+
+
Shares

प्राकृतिक नाकाबन्दीमा लिमी : सडकमा साढे तीन फिट हिउँ, बिरामी पर्दा हेलिकप्टरको भर

हिमपातले हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका लिमी र हिल्सा क्षेत्रलाई सडक सञ्जालबाट अलग पारेको छ । न्यालु र नारा लेकमा साढे तीन फिटसम्म हिउँ जमेपछि असोजको पहिलो सातादेखि लिमीको आवागमन ठप्प छ । सडक बन्द हुँदा अत्यावश्यक कामका लागि समेत स्थानीयले हेलिकप्टर चार्टर गर्नुपर्ने अवस्था आएको छ।

हेमन्त केसी हेमन्त केसी
२०८३ असोज २१ गते ९:३२

२१ असोज, सुर्खेत । हिमपातले हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका लिमी र हिल्सा क्षेत्रलाई सडक सञ्जालबाट अलग पारेको छ । न्यालु र नारा लेकमा साढे तीन फिटसम्म हिउँ जमेपछि असोजको पहिलो सातादेखि लिमीको आवागमन ठप्प छ । सडक बन्द हुँदा अत्यावश्यक कामका लागि समेत स्थानीयले हेलिकप्टर चार्टर गर्नुपर्ने अवस्था आएको छ।

नाम्खा–५ को न्यालु र वडा नं. ६ को नारा लेक हुँदै लिमी प्रवेश गर्ने सडकमा बाक्लो हिउँ जमेको हो। दशैं–तिहार नजिकिँदै गर्दा ताक्लाकोटमा रहेका हुम्लाका स्थानीयलाई घर फर्किनसमेत समस्या भएको लिमी–६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए।

‘गाउँमा कोही बिरामी परे तत्काल बाहिर लैजान सडक छैन, हेलिकोप्टर चार्टर गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘हिउँ पन्छाएर तत्काल सडक सञ्चालन गर्नुपर्छ।’

तीन फिट हिउँमा तुम्लिङ बजार, स्थानीय घरभित्रै

दश दिनअघि परेको भारी हिमपातले नाम्खा गाउँपालिका–६ मा पर्ने हिमालपारिको तुम्लिङ बजारलाई छपक्कै ढाकेको छ । करिब चार हजार मिटर उचाइमा रहेको तुम्लिङमा असोज ९ देखि ११ गतेसम्म परेको हिमपातपछि जमिनमा तीन फिटसम्म हिउँ जमेको स्थानीयले बताएका छन्।

लिमीको हल्जी गाउँका स्थानीय कुन्जोक तामाङका अनुसार बाक्लो हिउँका कारण तुम्लिङ बजारमा रहेका होटल व्यवसायी, चौरीगाईका गोठाला तथा अन्य स्थानीयलाई घरबाहिर निस्कनसमेत कठिन भएको छ।    

‘हिउँ यति धेरै जमेको छ कि बाहिर हिँडडुल गर्न पनि समस्या छ,’ उनले भने, ‘स्थानीयहरू घरभित्रै बस्न बाध्य छन्।’

भारी हिमपातपछि लिमी क्षेत्र सेताम्मे बनेको छ। बजार तथा आसपासका बाटोमा बाक्लो हिउँ जमेकाले दैनिक गतिविधि प्रभावित भएका छन्।

चार घण्टाको दूरी, जाङ पुग्न दुई दिन

तुम्लिङबाट सामान्य अवस्थामा करिब चार घण्टा पैदल हिँडेर पुगिने जाङ गाउँ पुग्न अहिले स्थानीयलाई दुई दिन लागेको छ। सडक तथा पैदलमार्गमा बाक्लो हिउँ जमेकाले यातायातका साधन चल्ने अवस्था छैन।

सडकमा जमेको हिउँका कारण तुम्लिङका स्थानीय पैदलै जाङ पुग्न बाध्य भएका हुन्। तुम्लिङमा सञ्चार सुविधा नहुँदा बाहिरी संसारसँग सम्पर्क गर्नसमेत स्थानीयलाई जाङ गाउँ पुग्नुपर्ने बाध्यता छ।

हिमपातपछि सडक बन्द हुनुका साथै सञ्चार सम्पर्कसमेत विच्छेद हुँदा तुम्लिङका बासिन्दा थप समस्यामा परेका छन्।

धारामा बरफ, हिउँ पगालेर पानी

तुम्लिङमा खानेपानीका धारासमेत जमेको छ। अत्यधिक चिसोका कारण धारामा बरफ जमेपछि नियमित पानी आउन छाडेको स्थानीयले बताएका छन्।

खानेपानीको अर्को विकल्प नहुँदा स्थानीयले हिउँ पगालेर पानीको व्यवस्था गर्नुपर्ने अवस्था आएको छ।

हिउँ पगालेर खानेपानीको जोहो गर्नुपर्दा दैनिक जीवन थप कष्टकर बनेको स्थानीयको भनाइ छ। यस वर्ष विगतका वर्षको तुलनामा चाँडै हिमपात भएकाले लिमी क्षेत्रका बासिन्दाको जनजीवन प्रभावित भएको छ।

सडक बन्द, गाउँमा दैनिक आवश्यक सामग्री पुर्‍याउनै मुस्किल

सडक अवरुद्ध भएपछि लिमीका बासिन्दाको दैनिक जनजीवन प्रभावित भएको छ। खाद्यान्न, दाउरा र अन्य आवश्यक सामग्री सडकमार्फत ल्याउन नसकिएपछि पैदलै बोक्नुपर्ने अवस्था छ।

सडक अवरुद्ध हुँदा लिमीका होटल व्यवसायीसमेत प्रभावित भएका छन्। तिल गाउँका १८, हल्जीका ९०, जाङका तीन र तुम्लिङका ११ जना होटल व्यवसायी प्रभावित भएका छन्। ताक्चीमा दुईवटा होटल सञ्चालनमा छन्।

लिमी प्रवेश गर्ने प्रमुख नाकामध्ये पाँच हजार मिटर उचाइको न्यालु लेक पनि एक हो। बाक्लो हिमपातपछि यहाँको सडकमा हिउँ थुप्रिएर यातायात सञ्चालन हुन सकेको छैन।

तीन फिट हिउँमा प्रहरी चौकी, पानीसमेत जम्यो

हिमपातले लिमीको सुनखानीस्थित प्रहरी चौकीको दैनिकीसमेत कठिन बनेको छ। लगातार तीन दिन हिमपात भएपछि चौकी आसपास करिब तीन फिट हिउँ जमेको छ।

दाउरा नहुँदा खाना पकाउन समस्या भएको छ भने धाराको पानीसमेत जमेकाले खानेपानीको अभाव भएको वडाध्यक्ष तामाङले बताए। आवश्यक दाउरा र खाद्यान्न हल्जी गाउँबाट बोकेर ल्याउने गरिएको छ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर खड्काले हिमपातका कारण सुनखानी प्रहरी चौकीमा पनि समस्या भएको बताए। सुनखानीमा सञ्चार सुविधा कमजोर भएकाले त्यहाँ कार्यरत प्रहरीले दिनमा एकपटक करिब चार घण्टा पैदल हिँडेर हल्जी पुग्नुपर्ने अवस्था छ। हल्जीमा फोरजी सेवा रहेकाले त्यहाँबाट आवश्यक सूचना आदानप्रदान गर्ने गरिएको छ। चौकीमा प्रहरी सहायक निरीक्षकसहित १० जना कार्यरत छन्।

नारा लेकमा जेसीबी नचलाए सडक खुल्दैन

चार हजार ६७० मिटर उचाइमा रहेको नारा लेकमा पनि साढे तीन फिटसम्म हिउँ जमेको छ। हिउँका कारण हिल्सा–सिमकोट सडकखण्ड अवरुद्ध भएको छ। सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकीका सशस्त्र प्रहरी निरीक्षक केदार सापकोटाका अनुसार जेसीबी प्रयोग नगरी सडकमा जमेको हिउँ पन्छाउन कठिन छ।

हिल्सास्थित मानसरोवर होटलकी सञ्चालक पेमा लामाले नारा लेकको हिउँ पन्छाएर यातायात सञ्चालन गर्न हिल्सा–सिमकोट सडक योजनासँग माग गरेकी छन्। सडक बन्द हुँदा हिल्सामा रहेका सशस्त्र प्रहरी, नेपाल प्रहरी, यारी नाका भन्सार तथा अध्यागमन कार्यालयका कर्मचारी, होटल व्यवसायी र स्थानीय व्यापारीसमेत प्रभावित भएका छन्।

१५ वर्षपछि असोजमै बाक्लो हिमपात

स्थानीयका अनुसार यस वर्ष विगत १५ वर्षयताकै पहिलोपटक हिल्सामा असोज १० गतेदेखि हिमपात भएको हो। यसअघि हिल्सामा कात्तिकपछि मात्रै बाक्लो हिमपात हुने गरेको उनीहरूको भनाइ छ। मौसममा आएको परिवर्तनका कारण यस वर्ष असोजमै हिमपात भएको स्थानीयको अनुमान छ।

दसैँ–तिहारको मुखमा सडक बन्द भएपछि ताक्लाकोटमा रहेका हुम्लाका नागरिकलाई घर फर्किन समस्या भएको छ। लिमी र हिल्साका स्थानीयले सडकमा जमेको हिउँ तत्काल पन्छाएर यातायात सञ्चालन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

लेखक
हेमन्त केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?