News Summary
Generated by OK AI. Editorially reviewed.- भोटेकोशी बाढीबाट विस्थापित भएर नुवाकोटमा बसेका रसुवाको उत्तरगया–१ का बासिन्दामाझ विषाक्त घरेलु मदिराको बिक्रीवितरण बढेपछि प्रहरीले नियन्त्रण अभियान चलाएको छ।
- नुवाकोट प्रहरीले विस्थापित बस्ती आसपासबाट करिब १ हजार लिटर अवैध मदिरा बरामद गरी आवश्यक प्रक्रिया पूरा गरेर नष्ट गरेको जनाएको छ।
- प्रहरीका अनुसार बरामद मदिरा युरिया मल, चप्पल–जुत्ता, मरेका जीवजन्तुका कुहिएका सिनो र अन्य अखाद्य वस्तु प्रयोग गरेर बनाइएको थियो।
- पूर्ववडाध्यक्ष बमबहादुर तामाङले विस्थापितलाई मनोसामाजिक परामर्श र उपचारसँगै विषाक्त मदिरा नियन्त्रण आवश्यक रहेको बताए।
१ कात्तिक, नुवाकोट । भोटेकोशी बाढीबाट विस्थापित भएर नुवाकोटमा अस्थायी बसोबास गरिरहेका रसुवाको उत्तरगया गाउँपालिका–१ का बासिन्दालाई अहिले ‘विषाक्त’ घरेलु मदिराको जोखिम थपिएको छ ।
विस्थापित बस्ती र आसपासका क्षेत्रमा अखाद्य वस्तु प्रयोग गरेर बनाइएको अवैध मदिराको बिक्रीवितरण बढेपछि प्रहरीले नियन्त्रण अभियान चलाएको छ ।
विदुर नगरपालिका–५ स्थित बाडाचौतारो, रत्तकाली आधारभूत विद्यालय पिपलटार, माझीटार डाँडागाउँ र पोष्टबहादुर बोगटी पार्क गरी चार स्थानमा करिब दुई हजार विस्थापित डेढ महिनादेखि अस्थायी रूपमा बसोबास गर्दै आएका छन् । यही बस्ती र आसपासका क्षेत्रमा विषाक्त घरेलु मदिरा छ्याप्छ्याप्ती पाइएपछि प्रहरीले केही दिनयता कडाइ गरेको हो ।
नुवाकोट प्रहरीले एकैपटक करिब एक हजार लिटर अवैध मदिरा बरामद गरेको जनाएको छ । विस्थापित बस्तीलाई लक्षित गरी उत्पादन तथा बिक्री भइरहेको अवस्थामा मदिरा जफत गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए ।
‘बरामद गरिएको मदिरा अत्यन्तै विषाक्त भेटिएको छ,’ उनले भने, ‘स्वास्थ्यदेखि हरेक हिसाबले संवेदनशील यस्तो बस्तीका नागरिकलाई व्यावसायिक रूपमा लक्षित गरी अवैध तरिकाले उत्पादन र बिक्री भइरहेको पाइएपछि प्रहरीले जफत गरेको हो ।’
प्रहरीका अनुसार बरामद मदिरा उत्पादनमा युरिया मल, चप्पल–जुत्ता, मरेका जीवजन्तुका कुहिएका सिनो तथा अन्य अखाद्य वस्तु प्रयोग गरिएको पाइएको छ । बरामद मदिरालाई आवश्यक प्रक्रिया पूरा गरी नष्ट गरिएको प्रवक्ता हवारीले बताए ।
यस्तो मदिराको बिक्रीवितरण र सेवनले बस्तीमा विकृति बढ्नुका साथै आपराधिक घटना निम्तिन सक्ने र सेवनकर्ताको ज्यानसमेत जोखिममा पर्न सक्ने स्थानीयको भनाइ छ ।

उत्तरगया गाउँपालिका–१ का पूर्ववडाध्यक्ष बमबहादुर तामाङले बाढीमा आफन्त र परिवारका सदस्य गुमाएर पीडामा रहेका विस्थापितलाई मनोसामाजिक परामर्श र अन्य उपचारको आवश्यकता रहेको बताए । तर, त्यही अवस्थामा अत्यधिक मदिरा सेवन गर्ने प्रवृत्ति बढ्दा उनीहरूको ज्यानसमेत जोखिममा परेको उनको भनाइ छ ।
‘विषाक्त मदिरा बिक्रीवितरण गर्नेहरूका कारण बाढीमा आफन्त र परिवार गुमाएर पीडामा रहेका मानिसले अत्यधिक रक्सी पिउने र ज्यानसमेत जाने खतरा बढिरहेको छ,’ तामाङले भने, ‘घरेलु विषाक्त मदिराको खुलेआम खपत भइरहेको देखेपछि नियन्त्रणका लागि प्रहरीलाई गुहारेको हुँ ।’
तामाङका अनुसार बाढीबाट विस्थापित परिवारले एकातिर आफन्त गुमाउनुको पीडा भोगिरहेका छन् भने अर्कातिर अस्थायी बसोबासका क्रममा विभिन्न समस्या झेलिरहेका छन् ।
भूकम्पले विस्थापित, बाढीले फेरि उठिबास
२०७२ सालको भूकम्पपछि रसुवाको साविक हाकु गाविसका बासिन्दा गाउँमा बस्न नसक्ने अवस्था आएपछि विस्थापित भएका थिए । उनीहरू बेत्रावतीसँगैको खाल्टे क्षेत्रमा बसोबास गर्दै आएका थिए । तर, भदौ १० गतेको भोटेकोशी बाढीले उनीहरूलाई त्यहाँबाट पनि विस्थापित बनायो ।
प्राप्त विवरणअनुसार उत्तरगया गाउँपालिका–१ बाट विस्थापित ३४४ परिवारका ३१५ जना बाढीमा गुमेका छन् । त्यस्तै, उत्तरगया गाउँपालिका–१ का मात्रै ४९५ जना बाढीमा मृत्यु भएका वा बेपत्ता रहेको विवरणमा उल्लेख छ ।
विस्थापनको दोहोरो मार खेपिरहेका बासिन्दाका लागि सुरक्षित बसोबास, स्वास्थ्य सेवा र मनोसामाजिक सहयोगसँगै विषाक्त मदिराको उत्पादन तथा बिक्रीवितरण नियन्त्रण गर्नु पनि चुनौती बनेको छ ।
प्रतिक्रिया 4