१९ असोज, काठमाडौं । बराम जातिका युवाहरूलाई एकजुट बनाउने उद्देश्यले काठमाडौँमा फुटसल कपको आयोजना गरिएको छ । बराम जाति नेपालका सूचीकृत ६० आदिवासी जनजातिहरूमध्ये अति सीमान्तकृत समूहमा पर्छ ।
बराम जातिका युवाहरूलाई एकजुट बनाउने उद्देश्यले नेपाल बराम समाजले ‘प्रथम फुटसल कप’ प्रतियोगिता आयोजना गरेको हो ।
बुढानीलकण्ठस्थित देवी स्पोर्ट्स हाउसमा सञ्चालन भएको प्रतियोगितामा काठमाडौँ उपत्यका तथा आसपासका विभिन्न क्षेत्रबाट कुल २४ टोलीको सहभागिता रहेको थियो ।
फाइनल खेलमा थुमी युवा क्लबले गाउँले एकता बराम क्लबलाई ३–२ गोलको अन्तरले पराजित गर्दै प्रथम स्थान हासिल गरेको छ । गाउँले एकता बराम क्लब दोस्रो स्थानमा सीमित रह्यो ।
विजेता बनेको थुमी युवा क्लबले पुरस्कार स्वरूप नगद २० हजार र ट्रफी प्राप्त गरेको छ । दोस्रो स्थान हासिल गर्ने गाउँले एकता बराम क्लबले नगद १० हजार र ट्रफी प्राप्त गरेको छ।
प्रतियोगिताभरि व्यक्तिगत रूपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विधागत पुरस्कारद्वारा पुरस्कृत गरिएको छ ।
गाउँले एकता बराम क्लबका सन्देश बराम ‘उत्कृष्ट खेलाडी’ घोषित भए भने थुमी युवा क्लबका सचिन बरामले ‘उत्कृष्ट किपर’ को उपाधि प्राप्त गरे ।
त्यसैगरी, अन्नपूर्ण युवा क्लबका मनोज बराम प्रतियोगिताभरि सर्वाधिक ८ गोल गर्न सफल भई ‘सर्वाधिक गोलकर्ता’ का रूपमा पुरस्कृत भएका छन् ।
नेपाल बराम समाजका अध्यक्ष सागर बरामका अनुसार काठमाडौँको विभिन्न ठाउँमा छरिएर बसेका बराम जातिका युवाहरूलाई आफ्नो जातिको बारेमा जानकारी दिनुका साथै युवाहरूलाई एकजुट बनाउने उद्देश्यसहित यो फुटबल प्रतियोगिताको आयोजना गरिएको हो ।
बराम जाति नेपाल सरकारद्वारा सूचीकृत आदिवासी जनजातिहरूमध्ये अति सीमान्तकृत १२ जनजाति समूहभित्र पर्छ । यो जातिको कुल जनसंख्या हाल करिब ८ हजार रहेको छ । यसमध्ये ६३७ जना काठमाडौँ उपत्यकामा बसोबास गर्छन ।
समाजका संरक्षक प्रेम बरामका अनुसार यस अति सीमान्तकृत जातिले बोल्ने मौलिक भाषा ‘बालकुरा’ हाल लोपोन्मुख अवस्थामा पुगेको छ । लोपोन्मुख भाषा र संस्कृतिको पृष्ठभूमिमा यस्ता खेलकुद तथा सामुदायिक कार्यक्रमहरूले युवा वर्गलाई आफ्ना मौलिक पहिचानप्रति सचेत गराउन सहयोग पुर्याउने उनको अपेक्षा छ ।
प्रतिक्रिया 4