+
+
Shares

हरिवंशको ५५ हजार किलोमिटर बीवाईडी यात्रा : ‘अरू गाडी साह्रो लाग्न थाल्यो’

बीवाईडीमा ५५ हजार किलोमिटर पार गरिसकेको हरिवंशको यात्रा उनका लागि एउटा गाडीको यात्रामात्र होइन, पेट्रोलियम गाडीबाट विद्युतीय गाडीमा सरेपछि बदलिएको आफ्नै ड्राइभिङ अनुभवको कथा बनेको छ ।

कृष्णसिंह धामी कृष्णसिंह धामी
२०८३ असोज १६ गते १४:०२

१६ असोज, काठमाडौं । थापाथली नजिकै एउटा कार्यालयमा चर्चित हास्य अभिनेता हरिवंश आचार्यले आफ्नो ‘बीवाईडी एट्टो–३’ ईभी अन्डरग्राउन्ड पार्किङमा लगे । पार्किङस्थल दुई–तीन तला गहिरो थियो । गाडी लिएर तल झर्न त सजिलै भयो । तर, फर्किने बेला भने उनको मनमा एउटै प्रश्न खेलिरह्यो– यति ठाडो उकालोमा यो गाडीले आफूलाई माथि निकाल्ला त ?

‘गाडी त ल्याएँ, अब तीन तला तलबाट कसरी माथि निकाल्ने होला ?,’ त्यो कार्यक्रमभरि उनको मनमा यही कुरा खेलिरह्यो ।

पार्किङबाट बाहिर निस्कँदा बाटोभन्दा अगाडि गाडीबाट अगाडिको सिलिङ मात्रै देखिन्थ्यो । उनले बाहिर सडकमा गार्डलाई उभ्याएर राखे, कुनै गाडी आए रोकिदिन आग्रह गरे ।

‘सिलिङ, सिलिङ, सिलिङ मात्रै देख्दै गएँ । एकैचोटि ह्वात्त आकाश देखियो, आकाश देखेपछि बल्ल बाहिर निस्कन लागेछु भनेर ढुक्क भएँ,’ हरिवंश सुनाउँछन्, ‘त्यस्तो ठाडो उकालोमा पनि गाडीले मजाले तानेर ल्यायो, त्यसपछि एउटा खड्गो काटेजस्तो भयो ।’

साढे तीन वर्षभन्दा बढी समयदेखि बीवाईडी एट्टो–३ चलाइरहेका हरिवंशका लागि यो एउटा सामान्य घटनामात्र थिएन, यही अवधिमा उनले साढे ५५ हजार किलोमिटर यात्रा गरिसकेका छन् ।

काठमाडौंका सडकदेखि बुटवल, भैरहवा हुँदै जोमसोमसम्मको यात्रा उनले यही विद्युतीय गाडीमा गरेका छन् । पहाडी उकालो, ओरालो र कच्ची बाटोमा समेत गाडीले दिएको अनुभवले उनलाई ईभीप्रतिको आफ्नो निर्णयमा थप विश्वस्त बनाएको छ ।

‘अहिले त बीवाईडी चढ्ने बानी नै परिसक्यो,’ उनी भन्छन्, ‘अरू जुनसुकै गाडी पनि साह्रो लाग्न थालेको छ ।’

जापानी गाडीको रहर, बीवाईडीमा पुगेर पूरा

हरिवंशले बीवाईडी किन्ने निर्णय गर्दा नेपालमा विद्युतीय गाडी (ईभी) बजार अहिलेको जस्तो थिएन । ईभीबारे धेरैको धारणा पनि अहिलेको जस्तो सकारात्मक थिएन ।

यसअघि उनले भारतीय गाडी चलाइसकेका थिए । तर, जापानी गाडीको भित्री सजावट, फिनिसिङ र गुणस्तरले उनलाई आकर्षित गर्थ्यो ।

‘जापानी गाडी चढ्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो, तर जापानी गाडी महँगो हुन्थ्यो,’ उनी सम्झन्छन् । त्यसैबीच नेपालमा बीवाईडी आयो । गाडीका फिचर, भित्री सजावट र स्मुथनेस हेर्दा उनलाई आफूले खोजेको गाडी यही हो भन्ने लाग्यो ।

‘जापानी गाडीभन्दा केही कुरामा पनि कमी लागेन,’ उनी भन्छन् । त्यतिबेला सरकारले ईभीमा तुलनात्मक रूपमा बढी सहुलियत दिएकाले पेट्रोलियम गाडीको तुलनामा कम मूल्यमा उनले बीवाईडी किन्न पाए ।

गाडी किन्ने बेला कम्पनीसँग उनको ब्रान्ड एम्बेसडरका रूपमा काम गर्ने सहमति पनि भयो । उनी छुट चाहन्थे, कम्पनीलाई आफ्नो ब्रान्ड प्रवर्द्धनका लागि अनुहार चाहिएको थियो ।

‘दुइटैको कुरा मिल्यो, त्यसपछि मैले गाडी किनेँ र गाडीसँगै नेपालका लागि यसको ब्रान्ड एम्बेसडर पनि भएँ,’ उनी भन्छन् । तर, सुरुमा बीवाईडी चढ्दा उनलाई अर्को खालको अप्ठ्यारो महसुस हुन्थ्यो ।

नेपालमा गाडीको संख्या थोरै थियो । गाडीको फिनिसिङ र चमकधमकका कारण ‘नयाँ गाडी चढ्यो’ भनेर सबैको ध्यान जाने हो कि भन्ने लाग्थ्यो ।

‘गाडी यति राम्रो थियो कि तरकारी किन्न जाँदा पनि यही गाडी लिएर जान अप्ठ्यारो होला कि जस्तो लाग्थ्यो,’ उनी हाँस्दै भन्छन्, ‘अलि लाज लागेजस्तो हुन्थ्यो, अहिले त सबैले चढ्न थालिसके ।’

महिनाको ३५ हजारबाट ३ हजार

हरिवंशका लागि ईभीको सबैभन्दा ठूलो परिवर्तन भनेको गाडी चलाउँदा लाग्ने खर्च हो । बीवाईडी किन्नुअघि उनले आफ्नो मासिक इन्धन खर्च हिसाब गर्थे । औसतमा महिनामा करिब ३५ हजार रुपैयाँ पेट्रोलियम पदार्थमा खर्च हुन्थ्यो ।

अहिले त्यही गाडी चलाउन बिजुलीमा मासिक करिब ३ हजार रुपैयाँ खर्च हुने उनको हिसाब छ । ‘पहिले हरेक महिना ३५ हजार रुपैयाँजति इन्धनमा खर्च हुन्थ्यो, अहिले बिजुलीको बिल हिसाब गर्दा ३ हजारभन्दा बढी खर्च हुँदैन होला,’ उनी भन्छन् ।

उनीसँग एउटा रोचक अनुभव पनि छ । उनी कहिलेकाहीँ पेट्रोल पम्प जान्छन्, तर गाडीमा पेट्रोल वा डिजेल हाल्न होइन । आफ्नो सानो व्यवसायका लागि डिजेल चाहिँदा जर्किन बोकेर पेट्रोल पम्प पुग्छन् ।

‘मान्छेहरू छक्क पर्छन्, ईभी गाडीमा जर्किन लिएर डिजेल किन्न आएको देख्दा,’ उनी भन्छन्, ‘कसैले त यसमा तेल हाल्न पर्दैन पनि भन्नुहुन्छ, अनि होइन, डिजेल लिन आएको भनेर सम्झाउनुपर्छ ।’

उनका लागि ईभीको यही पक्ष सबैभन्दा ठूलो आकर्षण हो । ‘नेपालमा तेल भनेको महँगो चिज हो, अर्थतन्त्रबाट सबैभन्दा धेरै पैसा बाहिरिनेमध्ये तेल पनि हो,’ उनी भन्छन्, ‘त्यसैले आफ्नै देशमा उत्पादन भएको बिजुलीबाट यति थोरै पैसामा गाडी चलाउन पाउनु एउटा हिसाबले वरदान जस्तै हो ।’

‘बानी नै बिग्रिएछ’

हरिवंशले पेट्रोलियम गाडी चलाएका छन् । अहिले पनि कहिलेकाहीँ छोराको म्यानुअल गाडी चलाउँछन् । तर, बीवाईडी चलाउने बानी परिसकेपछि उनलाई अरू गाडी फरक लाग्न थालेको छ ।

‘यो गाडी चढ्न थालेपछि बानी नै बिग्रेछ,’ उनी भन्छन्, ‘जुनसुकै गाडी पनि साह्रो लाग्छ ।’

ईभीको स्मुथनेस उनलाई विशेष मन परेको छ । उकालोमा समेत गाडीले दिने पिकअपले उनलाई धेरै पटक प्रभावित पारेको छ । काठमाडौंको अन्डरग्राउन्ड पार्किङको घटनाले त उनको विश्वास झन् बढायो । गाउँतिर जाँदा पनि डाँडा, ढलान र कच्ची बाटोमा गाडीले समस्या नदिएको उनको अनुभव छ ।

उनले यो गाडीबाट अहिलेसम्म साढे ५५ हजार किलोमिटरभन्दा बढी यात्रा गरेका छन् । यो अवधिमा उनले बुटवल, भैरहवा मात्र होइन, यही मोडेलको अर्को गाडीमा जोमसोमसम्मको यात्रा पनि गरेका छन् । जोमसोम यात्राको भिडियो उनले सामाजिक सञ्जालमा समेत राखेका थिए ।

चार्ज सकिएला कि भन्ने डर

ईभी किन्दा सुरुमा उनलाई भन्दा बढी उनका वरपरका मानिसलाई चिन्ता थियो । ‘चार्ज सकियो भने के गर्ने ? बाटोमै गाडी अलपत्र हुन्छ, पेट्रोल भए त जर्किनमा ल्याएर हाल्न मिल्छ,’ मानिसले उनलाई सुनाउँथे । त्यतिबेला चार्जिङ स्टेसन पनि अहिलेको तुलनामा निकै कम थिए । हरिवंशले त्यसको आफ्नै उपाय निकाले ।

‘चार्ज आधा भएपछि मौका पाउने बित्तिकै फेरि चार्ज गर्ने,’ उनी भन्छन् । उनको अनुभवमा अहिले चार्जिङ स्टेसन बढेकाले त्यो समस्या पहिलेको जस्तो छैन । लामो यात्रामा भने ब्याट्रीको अवस्था हेरेर अगाडि बढ्नुपर्ने उनी बताउँछन् ।

नौबिसे–थानकोट सडकखण्डमा लामो जाम लाग्ने सम्भावनालाई उनी उदाहरणका रूपमा लिन्छन् ।

‘उकालोमा दुई–तीन घण्टा जाम भयो र ब्याट्री एकदमै कम छ भने समस्या हुन सक्छ, त्यसैले पहिले नै चार्ज गरेर हिँड्नुपर्छ,’ उनी भन्छन् । तर, आफ्नो गाडीको रेन्जका कारण त्यस्तो चिन्ता धेरै गर्नु नपरेको उनको अनुभव छ ।

क्यामेरादेखि लेन एसिस्टसम्म

हरिवंशलाई गाडीको फिचरमध्ये सबैभन्दा उपयोगी लाग्ने कुरा क्यामरा र सुरक्षा प्रणाली हुन् । उनका अनुसार गाडीमा विभिन्न दिशाबाट निगरानी गर्ने धेरै क्यामरा छन् । साँघुरो ठाउँमा गाडी लैजाँदा त्यसले चालकलाई वरिपरिको अवस्थाबारे जानकारी दिन्छ ।

लेन परिवर्तन गर्दा समेत गाडीले सचेत गराउने र कतिपय अवस्थामा स्टेयरिङमा हस्तक्षेप गर्ने प्रणाली उनलाई उपयोगी लाग्छ । अगाडि अचानक मानिस आएमा गाडी आफैं रोकिने प्रणाली समेत उनलाई एकदमै मन परेको छ ।

तर, उनी एउटा कुरामा सचेत गराउँछन्– ‘प्रविधि छ भन्दैमा चालकले लापरबाही गर्नु हुँदैन ।’

‘हाम्रोमा ड्राइभिङ अनुशासन अलि फरक छ । गाडीले आफैं रोकिदियो भने पछाडिबाट आउने गाडीले ठोक्न सक्छ,’ उनी भन्छन्, ‘त्यसैले सिस्टमसँगै आफू पनि अलर्ट भएर चलाउनुपर्छ ।’ गाडीको बडी र एयरब्यागलाई पनि उनी सुरक्षाका महत्त्वपूर्ण पक्ष मान्छन् ।

‘ब्याट्रीमा किला ठोक्दा पनि प्वाल परेन’

बीवाईडीको कारखाना हेर्न चीनको सेन्जेन पुगेको अनुभवले उनको विश्वास अझ बढाएको छ । त्यहाँ उनले ब्याट्री र इलेक्ट्रिक गाडीको प्ल्याटफर्म निर्माण प्रक्रिया हेर्ने मौका पाएका थिए ।

ब्याट्रीलाई विभिन्न तहमा सुरक्षित ढंगले राख्ने र वाह्य असरबाट जोगाउने प्रविधि देखेपछि आफूले सही निर्णय गरेको उनलाई लागेको थियो । ‘किला ठोक्दा पनि ब्याट्रीमा प्वाल नपर्ने भनेर डकुमेन्टेसन गरेर देखाउनुभयो,’ उनी सम्झन्छन् ।

नेपालका खाल्डाखुल्डी भएका सडकमा गाडीको ब्याट्री तलबाट ठोक्किएर बिग्रन्छ भन्ने आशंका गर्नेहरूलाई यही प्रविधि बुझ्नुपर्ने उनको भनाइ छ । ‘गाडीको हिसाबले खराबी मैले देखेको छैन,’ उनी भन्छन् ।

तर, सुरुमा उनलाई खट्किएको एउटा कुरा थियो– स्पेयर टायर नहुनु । अहिले भने त्यसको विकल्प आएको छ । उनको गाडीमा पनि सानो आकारको स्पेयर टायर राखिएको छ ।

‘त्यसले ५० किलोमिटर मात्रै चलाउन भनिएको छ, तर पन्चर भयो भने नजिकको ठाउँसम्म पुगेर टायर फेर्न सकिन्छ,’ उनी भन्छन् । त्यसैले अहिले त्यो पनि ठूलो समस्या नरहेको उनको अनुभव छ ।

लामो यात्रामा निदाए, गाडी छेउ लगाएर

बीवाईडीसँग जोडिएको हरिवंशको एउटा पारिवारिक सम्झना भने झन् रमाइलो छ । एक पटक उनी श्रीमतीसँग बुटवल जाँदै थिए । मुग्लिनबाट नारायणघाटतर्फको यात्रामा उनलाई गाडी चलाउँदा चलाउँदै निद्रा लाग्यो । उनले गाडी छेउमा रोके । सिट फोल्ड गरे र केही समय सुते ।

‘म आधा घण्टा निदाएछु, श्रीमती पनि निदाइछिन्,’ उनी भन्छन्, ‘उनी पहिले ब्युँझिए पनि मलाई डिस्टर्ब हुन्छ भनेर चुपचाप बसिरहन्छिन् ।’

उनको यो अनुभवले गाडीको आरामदायीपनको एउटा पक्ष पनि देखाउँछ । तर, चालकलाई निद्रा लागेपछि गाडी रोकेर आराम गर्नुपर्छ भन्ने कुरा पनि उनी आफैंको अनुभवले देखाउँछ ।

‘गाडी चलाउँदा भिडियो हेर्नु गलत हो’

हरिवंश गाडीभित्र संगीत सुन्ने गर्छन् । फोन आए गाडीको स्पिकर मार्फत कुरा गर्न सकिने सुविधा पनि उनलाई उपयोगी लाग्छ । तर, गाडी चलाउँदा भिडियो हेर्ने प्रवृत्तिप्रति उनी सचेत गराउँछन् ।

‘गाडी चलाउँदा भिजुअल हेर्नु गलत हो, आँखा भिजुअलमै जान्छ,’ उनी भन्छन् । उनका लागि गाडी चलाउनु भनेको प्रविधिमा मात्र निर्भर हुनु होइन, चालक स्वयं पनि सचेत हुनु हो ।

‘ईभीमा अझ सहुलियत दिनुपर्छ’

हरिवंशको ईभीप्रतिको धारणा केवल आफ्नो गाडीको अनुभवमा सीमित छैन । उनी यसलाई वातावरण र नेपालको अर्थतन्त्रसँग जोडेर हेर्छन् । उनका अनुसार पेट्रोलियम पदार्थ आयातमा ठूलो रकम बाहिरिने मुलुकमा आफ्नै देशमा उत्पादन भएको बिजुली प्रयोग गरेर सवारी चलाउनु आर्थिक हिसाबले पनि महत्त्वपूर्ण छ ।

वातावरणीय असर घटाउन पनि ईभी प्रयोग बढाउनुपर्ने उनको भनाइ छ । ‘पब्लिक बस, व्यक्तिगत गाडी, अफिसियल गाडी सबै ईभीमा कन्भर्ट गर्न सक्यौं भने प्रदूषण कम गर्न योगदान पुग्छ,’ उनी भन्छन् ।

तर, ईभीको भविष्यबारे कुरा गर्दा ब्याट्रीको आयु र त्यसपछिको व्यवस्थापनलाई पनि बेवास्ता गर्न नहुने उनी बताउँछन् ।

‘ब्याट्री पुरानो भएपछि के गर्ने भन्ने प्रश्न पनि छ,’ उनी भन्छन्, ‘त्यसको रिसाइक्लिङ गर्ने उद्योग पनि आउन सक्छ, त्यसका समाधान पनि निस्कन्छन् ।’

ईभीलाई प्रवर्द्धन गर्न सरकारले सहुलियत र नीतिगत समर्थनलाई निरन्तरता दिनुपर्नेमा उनको जोड छ ।

बीवाईडी चढ्न थालेपछि उनलाई गाडीको अनुभव सोध्नेहरू धेरै आउँछन् । तर, अहिले प्रश्न केही फेरिएको छ ।

‘गाडी कस्तो छ भनेर सोध्नेभन्दा पनि डिस्काउन्ट मिलाइदिनु न भन्ने मान्छे धेरै आउँछन्,’ उनी हाँस्दै भन्छन् ।

उनको नाम र ब्रान्डसँगको सम्बन्धका कारण आफूले भनिदिए गाडी कम मूल्यमा पाइन्छ भन्ने कतिपयको अपेक्षा हुने गरेको उनी बताउँछन् ।

‘त्यस्तो हुँदैन, केही न केही छुट उहाँहरूले दिनुहुन्छ, तर आधा पैसामा पाइन्छ भन्ने होइन,’ उनी स्पष्ट पार्छन् ।

गाडी सर्भिसिङमा भने उनले अहिलेसम्म समस्या भोगेका छैनन् । कम्पनीले सर्भिस गर्ने समय आएपछि फोन गरेर सम्झाउने र सामान्यत: एक दिनमै गाडी तयार हुने उनको अनुभव छ ।

साढे तीन वर्षपछि पनि निर्णयमा पछुतो छैन

साढे तीन वर्षभन्दा बढी समय । पेट्रोलियम गाडीको तुलनामा निकै कम सञ्चलन खर्च । काठमाडौंका सडकदेखि पहाडी कच्ची बाटोसम्मको यात्रा । यो सबै अनुभवपछि पनि हरिवंशले आफ्नो निर्णयमा पछुतो मानेका छैनन् ।

बरु उनको अनुभवमा ईभीले उनको गाडी चलाउने बानी नै बदलिदिएको छ । ‘यो गाडी चढ्न थालेपछि जुनसुकै गाडी पनि साह्रो लाग्छ,’ उनी भन्छन् । उनको बीवाईडी यात्रा अहिले पनि रोकिएको छैन ।

कहिले परिवार लिएर बुटवलतिर, कहिले गाउँको कच्ची बाटोतिर । कहिले पेट्रोल पम्पमा गाडी चार्ज गर्न होइन, व्यवसायका लागि डिजेल किन्न जर्किन बोकेर । र, कहिलेकाहीँ लामो यात्रामा थाकेर गाडी छेउ लगाइ केहीबेर निदाउन ।

५५ हजार किलोमिटर पार गरिसकेको यो यात्रा उनका लागि एउटा गाडीको यात्रा मात्र होइन, पेट्रोलियम गाडीबाट विद्युतीय गाडीमा सरेपछि बदलिएको आफ्नै ड्राइभिङ अनुभवको कथा बनेको छ ।

तस्विर/भिडियाे : शंकर गिरी/अनलाइनखबर

लेखक
कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?