरमा काम गर्थे । बाढी आएपछि आफैं त्रिशूली पुगेको थिएँ,’ टेकबहादुरले भने, ‘तर, छोराको लाश र सास भेटिएन । यतिका दिनसम्म अत्तोपत्तो नभएपछि कुशको शव बनाएर अन्त्येष्टि गरेका हौँ ।’

विगत चार वर्षदेखि हाइड्रोपावर कम्पनीमा काम गर्दै आएका उनीहरू गत वैशाखमा मात्र रसुवा गएका थिए । बेपत्ता भएका जेठा छोरा दिपकका श्रीमती र तीन जना छोराछोरी छन् भने राजेशका पनि दुई छोरा छन् ।

कान्छा छोरा किरण भने अविवाहित थिए । उनीहरू नियमितजसो घरमा कुराकानी गरिरहन्थे । घटना भएको दिनसमेत छोरा राजेशले बिहान साढे ८ बजेतिर फोनमा कुराकानी गरेको टेकबहादुर बताउँछन् ।

बाढीमा बेपत्ता आलिताल गाउँपालिका–८ का चन्द्रबहादुर जर्घाको पनि कुुशको शव बनाएर अन्त्येष्टि गरिएको छ । नातामा दाजु पर्ने डम्मर जर्घामगरका अनुसार २७ भदौमा परिवारले उनको अन्त्येष्टि गरेका हुन् ।

आलितालकै ११ जना बेपत्ता

रसुवा बाढीमा आलिताल गाउँपालिकाका ११ जना बेपत्ता भएका छन् । गाउँपालिकाकी उपाध्यक्ष मैनाकुमारी रावलकाअनुसार वडा नम्बर ३ का ७ जना, वडा नम्बर ७ का तीन जना सहोदर दाजुभाइ र वडा नम्बर ८ का एक गरेर ११ जना बेपत्ता छन् ।

वडा नम्बर ३ का इन्जिनियर समेत रहेका नवीन साउद, गोविन्द रामजाली, गौरव रामजाली, उमेश बुढा, लक्ष्मण रामजाली, दिनेश रामजाली र सुन्दर बुढा बाढीमा बेपत्ता भएको रावलले बताइन् ।

उनीहरूको खोजीका लागि गाउँपालिका अध्यक्ष शेरसिंह पार्की नेतृत्वको टोली चितवन तथा काठमाडौं पुगेको थियो । अस्पतालमा राखिएका सबैजसो शवसमेत हेरिएको थियो तर पत्तो नै नलागेपछि पालिकाको टोली फर्किएको थियो ।

परिवारका सदस्यसमेत खोजीका लागि पालिकाको टोलीमा गएका थिए । तर बेपत्ता आफन्त फेला नपरेपछि कुशको शव बनाएर धार्मिक परम्पराअनुसार अन्त्येष्टि काम थालेका छन् । उनीहरूको शव पहिचानका लागि रगतको नमुनासमेत दिएका छन् ।

रसुवा बाढीमा सुदूरपश्चिम १२१ जना बेपत्ता छन् भने ४३ जना परिवारको सम्पर्कमा आइसकेको प्रदेश प्रदेश कार्यालय धनगढीको तथ्यांक रहेको छ ।

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?