+
+
Shares

रसुवा बाढीलाई परराष्ट्रमन्त्रीले भने– हिमालयन सुनामी

 परराष्ट्रमन्त्री शिशिर खनालले रसुवामा गएको विनाशकारी बाढीलाई हिमालयन सुनामीको संज्ञा दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १ गते १२:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्रमन्त्री शिशिर खनालले रसुवाको बाढीलाई ‘हिमालयन सुनामी’ भन्दै यसले नेपालको समृद्धिको न्यारेटिभमा धक्का पुगेको बताए।
  • उनले १० भदौको बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवनसम्म नदी तटीय क्षेत्रमा क्षति पुर्‍याएको र यसको कारण जलवायु परिवर्तन भएको सरकारको निष्कर्ष रहेको जानकारी दिए।
  • जलवायु परिवर्तन, जलवायु न्याय, अन्तर्राष्ट्रिय सहयोग र जलवायु वित्तबारे समितिमा छलफल भएको र प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल अर्को साता संयुक्त राज्य अमेरिका जानेछ।

१ असोज, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवामा गएको विनाशकारी बाढीलाई हिमालयन सुनामीको संज्ञा दिएका छन् ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘अहिलेको यो जुन बाढी छ, मैले सुनामी भन्ने गरेको छु– हिमालयन सुनामी  । यो जुन डिजास्टर अनुभव गरियो त्यसले हामीले पछिल्लो समय कम्तीमा पनि २०/२५ वर्षदेखि बनाइराखेको समृद्धिको न्यारेटिभमा नै धक्का पुर्‍याएको छ,’ उनले भने ।

१० भदौमा रसुवामा विनाशकारी बाढी गयो । त्यसले रसुवा, नुवाकोट, धादिङ र चितवनसम्म नदी तटीय क्षेत्रमा क्षति पुर्‍याएको छ ।

जलवायु परिवर्तनका कारण यो क्षति नेपालले बेहोर्नुपरेको निष्कर्षमा सरकार छ । यसबारे थप अध्ययन पनि भइराखेको मन्त्री खनालले जानकारी दिएका छन् ।

मन्त्री अखनालका अनुसार नेपालको समृद्धिको विषय एकदमै बढी रिभर कोरिडोर, हिमालयन रिभर कोरिडोरसँग जोडिएको छ । उत्तर दक्षिणका मेजर बाटोहरुको परिकल्पना रिभर कोरिडोर सँग जोडिएको छ  ।

उनी थप्छन्, ‘हामीले दुई देशको, दुइटा छिमेकी देशमा बसेर जुन ब्रिजको परिकल्पना गरिराख्या छौं । त्यसको पनि कनेक्टिभिटीको मेजर लाइफलाइन रिभर कोरिडोर सँग जोडिएको छ ।’

पछिल्ला ३०/४० वर्षको अवधिमा नेपालको बस्ती विकास र बजार विकास पनि रिभर कोरिडोरका बेसिनहरूमा जोडिएको उनले बताए ।

नेपालको समृद्धिसँग जोडेको हाइड्रोपावरको विषय पनि अल्टिमेट्ली नदीमा हुने नै भयो । बिजुली उत्पादन गरेर त्यसको प्रयोग अथवा त्यसको निर्यातबाट नेपालले जुन समृद्धिको सपना देखेको छ यो पनि हिमालयन रिभर कोरिडोरसँग जोडिएको छ ।

यही बेला संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल अर्को साता संयुक्त राज्य अमेरिका जाँदै छ ।

यस पृष्ठभूमिमा संसदीय समितिले जलवायु परिवर्तनसम्बन्धी विषय विज्ञहरूसँग छलफल गरेको हो ।

बैठकमा जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको जोखिम, जलवायु न्याय, अन्तर्राष्ट्रिय सहयोग तथा जलवायु वित्तलगायत विषयमा विज्ञहरूले धारणा राखेका थिए ।

नेपालको अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनका मुद्दालाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने विषयमा पनि छलफल भएको छ ।

छलफलमै परराष्ट्रमन्त्री खनालले महासभामा नेपालको सहभागिता नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक प्राथमिकता प्रस्तुत गर्ने महत्त्वपूर्ण अवसरका रूपमा रहने बताएका छन् ।

उनले थपेका छन्, ‘अहिले हामीले सोच्नु पर्ने विषय चाहिँ अध्ययन अनुसन्धान नलेज क्रियसनको एउटा विषय हो ।’

नेपाल अथवा नेपाल बाहिरबाट हिमालय क्षेत्रमा गरिएका अध्ययन अनुसन्धानहरूलाई एकत्रित रुपमा एक ठाउँमा ल्याएर त्यसबाट कन्सिस्टेन्ट एउटा नेशनल पोजिसन बनाउने कुरा एउटा महत्त्वपूर्ण पाटो रहेको पनि उनले औंल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?