+
+
Shares

मधेशमा चाडपर्व लक्षित सुरक्षा योजना : ७ हजार बढी प्रहरी परिचालन गरिने

सबैभन्दा धेरै प्रहरी धनुषामा १५९९ जना परिचालन गरिने योजना छ। सीमा नाकामा २८ वटा हेल्प डेस्कसमेत सञ्चालन गरिने प्रहरीले जनाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २१ गते १०:१४

२१ असोज, जनकपुरधाम । दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै मधेश प्रदेश प्रहरीले आठवटै जिल्लामा विशेष सुरक्षा योजना लागू गरेको छ ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसएसी प्रभुप्रसाद ढकालका अनुसार असोज २९ गतेदेखि कात्तिक ३० गतेसम्म प्रदेशका विभिन्न स्थानमा गरी ७ हजार २२९ प्रहरी परिचालन हुनेछन् । सबैभन्दा बढी प्रहरी धनुषामा १ हजार ५९९ जना परिचालन गरिने योजना छ।

सुरक्षा  योजनाअनुसार पर्सामा ६६१, बारामा ८७०, रौतहटमा ८६३, सर्लाहीमा ७९२, महोत्तरीमा ७४७, सिरहामा ६५१ र सप्तरीमा ८५७ प्रहरी परिचालन गरिने उनले बताए ।

चाडपर्वका क्रममा सुरक्षा व्यवस्थापनका लागि १ हजार १२४ ड्युटीअन्तर्गत ५ हजार ४८१ प्रहरी परिचालन हुनेछन् । यसअन्तर्गत १४ जिल्ला रिजर्भ, ९२ क्यूआरटी, १८ स्ट्राइकिङ टोली, ८७ ट्राफिकसहितको चेकिङ, ८६ मोबाइल गस्ती र १८० पैदल गस्ती परिचालन गरिनेछ। यस्तै, शंकास्पद स्थानमा पिकेटका लागि ३३९, राजमार्गमा स्कर्टिङका लागि २९ र यात्रु सहायता कक्षका लागि ६४ ड्युटी तोकिएको छ ।

सीमा नाकामा चोरी–तस्करी नियन्त्रणका लागि ७३, धार्मिक तथा पर्यटकीय स्थलको सुरक्षाका लागि ३७, बजार अनुगमनका लागि २१ र कर्डन तथा सर्चका लागि १८ ड्युटी परिचालन गरिनेछ । सभा, जुलुस तथा धर्नाको आकस्मिक सुरक्षाका लागि १६ र विपद् प्रतिकार्यका लागि २२ टोली परिचालन हुनेछन् । सीमा नाकामा २८ वटा हेल्प डेस्कसमेत सञ्चालन गरिने प्रहरीले जनाएको छ।

चाडपर्वका समयमा भारत–नेपाल सीमा नाकामा मानिसको आवतजावत बढ्ने भएकाले सीमा क्षेत्रमा तस्करी तथा अवैध सामान ओसारपसारको जोखिमलाई समेत ध्यानमा राखिएको उनले बताए ।

धार्मिक स्थलमा हुने भीडभाडमा चोरी, लुटपाट तथा मानिस हराउने घटना रोक्न पनि सुरक्षा व्यवस्था कडा पारिनेछ।

छठका क्रममा घाटमा डुब्ने तथा भीडजन्य दुर्घटना हुनसक्ने, दशैंमा घर फर्किने तथा तिहारपछि बढ्ने आवतजावतका कारण सडक दुर्घटना र ट्राफिक जाम हुनसक्ने जोखिमलाई पनि प्रहरीले सुरक्षा योजनामा समेटेको उनको भनाइ छ ।

पटका तथा आतिसबाजीबाट आगलागी, जुवा–तास तथा अवैध सट्टेबाजी, मादक पदार्थ सेवनबाट झैझगडा र घरेलु हिंसा तथा भीडभाडमा पाकेटमारी, चोरी र लुटपाट हुनसक्ने भन्दै प्रहरीले त्यसतर्फ पनि निगरानी बढाउने जनाएको छ ।

त्यसैगरी सुनचाँदी पसल, बैंक तथा नगद कारोबार हुने स्थानमा चोरी तथा डकैती, देउसी–भैलो, सांस्कृतिक कार्यक्रम र डिजेका कारण रात्रीकालीन शान्ति–सुरक्षामा चुनौती, धार्मिक कार्यक्रम तथा जुलुसबाट स्थानीय विवाद र सामाजिक तनाव हुनसक्ने जोखिमलाई समेत प्रहरीले पहिचान गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षा, अवैध मदिरा तथा लागुऔषधको ओसारपसार, कालोबजारी, कृत्रिम अभाव तथा मूल्यवृद्धि, सामाजिक सञ्जालमार्फत गलत सूचना फैलाएर तनाव सिर्जना गर्ने गतिविधि तथा आगलागी, विद्युत् सर्ट र अन्य आकस्मिक विपद्लाई पनि सुरक्षा चुनौतीका रूपमा राखिएको छ ।

प्रवक्ता ढकालका अनुसार अन्य जनशक्तिलाई कमान्ड पोस्ट, संयुक्त गस्ती, सादा पोसाकमा सूचना संकलन तथा आकस्मिक ड्युटीमा परिचालन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?