+
+
Shares

कर्णालीका धनी अर्थमन्त्री : ३१ ठाउँमा जग्गा, करोडौंको शेयर

कर्णाली प्रदेशका अर्थमन्त्री टेकराज पछाईको जुम्लादेखि बर्दियासम्म ३१ ठाउँमा जग्गाजमिन छ । उनीसँग ७० तोला सुन–चाँदी छ । विभिन्न लघुवित्त तथा कम्पनीहरूमा मात्रै ४३ हजार ५४२ कित्ता शेयर पनि छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २९ गते ७:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णालीका अर्थमन्त्री टेकराज पछाईले ३१ ठाउँमा जग्गाजमिन, ७० तोला सुनचाँदी र २९ संस्थामा ठूलो सेयर लगानीसहित सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।
  • उनका नाममा विभिन्न वित्तीय संस्था र कम्पनीमा ४३ हजार ५४२ कित्ता सेयर रहेको छ, जसको बजार मूल्य करिब तीन करोड रुपैयाँ बढी हुने बताइएको छ।
  • पछाईले सम्पत्तिको स्रोत पुर्ख्यौली सम्पत्ति, सेयर कारोबार र पारिश्रमिक भएको बताउँदै कुनै ऋण नभएको विवरणमा उल्लेख गरेका छन्।

२९ असोज, सुर्खेत । कर्णाली प्रदेश सरकारका अर्थमन्त्री टेकराज पछाईले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधवार सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनको जुम्लादेखि बर्दियासम्म ३१ ठाउँमा जग्गाजमिन रहेको उल्लेख छ ।

उनीसँग ७० तोला सुन–चाँदी छ भने २९ वटा विभिन्न लघुवित्त तथा कम्पनीहरूमा ठूलो मात्रामा सेयर लगानी छ । गरिब प्रदेशका रूपमा चिनिएको कर्णाली प्रदेशका अर्थमन्त्री पछाईको विभिन्न लघुवित्त तथा कम्पनीहरूमा मात्रै ४३ हजार ५४२ कित्ता शेयर रहेको छ, जुन बजार भाउ अनुसार करिब तीन करोड बढी हुन आउने जानकारहरु बताउँछन् ।

मन्त्री पछाईको नाममा सम्पदा लघुवित्तमा १४ हजार २४ कित्ता, कसमस बचत तथा ऋण सहकारीमा २५ हजार कित्ता र कालिका लघुवित्त सहित विभिन्न ९ वटा वित्तीय संस्था र कम्पनीमा ९ हजार कित्ता शेयर रहेको छ ।

त्यस्तै श्रीमती तिला आचार्यको नाममा एक्सपर्ट हाइड्रो पावर कम्पनीमा २ हजार कित्ता, आरम्भ चौतारी लघुवित्त, एसियन लाइफ इन्सुरेन्स र बुटवल पावर लगायत १९ वटा कम्पनी र वित्तीय संस्थाहरूमा गरी १६ हजार कित्ता शेयर हरेको छ ।

अर्थमन्त्री पछाईले आफ्नो सम्पूर्ण आयआर्जनको श्रोत भने पुर्ख्यौली सम्पत्ति, शेयर कारोबार र पारिश्रमिक भएको बताएका छन् ।

पछाई दम्पतीले त्रिशूली जलविद्युत् आयोजनामा समेत लगानी गरेका छन् । ती सबै सेयरको बजार मूल्यअनुसार हिसाब गर्ने हो भने करोडौँ रकम हुन आउँछ । सम्पदा लघुवित्तमा मात्रै पछाईको ७२ लाख ७३ हजार ७५६ रुपैयाँ बराबरको सेयर रहेको छ ।

कनकासुन्दरी गाउँपालिका–६, का स्थानीयवासी रहेका पछाई जुम्ला निर्वाचन क्षेत्र (ख) बाट प्रदेश सभामा निर्वाचित भएको थिए । उनी नेकपा (एमाले)का युवा नेता हुन् ।

पछाईसँग कनकासुन्दरीको गाउँमा बुबाको नाममा ६० र १२९ वर्ग मिटर क्षेत्रफलका दुई वटा पुर्ख्यौली घर छन् । त्यसबाहेक बुबाकै नाममा गाउँका विभिन्न २८ ठाउँमा पुर्ख्यौली जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । त्यस्तै बर्दियाको राजापुर नगरपालिका–२ का ३ वटा ठाउँमा समेत जग्गाजमिन रहेको विवरणमा उल्लेख छ ।

नेकपा संसदीय दलका नेता मंगल बहादुर शाही नेतृत्वको सरकारमा सत्तारुढ दल नेकपा एमालेको तर्फबाट नेतृत्व गर्दै पछाई गत भदौ ३ गते प्रदेशको अर्थमन्त्रीमा नियुक्त भएका थिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमार्फत सार्वजनिक सम्पत्ति विवरण अनुसार पछाईसँग २० तोला सुन र ५० तोला चाँदी रहेको छ । उक्त सुनचाँदी अहिलेको बजार मूल्यअनुसार गणना गर्दा लाखौँ रुपैयाँ हुन आउँछ ।  उनले उक्त सुनचाँदीको स्रोत भने खुलाएका छैनन् ।

मन्त्री पछाई र उनकी श्रीमतीको नाममा गरी विभिन्न बैङ्कमा १२ लाख १५ हजार रुपैयाँ मौज्दात छ । पछाई दम्पतीको नाममा नागरिक लगानी कोषमा ९ लाख १३ हजार ६६४ रुपैयाँ जम्मा छ । सवारीसाधनतर्फ २ लाख ४० हजार मूल्यको बजाज मोटरसाइकल र २ लाख ८५ हजार मूल्यको स्कुटर (श्रीमतीको नाममा) रहेको बताएका छन् । यी सवारीसाधन खरिदको स्रोतमा व्यक्तिगत आम्दानी र ‘बैंकको जागिर’ राखिएको छ ।

मन्त्री पछाइले आफूसँग जुम्लामा २०० बोट स्याउ, १५ बोट ओखर र एउटा गाई पनि रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । त्यस्तै विद्युतीय सामग्रीतर्फ उनीसँग २ थान एप्पल मोबाइल र १ थान ल्यापटप रहेको छ । तर यति ठुलो लगानी र सम्पत्ति भए पनि आफूसँग कुनै ऋण नरहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?