+
+
Shares

नेपाल क्लियरिङ्ग हाउसको साधारणसभा सम्पन्न, १५ प्रतिशत बोनस सेयर पारित

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २९ गते १८:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनसीएचएलले बुधबार काठमाडौंमा सम्पन्न १५औँ वार्षिक साधारणसभाबाट २०८३ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब र नगद–प्रवाह विवरण स्वीकृत गरेको छ।
  • सभाले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
  • आ.व. २०८२/८३ मा एनसीएचएलमार्फत २१० खर्ब बराबरको २३.८२ करोड भुक्तानी कारोबार राफसाफ भएको छ, र खुद नाफा ४१ करोड रहेको छ।
  • सभाले बैंकिङ र भुक्तानी प्रविधिमा अनुसन्धान तथा सफ्टवेयर विकासका लागि छुट्टै पब्लिक लिमिटेड कम्पनी स्थापना गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको छ।

२९ असोज, काठमाडौं, नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले पन्ध्रौं वार्षिक साधारणसभा बुधबार काठमाडौंमा सम्पन्न गरेको छ । सभाले लेखापरीक्षण प्रतिवेदन सहितको २०८३ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गरेको छ ।

साथै १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यस पश्चात् एनसीएचएलको चुक्ता पूँजी १ अर्ब ६७ करोड ७२ लाख ८८ हजार २०० बराबर हुनेछ ।

कम्पनीले पूँजी वृद्धि मार्फत नेसनल पेमेन्ट प्रणालीहरू, नेसनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणालीहरू, डीपीआईका लागि थप पूर्वाधार, जोखिम व्यवस्थापनलाई सुदृढ बनाउने र सञ्चालनमा रहेका पूर्वाधारहरूको स्तरोन्नतिका लागि प्रयोग गरिने जनाएको छ ।

आ.व. २०८२/८३ मा एनसीएचएलको भुक्तानी प्रणालीहरू मार्फत कुल २१० खर्ब बराबरको २३.८२ करोड भुक्तानी कारोबार राफसाफ भएको थियो । उक्त आर्थिक वर्षमा कम्पनीबाट फर्छौट भएका कारोबारहरुको संख्या र रकमको आधारमा १३ प्रतिशतले वृद्धि भए सँगै कम्पनीको सञ्चालन आम्दानी ७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको खुद नाफा ४१ करोड रहेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २ प्रतिशतले कम हो ।

उक्त वार्षिक साधारण सभाबाट एनसीएचएलले बैंकिङ्ग/वित्तीय तथा भुक्तानी सम्बन्धी प्रविधिमा अनुसन्धान लगायत प्रविधि र सफ्टवेयरको विकास, जडान एवम् सोसँग सम्बन्धित आवश्यक कार्य समेत गर्ने उद्देश्य सहित कम्पनीको सहायक वा सम्बद्ध कम्पनीको रुपमा छुट्टै पब्लिक लिमिटेड कम्पनी स्थापना गर्न आवश्यक स्वीकृति तथा प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी समेत प्रदान गरेको छ । वित्तीय क्षेत्रको लागि आवश्यक प्रविधि तथा सफ्टवेयरको विकास र जडान गर्ने उद्देश्य सहित उक्त कम्पनीले काम गर्नेछ ।

एनसीएचएलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकबाट १ जना, वाणिज्य बैंकहरुबाट ३ जना, विकास बैंकहरु र फाइनान्स कम्पनीहरुबाट क्रमशः १–१ जनाको प्रतिनिधित्व रहेको छ भने १ जना स्वतन्त्र सञ्चालक रहेको छ । एनसीएचएलमा नेपाल राष्ट्र बैंकको ९.४५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरुको ९०.५५ प्रतिशत स्वामित्व रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?