१९ असोज, काठमाडौं । युवा व्यवसायी सौगात थापाले नेपाली कांग्रेसको केन्द्रीय सदस्य आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेसको १५ औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ ।
जारी महाधिवेशन अन्तर्गत ३५ वर्षमुनिका केन्द्रीय सदस्यमा उनले उम्मेदवारी घोषणा गरेका हुन् । थापा कास्की–२ बाट महाधिवेशन प्रतिनिधि भएका हुन् ।
नेतृत्व तहमा युवाको प्रवेशले कांग्रेस आधुनिक र गतिशील दलमा रूपान्तरण हुने थापाले बताए ।
‘यस पटक केन्द्रीय नेतृत्व तहमा युवाको प्रवेश हुँदै छ, यो हाम्रा लागि खुसीको कुरा हो,’ थापाले भने, ‘महाधिवेशनले युवाको मर्म र भावनालाई आत्मसात् गरेर विचार, संगठन र कार्यक्रममा प्रस्ट नीति बनाउनुपर्छ । प्रवेशसँगै बहिर्गमनको व्यवस्था पनि हुनुपर्छ । यसले पार्टीलाई गतिशील बनाउँछ ।’
जेनजी आन्दोलनपछि पार्टीले युवालाई थप ‘स्पेस’ दिने गरी लिएको नीतिगत सुधारको प्रभाव पार्टीका अधिवेशनहरूमा देखिएको उनले बताए ।
‘महाधिवेशनले त्यो युवा समूह अनि लामो आन्दोलन र विरासत धानेर आएको पुस्ताबीच तालमेल गरेर अघि बढ्न सक्ने कार्यक्रम र योजना ल्याउनुपर्छ,’ उनले भने, ‘जेन–जी आन्दोलनले युवामा राजनीतिप्रति प्रत्यक्ष चासो बढाएको छ । त्यसैले पार्टीभित्र यसलाई वैचारिक रूपमा जोड्नुपर्छ ।‘
राजनीतिमा नलागेका विभिन्न पेसा, व्यवसायमा दक्षता प्राप्त व्यक्तिहरूलाई समेत राजनीतिमा ल्याउन नेतृत्वले पहल गर्नुपर्ने थापाको भनाइ छ ।
‘वडादेखि केन्द्रीय तहसम्मै गरेको सुनिश्चितताले राम्रो सन्देश दिएको छ,’ उनले भने, ‘यो व्यवस्था स्थानीय तह र प्रदेशसभा निर्वाचनमा उम्मेदवार छनोटको बेला पनि गरिनुपर्छ ।’
थापाले इन्फोम्याक्स कलेजबाट एमबीएसमेत गरेका छन् । केही साताअघि पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा उनी निर्वाचित समेत भएका छन् । उनी पर्यटन व्यवसायी समेत हुन् । थापा अंशुभरा ग्रुपका निर्देशक समेत रहेका छन् ।
थापा पोखरा महानगरपालिकाको नेवीसंघको सभापति भइसकेका छन् । उनी क्षेत्रीय प्रतिनिधि २ पटक भइसकेका छन् ।
१४ औं महाधिवेशनमा पनि विजयी भएका थिए । १५ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि भए । पोखरा उद्योग वाणिज्य संघमा २ पटक सदस्य भइसकेका छन् ।
प्रतिक्रिया 4