२९ असोज, काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री डा. मोहम्मद फिर्दोस आलमले पार्टीलाई एकढिक्का बनाएर नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । कांग्रेसको १५औँ महाधिवेशनमा मुस्लिम क्लस्टरबाट सहमहामन्त्रीमा विजयी भएपछि उनले नवनिर्वाचित सभापति गगन थापा पार्टी र देशको आवश्यकता राम्ररी बुझ्ने सक्षम तथा गतिशील नेतृत्व भएकोले उनले सबैलाई समेटेर अघि बढ्ने विश्वास व्यक्त गरे।
देश सङ्कटमा पर्दा कांग्रेसले नै अग्रसर भई नेतृत्वदायी भूमिका निर्वाह गरेर समाधान गरेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि पार्टी जनताको अपेक्षानुसार खरो उत्रने बताए।
विगतमा नेतृत्व तहबाट भएका कमी-कमजोरीहरूलाई सुधार गर्दै पार्टीको ऐतिहासिक पहिचानलाई निरन्तरता दिने उनको भनाइ छ।
सानेपास्थित केन्द्रीय कार्यालय सबै कांग्रेसजनको साझा घर भएको बताउँदै सहमहामन्त्री आलमले भने, ‘सबैको यसमा लगानी छ, सबै जना यहीँ आउनुहुन्छ र पार्टी एकढिक्का भएर अगाडि बढ्छ।‘
वर्तमान सरकारलाई लक्षित गर्दै उनले सरकारलाई जनउत्तरदायी र जवाफदेही बनाउन कांग्रेसले निरन्तर खबरदारी गर्ने बताए। सरकारका कमजोरीहरू औँल्याउने, जनताका अपेक्षाअनुसार काम गर्न प्रेरित गर्ने र विशेषगरी चाडपर्वका बेला जनतालाई राहत दिन महँगी नियन्त्रण गर्नुपर्नेमा उनले विशेष जोड दिए।
सरकारप्रति जनताको अपेक्षा धेरै भए पनि सोही अनुपातमा काम हुन नसकेको उनको टिप्पणी छ।
प्रतिक्रिया 4