जतिबेला नेपाली सिनेमासँग केही थिएन, त्यतिबेला गोपाल भुटानी थिए ।
फिल्ममा चरित्र अभिनेता चाहियो, कसले खेलिदिने ? गोपाल भुटानीले ।
फिल्ममा द्वन्द्व राख्नुपर्छ, कसले सिकाउने ? गोपाल भुटानीले ।
फिल्ममा सेट चाहिन्छ, कसले डिजाइन गरिदिने ? गोपाल भुटानीले ।
फिल्ममा भान्से चाहिन्छ, कसले पकाइदिने ? गोपाल भुटानीले ।
फिल्ममा मेकअप गर्नुपर्छ, कसले मिलाइदिने ? गोपाल भुटानीले ।
सिनेमाका लागि ‘सम्पूर्ण प्याकेज’ थिए उनी । सिनेमाले जहाँ–जहाँ खुट्टा टेक्न सक्दैनथ्यो, त्यहाँ–त्यहाँ टेको लगाइदिन आइपुग्थे । ५ फिट २ इन्च अग्ला यी खँदिला मान्छेको काँध चढेर नेपाली सिनेमाले लामो यात्रा गर्यो ।
खासमा त उनी ‘हिरो बन्न’ भनी बम्बे हिँडेका मान्छे । त्यहाँ रहँदा–बस्दा अनेक देखे, अनेक भोगे, अनेक सिके । प्रकाश थापाले ‘मनको बाँध’ बनाउने भएपछि उनलाई नेपाल ल्याइयो ।
त्यसपछि उनी फेरि बम्बे फर्किएनन् ।
आफ्नो जवानी, श्रम, सीप, समय सबै नेपाली सिनेमाका लागि खर्चिए । यसरी खर्चिए कि जिन्दगीको उत्तरार्द्धसम्म पुग्दा उनी सम्पूर्ण रित्तिए । रित्तो कोठा, रित्तो खल्ती, रित्तो पेट, रित्तो जीवन । अनि रित्तो पहिचान ।
‘म नेपाली, मेरो देश नेपाल’ भन्नका लागि उनीसँग प्रशासनिक छुट थिएन । त्यसैले बाँचुञ्जेल एउटै घिटघिटो बोकेका थिए, ‘मर्ने बेला छातीमा नेपालको नागरिकता राख्न पाइयोस् ।’
मंसिरको त्यो ओसिलो दिन । अस्पतालको चिसो बेडमा लम्पसार थिए उनी । शरीरका रक्तनलीहरू चिसिँदै थिए । त्यस क्षण उनलाई न्यानो स्पर्श गर्ने कोही थिएनन् । परिवार थिएनन्, नातेदार थिएनन्, हितैषी थिएनन् ।
यो उराठलाग्दो एक्लोपनमा उनले एउटै सहारा खोजेका थिए, नेपाली नागरिकता । ‘नागरिकता छातीमा राखेपछि आफ्नै आमाको काखमा मरेको जस्तो लाग्नेछ’ उनी यसै भनिरहेका थिए ।
तर, राज्यले उनलाई त्यो एक मौका पनि दिएन । आखिर उनी बिते, अनागरिक बनेर ।

‘आम्मामा.. क्या च्वाँक छ जी … आइ लभ यु है केटी हो । लभ परौं’ भन्दै रोमान्टिक संवाद बोल्ने यी जोशिला पात्र त्यस दिन चुपचाप थिए । सयौँ फिल्मलाई शृंगार–पट्टार गरेका उनका हातहरू शिथिल थिए । आफ्नो सुखभोग छाडेर फिल्मका लागि ज्यानै दिने उनको ज्यानमा प्राण–अपानको गति रोकिएको थियो । नेपाली सिनेमाका अथक योद्धा अब निर्जीव थिए ।
स्वयम्भूमा बौद्ध मेलोबाट उनको दाहसंस्कार गरियो । राजेन्द्र खड्गीले आफ्नो प्रिय गुरुलाई दागबत्ती दिए ।
………….
उनी त सकिए । तर, उनको कथा सकिएको थिएन ।
जीवनका आखिरी दिनहरूमा उनी सुकुम्बासी बस्तीको साँघुरो कटेरोभित्र थिए । त्यही कटेरोमा उनको एउटा डायरी भेटियो । डायरीका पानाहरूमा उनी सकीनसकी आफ्नै विगतलाई खोतल्दै थिए । इलामको फिक्कलबाट बंगलादेश पुगेको अबोध केटो कुन रहरले हिरो बन्न बम्बे पुग्यो ? फेरि कुन मोडहरूमा ठोक्किँदै नेपाल फर्किए ?
फर्किएर नेपाली सिनेमाको इतिहास रेखांकन गरिरहँदा कसरी आफ्नो इतिहास गुमाए ?
डायरीको कुनै पानामा उनको गहिरो पीडाबोध देखिन्थ्यो, ‘बम्बे गएपछि मैले सबै गुमाएँ । आमाबुबा, भाइबहिनी, नातागोता, घर । पछि भाइ भेटेपछि घर फिक्कल भएको थाहा पाएँ । यो जिन्दगीमा मैले गुमाएको सबैभन्दा महँगो कुरा थियो यो ।’
सिनेमाको पछाडि दौडँदा उनको भर छुट्यो, घर छुट्यो, थर छुट्यो । जन्मदा गोपाल तामाङ थिए । पछि गोपाल भुटानी भए । गोपाल तामाङ कसरी भुटानी बने ? बुद्धिमान तामाङको छोरो, हर्कमान तामाङको नाति कसरी ‘अनागरिक’ बने ?

फ्ल्यासब्याक
बंगलादेश ।
होचो कदका, चिम्सा आँखा भएका तामाङ केटो बंगलादेश पुग्छन् । त्यहाँ पाँच कक्षामा पढ्दा–पढ्दै पहिलो पटक फिल्म हेर्ने मेसो मिल्छ । फिल्म हेरेपछि हिरो बन्ने झोंक चल्छ । अनि एक बिहान बम्बेतर्फ लाग्छन् ।
१३ वर्षको केटो । बाटो खर्च छैन । लुसुक्क गाडीमा चढ्छन् । सहचालकले भाडा माग्छन् र गाली गर्दै ओराल्छन् । ओर्लिएको ठाउँबाट फेरि गाडी चढ्छन् । उही दशा दोहोरिन्छ । चढ्दै, गाली खाँदै, ओर्लंदै महिना दिनमा जसोतसो पुग्छन्–बम्बे ।
यही सहर, जहाँ उनका सपनाहरू बिछ्याइएका छन् ।
यही सहर, जसले उनलाई दुःखहरू पर्खिरहेका छन् ।
बम्बेको चमकदमकमा उनले आफूलाई अत्यन्त निर्धो पाउँछन् । त्यो गतिशील भीडमा कहाँ हराउँछन्, कहाँ । तैपनि उनले आफ्नो सपनालाई काखी च्याप्न छाड्दैनन् ।
राति स्टेसनमा गएर सुत्नु, दिनभर घुम्नु, स्टुडियो अघिल्तिर उभिएर निर्निमेष हेरिरहनु उनको दिनचर्या बन्छ ।
सर्कसमा के भयो ?
सुत्नलाई त समस्या भएन, सडक जो छँदैछ । स्टेसन छँदैछ । तर, खाना ?
खानका लागि मजदुरी गर्नैपर्छ । ‘नारायण वाच’ नामको घडी दोकानमा काम गर्छन् । क्याप्टेन फाउन्डेसन पेनमा काम गर्छन् । सुदमा सिल्क मिलमा काम गर्छन् । काम गर्ने र छाड्ने उपक्रम चलिरहन्छ । यसबीचमा आजाद मैदानमा रहेको स्टुडियो धाउन छाड्दैनन् । जतिसुकै हतारो, जतिसुकै थकान भए पनि ऊ दिनमा एक पटक स्टुडियो पुग्छै पुग्छ ।
त्यही मैदानमा ‘जेमिनी’ नामको सर्कस आउँछ । भव्य टेन्टभित्र के हुन्छ ? थाहा छैन । तर, बाहिर मान्छेको घुइँचो लाग्छ ।
एक दिन बंगाली साथीसँग टेन्टभित्र पुग्छन् । सर्कस देखेर चकित हुन्छन् र त्यही काम गर्न पाए हुन्थ्यो भनी सोच्छन् । भोलिपल्ट गेटपालेमार्फत यी दुई केटो सर्कस देखाउने ठाउँभित्र प्रवेश गर्छन् । त्यहाँ एक पहलमान सुतिरहेका देख्छन् । पहलमान सोध्छन्, ‘कहाँबाट आयौ ?’
फुच्चेहरू जवाफ दिन्छन्, ‘नोकरी खोज्दै हिँडेको ।’
पहलमानले उनीहरूलाई एउटा टेन्टभित्र लैजान्छन् । अनि काम दिन्छन्, घोडाको दिसा सफा गर्ने । सर्कसमा घोडाको प्रदर्शन भइरहँदा झाडु र प्लास्टिक लिएर उभिनुपर्ने । यदि घोडाले फोहोर गरेमा दौडेर सफा गर्नुपर्ने ।
हिरोइनको लुगा लगाएर लडेपछि
६ महिना बित्छ ।
एक दिन उनले मोटे–मोटे मान्छे भेट्छन् । ऊ फाइट मास्टर हुन्छ । उसले गोपाललाई एमएमटी स्टुडियोमा लगेर जान्छ । त्यहाँ उनलाई सोधिन्छ, ‘यस्तो रोल गर्न सक्छौ ?’
एक सेकेन्ड नसोची गोपाल जवाफ फर्काउँछन्, ‘सक्छु ।’
उनलाई मेकअप गरिदिन्छन्, केटीको वस्त्र लगाइदिन्छन् । अनि क्यामेरा अघिल्तिर यसरी लड्नु भनी सिकाउँछन् । एक तला माथिबाट ग्रिल तोडेर खस्नुपर्ने हुन्छ ।
फुर्तिलो गोपालले जसो भन्यो त्यसै गर्छन् ।
सबैले ताली बजाउँछन् । अँगालो हाल्छन् । अनि बक्सिस दिन्छन्, ५ रुपैयाँ । खासमा उनलाई हिरोइनको डुब्लिकेट बनाइएको हुन्छ । दिनभर छायांकनस्थलमा बस्छन् । खानेकुरा खान्छन् । साँझ प्रोडक्सन म्यानेजरले उनको हातमा थमाइदिन्छन्, १० रुपैयाँ ।
एक रुपैयाँले पेटभर खान पुग्छ । खानलाई त भयो तर बस्ने ठेगान छैन । बाटोमै सुतिदिन्छन् । बिहान उठेर हेर्दा पाउरोटी र केही पैसा राखिदिएको पाउँछन् । सायद ‘माग्ने’ ठानेर ।
जब धर्मेन्द्रको फिल्ममा अफर आयो

उठबस गर्ने क्रममा चिनजान भएका सरदार भनिने ड्राइभरले गाडी धुने काम मिलाइदिन्छन् । त्यही ग्यारेजमा सुत्ने बन्दोबस्ती पनि ।
ग्यारेजमा बस्दा–बस्दै गाडी कुदाउन सिक्छन् । ‘इगल्स फिल्मस्’मा गाडी कुदाउने जागिर पाउँछन् । गाडी लगेर स्टुडियो छिर्ने मौका पाउँछन् । यही मौकामा प्रोडक्सन म्यानेजरलाई ‘फिल्ममा सानोतिनो रोल दिनु’ भनी कुरा गर्छन् ।
पछि मुभी स्टन्ट आर्टिस्ट एसोसिएसन भन्ने संस्था खुल्छ । त्यसको सदस्य बन्छन् । काम पाउँदा काम गर्छन्, नभए कुल्ली । एक्सन फिल्महरू बन्न थालेपछि सानोतिनो काम पाउँछन् । विख्यात फिल्ममेकर चेतन आनन्दले चीनको पृष्ठभूमिमा फिल्म ‘हकिकत’ बनाउँदै हुन्छन् । त्यही फिल्ममा खलपात्रको भूमिकामा काम पाउँछन् । धर्मेन्द्रले मुख्य भूमिका निर्वाह गरेको यो फिल्म ब्लकबस्टर हुन्छ ।
यही सानो आँखीझ्यालबाट गोपाल तामाङले बलिउडलाई नजिकबाट हेर्न पाउँछन् । एकपछि अर्को फिल्ममा खेल्न पाउँछन् ।
चिनजानकै साथीले ‘मरकरी प्रोडक्सन’ भन्ने संस्था सुरु गर्छ । त्यसमा गोपाल जोडिन्छन् र प्रोडक्सन म्यानेजरको काम गर्छन् ।
सोहीबखत सुनिल दत्तको फिल्म ‘मनका मित’बाट अफर आउँछ । त्यसमा आर्ट डाइरेक्टरको काम गर्नुपर्ने हुन्छ । फिल्मको कथा अनुसार उनीहरूले फरक ठाउँमा दार्जिलिङको सेट तयार गर्छन् ।

यसरी भए भुटानी
त्यहाँको संघर्ष र संगतले उनलाई अनेक कुरा सिकाउँछ । अभिनय, आर्ट डिजाइन, स्टन्ट, प्रोडक्सन म्यानेजमेन्ट । यावत् कामहरूमा उनले एउटा नाम भुल्न सक्दैनन्, सतिस भुटानी ।
यी कुनै भुटानका नागरिक होइनन् । बरु हैदराबादका हुन्, जो पछि पाकिस्तान गए । उनै सतिस भुटानीले थुप्रै केटालाई द्वन्द्व कला सिकाउँछन् । उनको निधनपछि सबै चेलाले आफ्नो जातको थर हटाउँछन् र गुरुको सम्मानमा नाम राख्छन्, ‘भुटानी’ ।
यसरी गोपाल तामाङ गोपाल भुटानी बन्छन् ।
………………
दृश्यभाषाको गुरुत्वबल कति हुन्छ भनी बुझेका राजा महेन्द्रले बम्बेबाट निर्देशक हिरासिंह खत्रीलाई नेपाल झिकाउँछन् । शाही नेपाली चलचित्र संस्थान स्थापना गर्छन् । यही बिन्दुबाट नेपाली धरातलमा आफ्नै भाषा, आफ्नै कथा बोकेर नेपाली फिल्महरू बन्न थाल्छन् ।
‘आमा’ बन्छ, ‘माइतीघर’ बन्छ, ‘हिजो आज भोलि’ बन्छ, ‘परिवर्तन’ बन्छ । अनि बन्छ, ‘मनको बाँध’ । हो, यही फिल्मले बम्बेबाट गोपाल भुटानीलाई घर फर्काउँछ ।

बलिउडको श्यामश्वेत पर्दामा ‘गोपाल भुटानी’ भनी क्रेडिट लाइनमा देखिने पात्र अब नेपाली सिनेमामा स्थानान्तरण हुन्छन् । खुब फुर्तिलो, छरितो, मिजासिलो र सिपालु यी पात्रलाई नेपाली सिनेमाले आफ्नो ‘गुरु’ थापना गर्छ ।
उनै गुरु, जसले सिनेमामा द्वन्द्व कलादेखि आर्ट डिजाइनसम्मको तौर–तरिका भित्र्याउँछन् ।
फिल्मको कथा अनुसार कसरी त्यसको पृष्ठभूमि तयार गर्ने ? बम्बेमा सिकेको यो कला पनि उनले नेपाली सिनेमालाई हस्तान्तरण गर्छन् । थुप्रै फिल्ममा आर्ट डिजाइनरको काम गर्छन् । हिरो–हिरोइनको मेकअप कसरी गर्ने ? कस्ट्युम डिजाइन कस्तो बनाउने ? सन्तु तामाङलगायतलाई यसको तरिका सिकाउँछन् ।
कसरी अत्यासलाग्दो भीरबाट हाम फाल्ने ? कसरी तरवार घुमाउने ? कसरी डरलाग्दो गुन्डालाई एकै मुक्कामा धूलोपिठो बनाउने ? कसरी वेतोडले दौडिएको घोडामाथि चढ्ने ? राजेन्द्र खड्गीलगायतलाई यसको जुक्ति सिकाउँछन् ।
त्यति मात्र कहाँ हो र ?
त्यसबेलासम्म सुटिङस्पटमा खानेकुरा पकाउने सुरसार गरिएको हुँदैन । कलाकार, प्राविधिकहरूलाई यसरी खानेकुरा पकाएर खुवाउन सकिन्छ भनी रीति बसाउँछन् । एक सन्दर्भमा उनी सुनाउँछन्, ‘त्यसबेला सुटिङमा खानेकुरा पकाउने चलन हुँदैनथ्यो नि । खाना बाहिरबाट मगाउनुपर्थ्यो । मैले त्यही भान्से राखेर खानेकुरा यसरी पकाउने भनेर सिकाएँ ।’
आफूसँग भएजति सबै कुरा नेपाली सिनेमालाई दिन्छन् । आफ्नो सीप, आफ्नो श्रम, आफ्नो समय । यसरी दिन्छन् कि, उनीसँग अब केही बाँकी रहँदैन । जब त्यो शरीर बूढो र रोगी हुँदै जान्छ, हात–खुट्टा कक्रिँदै जान्छ, हड्डीहरू गल्दै जान्छन् तब उनी नितान्त एक्लो हुन पुग्छन् ।

थापाथलीको सुकुम्बासी बस्ती नजिक एक कोठे घरमा भेट्दा उनी साँच्चै रित्तिएका थिए ।
आफ्नै हातले खिपेका स–साना काठका बक्सा जोडेर सानो र्याक बनाएका थिए । त्यही र्याकमा अनगिन्ती सम्मानपत्र, अवार्ड, फोटोहरू सजाएका थिए । ती अवार्ड र सम्मानपत्रहरूले पनि उनको दिल्लगी गर्न थालेको भान हुन्थ्यो । यसो भन्दै, ‘तँ को हो ?’
साँच्चै ‘म को हुँ’ भन्ने स्थितिमा पुगिसकेका थिए उनी । किनभने जुन देशका लागि उनले रगत र पसिना दिएका थिए, त्यो देशले त उनलाई खिसिट्युरी गर्दै भनेको थियो, ‘तँ अनागरिक होस् ।’
त्यसबेला माधवकुमार नेपालको सरकार थियो । त्यो सरकारले उनलाई हेर्दा पनि हेरेन, बोलाउँदा पनि बोलाएन, चिन्दा पनि चिनेन । बरु भनिरह्यो, ‘तँ नेपाली होइनस् ।’
अन्ततः उनी बिते अनागरिक भएर ।
प्रतिक्रिया 4