+
+
Shares

बेपत्ता व्यक्तिको मृत्यु घोषणाका लागि अध्यादेशमार्फत कानुन संशोधन गर्दैछौं : कानुनमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते १३:४८

२० असोज, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विपद्‍मा बेपत्ता भएका व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु दर्तासम्बन्धी कानुनी व्यवस्था संशोधनको तयारी भइरहेको बताएकी छन् ।

सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा उनले अध्यादेशमार्फत मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन संसोधन गर्न लागेको बताएकी हुन् ।

संसद्को नियमित अधिवेशन अन्त्य भएकाले आवश्यक कानुनी व्यवस्था अध्यादेशमार्फत छिटो अघि बढाउने तयारी भइरहेको उनले बताइन् ।

मृत्यु घोषणा र मृत्यु दर्तासम्बन्धी कानुनमा आवश्यक संशोधनका लागि मन्त्रालयले आवश्यक खाका तयार गरिसकेको उनको भनाइ छ । उनले सरकारले अब कानुन निर्माण गर्दा विपद्लाई केन्द्रमा राखेर गर्नुपर्ने आवश्यकता औँल्याइन् ।

उनले भनिन्, ‘अहिले मृत्यु घोषणाको सवालमा मृत्यु दर्ता गर्नुपर्ने अवस्था छ । मृत्यु घोषणा कसरी गर्ने भन्ने प्रक्रियाका विषयमा पनि हामीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) मा गएर निरन्तर छलफल गरिरहेका छौँ । त्यसमा अहिले एउटा समाधान निस्किसकेको छ । अब कानुन मूल ऐनमै संशोधन गर्नुपर्ने हुन्छ ।’

उनले थपिन्, ‘नियमित प्रक्रियाबाट हाम्रो संसद् चलिरहेको अवस्थामा यो प्रक्रियाबाट जाँदा केही समय लाग्ने हो कि भन्ने पनि थियो । अहिले संसद् अधिवेशन अन्त्य भएको छ, अब अध्यादेशमार्फत छिट्टै नै सरकारले देवानी संहिता, पञ्जीकरण ऐन अथवा विपद्सम्बन्धी कानुनमा यो व्यवस्था राख्ने भन्नेकुरा यकिन गरेर मृत्यु घोषणा र मृत्यु दर्ताको सवालमा कानुन निर्माण गर्दैछ । यसको तयारी भइसकेको छ ।’

विपद् व्यवस्थापन बहुआयामिक र विभिन्न मन्त्रालयसँग सम्बन्धित विषय भएकाले मौसम पूर्वानुमान, राहत प्याकेज, उद्योगी–व्यवसायीलाई सहजीकरण तथा विपद्‍मा अभिभावक गुमाएका बालबालिकाको संरक्षणलगायत विषयमा सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर आवश्यक कानुन निर्माण गर्ने काम भएरहेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?