माया (पद्मप्रिया ) यस्तै छिन् – हसमुख स्वभावकी, विनोदप्रिय । गलत डायल भएर उनीमाझ आएका कलहरूलाई पनि सहजताका साथ उठाउँछिन्, यसरी प्रिय कुरा गर्छिन् गलत नम्बर डायल गर्नेलाई शायद लाग्दो हो – उसको कल व्यर्थ थिएन । यसैबाट त प्रभावित अन्जन (आबिर च्याटर्जि) उनीप्रति तानिँदै जान्छ । अन्जन अर्थात् त्यही अन्तर्मुखी पात्र जो मायाको बुबाबाट पियानो लेसन लिइरहेको छ । अन्जन मायाप्रति यति आकर्षित हुन जान्छ कि त्यसको प्रभावले पियानोमा गलत की थिच्न थाल्छ ।
तर माया केवल उसँग हास्छिन्, जिस्किन्छिन् । अन्जनप्रति कुनै प्रेमभाव छैन । हुन पनि असम्भव लाग्छ, कारण – उनीहरू प्रवृति र जीवनशैलीका बेग्लाबेग्लै छोरमा अवस्थित छन् । तर अन्जनको मन मायाको चपलतासँगै बज्ने पाउजुमा मोहित भएको छ । पियानोका धुनहरू भन्दा नजिक लाग्छन् उसलाई पाउजुका ध्वनिहरू ।
अन्जन अव्यक्त प्रेमको सागरमा अझ गहिराइमा डुब्दै जान्छ । छिप्पिएका रातहरूमा ऊ टोलाउन थाल्छ । आफ्नो दैनिकीका सामान्य कुराहरूमा पनि अलमल गर्न थाल्छ ।
एक दिन, ऊ आफ्ना काकाको सानो सुटकेस खोल्छ । त्यो सुटकेसमा ट्राउजर, कोट, टोपी, सनग्लास र अन्य सामानहरू भरिएका छन् । अञ्जन त्यस पहिरनमा सजिन्छ । अनि उसले मायाको नम्बर डायल गर्छ । त्यसपछिका केही हप्ताहरूमा धेरै घण्टा फोनमा कुराकानी हुन्छ ।
अञ्जनले आफ्ना गहिरा, अर्थपूर्ण र आत्मविश्वासपूर्ण विचारहरूले मायालाई प्रभावित पार्छ । तर उसले आफ्नो पहिचान कहिल्यै खुलाउँदैन। ऊ पूर्ण रूपमा अपरिचित व्यक्ति बनेर उनीसँग कुरा गर्छ । अनि मायाको जीवनमा जरा हाल्न थाल्छ । त्यो विकसित हुँदै जान्छ ।

‘यदि यो पागलपनमा यति धेरै आनन्द छ भने यो कहिल्यै गलत हुन सक्दैन ।’ माया आफूले माया गरेको अज्ञात व्यक्तिप्रतिको पागलपनबारे यस्तो भन्छिन् ।
आधुनिक युवायुवतीको जमातमा असङ्गत देखिने अञ्जनले कसरी दर्साउँछ त आफ्नो प्रेमभाव ? यही प्रश्नको वरिपरि घुम्छ अनिरुद्ध रोय चौधरीको १७ मिनेटको सर्ट फिल्म – ‘माया’ को समग्र कथा । तर यस कथामा समाहित भएका छन् – अन्जन र मायाको पृथक मनोविज्ञान, रहस्यहरूप्रतिको मानवीय उत्सुकता र प्रेमका अनौठा स्वरूपहरू ।
***
सिनेमाटोग्राफी, निर्देशन, सट कम्पोजिसन र लाइटिङ उत्कृष्ट सुहाउँदा छन् । यद्यपि केही ठाउँमा फिल्टरको प्रयोग अलि बढी देखिन्छ । वा सायद दृश्य जानाजानी कम उज्यालो बनाइएको थियो । आबिर च्याटर्जिले सही अभिव्यक्ति र इसाराका साथ एक अन्तर्मुखी प्रेमीको भूमिका निभाएका छन् । उत्कृष्ट ब्याकग्राउन्ड स्कोरले समग्र दृश्य प्रभावलाई अझ बढाउँछ ।
मायाका बुबाको अभिनयमा स्वाभाविकता अलि कम भेटिन्छ । र, उनले दिएको पियानो लेसनहरू फिल्मका बाँकी दृश्यहरूसँग एकाकार हुन नसकेका हुन् कि भन्ने झिनो अनुभव भइरहन्छ । त्यस्तै अन्जनको समृद्ध वैचारिकी र आत्मविश्वासको मुल कहाँबाट कसरी फुट्छ त ? यो प्रश्नमा ध्यान पुर्याउन नसकिएको देखिन्छ ।
रविकिरण अय्यागिरीको भिजुअल कम्पोजिसनले फिल्मको कलात्मक पक्षमा मिहिन काम गरेको छ । अञ्जनलाई उनको वरपरको वातावरणबाट अलग देखाउन र उनको सामाजिक एकाकीपनलाई जोड दिन ‘स्यालो डेप्थ अफ फिल्ड’ को व्यापक प्रयोग गरिएको छ ।

९० को दशकको धीमा गतिमा अघि बढ्ने प्रेमको लयलाई समात्नका लागि र्यापिड एडिट्स गर्नुको सट्टा क्यामेरा निरन्तर वस्तुका सूक्ष्म बनावट, पियानोका किबोर्ड र अनुहारका अभिव्यक्तिहरूमा अडिइरहन्छ । १९९० को दशकको नोस्टाल्जियालाई प्रस्तुत गर्न दिनका दृश्यहरूमा वार्म, एम्बर र सुनौलो आभा दिने कलर ग्रेडिङको प्रयोग गरिएको छ । यसले एउटा आत्मीय र नोस्टाल्जिक सौन्दर्य प्रस्तुत गर्छ ।
रातका क्षणहरूमा अन्डरएक्सपोज राखिएको छ । यसले गहिरा छायाँहरू र लो-कीको संरचना निर्माण गर्छ, जसले अञ्जनको लुकेको पहिचान र अन्तर्मुखी स्वभावलाई दृश्यका माध्यमबाट व्यक्त गर्छ । फोन संवादका दृश्यहरूमा टाइल र ब्लु रङहरूको बाहुल्यता छ । यसले बिहानका न्यानो पियानो लेसनका दृश्यहरूसँग कन्ट्रास्ट पैदा गर्छ, र बोलीको सामीप्यताका बाबजुद दुई पात्रहरूबीचको भावनात्मक दूरीलाई उजागर गर्छ ।
‘माया’ पहिलो प्रेम र भ्रमको एउटा सुकोमल खोजी हो । मानिसहरू कसरी अपरिचित व्यक्तिहरूमा आफ्ना आदर्शहरू प्रतिविम्बित गर्छन् भन्ने विषयको एउटा लोभलाग्दो कथानकमा ढालिदिन्छ ।
प्रतिक्रिया 4