News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्यामा दोषी ठहर बाबु थापा बुधबार राति सर्लाहीको बागमती नगरपालिका–स्थित घरबाट पक्राउ परेका छन्।
- जेनजी आन्दोलनका क्रममा काठमाडौंको केन्द्रीय कारागारबाट फरार थापाको साथबाट दुई थान पेस्तोल, तीन म्यागजिन र १५ राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ।
- हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा थापाविरुद्ध सर्लाही जिल्ला अदालतमा मुद्दा प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
२९ असोज, सर्लाही । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्यामा दोषी ठहर भएका फरार प्रतिवादी बाबु थापा पक्राउ परेका छन् ।
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका उनलाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बुधबार राति बागमती नगरपालिका–स्थित मिलनचोकमा रहेको घरबाट उनी पक्राउ परेका हुन् ।
सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक रविन्द्रनाथ पौडेलका अनुसार थापा घरमा आएको सूचनाका आधारमा उनलाई पक्राउ गर्न सफल भएको हो ।
थापा पक्राउ पर्दा उनको साथबाट दुई थान पेस्तोल, तीनवटा म्यागजिन र १५ राउन्ड गोली समेत बरामद भएको उनले बताए ।
हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा उनीविरुद्ध सर्लाही जिल्ला अदालतमा मुद्दा प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
थापा गत २४ भदौमा जेनजी आन्दोलनका क्रममा काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका थिए । त्यसपछि उनी नेपाल र भारतका विभिन्न स्थानमा लुकेर बस्दै आएको प्रहरीको भनाइ छ ।
भेष बदलेर बस्ने र आवश्यक पर्दा अरूको मोबाइल प्रयोग गरी सम्पर्क गर्ने गरेको सूचनाका आधारमा प्रहरीले उनको खोजी गरिरहेको थियो ।
यसअघि लामो खोजीपछि पक्राउ परेका थिए
न्यायाधीश बमको हत्या प्रकरणमा दोषी ठहर भएका थापा यसअघि पनि लामो खोजीपछि पक्राउ परेका थिए । प्रहरीले दुई वर्ष सात महिनासम्म निगरानी र खोजी गरेपछि २०७१ सालमा उनलाई पक्राउ गरी अदालतमा पेस गरेको थियो ।
त्यतिबेला उनको पक्राउलाई प्रहरीका लागि ठूलो उपलब्धिका रूपमा लिइएको थियो। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई सार्वजनिक गर्दा तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल आफैं पत्रकार सम्मेलनमा उपस्थित भएका थिए। अर्यालले उक्त पक्राउलाई प्रहरीको घाँटीमा अड्किएको काँडा निकालिएसरह भएको बताएका थिए ।
थापा चुरेभावर राष्ट्रिय पार्टीका तत्कालीन उपाध्यक्ष थिए । पार्टीभित्रको नेतृत्व विवाद र सर्वोच्च अदालतको एक अन्तरिम आदेशसँग जोडिएको न्यायाधीश बम हत्या प्रकरणमा दोषी ठहर भएपछि उनी जन्मकैदको सजाय भुक्तान गरिरहेका थिए ।
राजनीतिक विवाद र अदालतको आदेश हत्याको पृष्ठभूमि
सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको १८ जेठ २०६९ सालमा ललितपुरको यूएन पार्क क्षेत्रमा गोली हानी हत्या गरिएको थियो । बंगलामुखी मन्दिरमा दर्शन गरेर फर्कने क्रममा उनको गाडी रोकेर गोली प्रहार गरिएको थियो ।
प्रहरी अनुसन्धानअनुसार चुरेभावर राष्ट्रिय पार्टीभित्रको नेतृत्व विवाद र सर्वोच्च अदालतको अन्तरिम आदेश हत्याको पृष्ठभूमिसँग जोडिएका थिए ।
पार्टीको नेतृत्वसम्बन्धी विवाद निर्वाचन आयोगसम्म पुगेपछि आयोगले केशव मैनालीको सट्टा बाबु थापा नेतृत्वको समूहलाई वैधानिकता दिएको थियो । उक्त निर्णयविरुद्ध मैनाली सर्वोच्च अदालत पुगेका थिए । त्यसपछि न्यायाधीश बमको एकल इजलासले थापा समूहलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।
अनुसन्धानमा अदालतको आदेशले आफ्नो राजनीतिक भविष्य समाप्त हुने ठानेपछि थापाले हत्याको योजना बनाएको निष्कर्ष निकालिएको थियो । तत्कालीन अनुसन्धान अधिकारीहरूले पनि पार्टीभित्रको विवाद र अदालतको आदेशलाई हत्याको प्रमुख कारणका रूपमा व्याख्या गरेका थिए ।
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएपछि थापा प्रहरीको खोजीमा थिए । लामो समयसम्म उनको अवस्थाबारे यकिन गर्न नसकेको प्रहरीले अन्तत: सर्लाहीस्थित उनकै घरबाट पक्राउ गरेको हो ।
प्रतिक्रिया 4