१६ असोज, काठमाडौं । त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङ तामाङले आत्मदाह गरेको घटनाबारे छानबिन गर्न गठित समितिको पहिलो बैठक बसेको छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वको समितिको पहिलो बैठक शुक्रबार बसेको हो ।
यस्तै, बैठकले चार वटा निर्णय पनि गरेको छ ।
जसमा यसअघि गृहमन्त्रालय मातहतका निकायले गरेका छानबिन प्रतिवेदन अध्ययन गरी सो प्रतिवेदनका सुझाव कार्यान्वयनका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने, घटनाको प्रमाण संकलन तथा विश्लेषण कार्य अगाडि बढाउने, राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने सम्बन्धमा बीमा कम्पनीका प्रतिनिधिलाई समेत आमन्त्रण गरी अर्को बैठक बस्ने र दीर्घकालीन रुपमा यस्ता घटना हुन नदिन यातायात व्यवसायी, तथा मजदुर संघको रायसुझाव पेश गर्ने निर्णय भएका छन् ।
यस्तै, बैठकमा अर्जुन दोङ तामाङले आत्मदाह गर्नुपर्ने अवस्था सिर्जना हुनुका कारण, घटनाको वास्तविक पृष्ठभूमि, घटनाक्रमसँग सम्बन्धित तथ्य तथा प्रमाण र सम्बन्धित निकायबाट भएका काम–कारबाहीका विषयमा गम्भीर छलफल भएको एक सदस्यले बताए ।
प्रतिक्रिया 4