News Summary
Generated by OK AI. Editorially reviewed.- राजपाल यादवले चेक बाउन्स प्रकरणमा सर्वोच्च अदालतले १४ वर्षपछि आफ्नो पक्ष राख्ने मौका दिएको भन्दै धन्यवाद दिएका छन्।
- उनले सामाजिक सञ्जालमा पत्नी राधाको योगदान सम्झँदै ‘मेरा जीवनमा कसैको सबैभन्दा ठूलो ऋण छ भने, त्यो मेरी प्रिय राधाको हो’ भनेका छन्।
- राधा क्यानडाकी हुन्, राजपालसँग १० महिनाको लामो दूरीको प्रेमपछि सन् २००३ मा भारत आएर विवाह गरेकी थिइन्।
बलिउड अभिनेता राजपाल यादव यतिबेला आफ्ना फिल्मभन्दा बढी चेक बाउन्स प्रकरणका कारण चर्चामा छन् । एकातिर उनले १४ वर्षपछि अदालतले आफ्नो पक्ष राख्ने मौका दिएको भन्दै सर्वोच्च अदालतलाई धन्यवाद दिएका छन् भने अर्कोतिर २२ करोड भारुको नयाँ दाबीमाथि प्रश्न उठाएका छन् ।
यसबीच ५५ वर्षीय राजपालले सामाजिक सञ्जालमा लामो पोस्ट लेख्दै पत्नी राधालाई धन्यवाद दिएका छन् । उनी लेख्छन्, ‘ माता-पिता, गुरु र परम पिता परमेश्वर, परमात्मा रूपी ब्रह्माण्डपछि, यदि मेरो जीवनमा कसैको सबैभन्दा ठूलो ऋण छ भने, त्यो मेरी प्रिय राधाको हो ।’
यो ऋणलाई म हृदयदेखि, खुशी-खुशी सधैंका लागि स्वीकार गर्दछु र यो कुरामा गर्व पनि गर्दछु कि तिमी मेरो जीवनमा आयौ । जीवनको आपत्-विपत्तिको हरेक मोडमा, हरेक कठिन घडीमा, आफ्नो अस्तित्व नगुमाई, तिमीले मेरो साथ कहिल्यै छोडिनौ ।
मेरो साथमा यति धेरै कुरा सहनुपरेपछि पनि, तिमीले मेरो परिवारका बच्चाहरूलाई राम्ररी पढाए-लेखायौ र उनीहरूलाई जीवनको पाठ सिकायौ । यो सपना मेरो थियो, तर यसलाई पूरा तिमीले गर्यौ। आजसम्म तिमीले मबाट आफ्ना लागि केही पनि मागेकी छैनौ, बरु आफ्नो सबै कुरा मेरो र मेरो परिवारको खुशीका लागि समर्पण गरिदियौ ।’
राजपाल यादवको फिल्मको जस्तै प्रेमकथा
सबैको अनुहारमा मुस्कान ल्याउने अभिनेता राजपाल यादवले आफ्नो जीवनमा धेरै दुःख पनि भोगेका छन् । ती कठिन समयमा उनकी पत्नी राधा चट्टानझैँ साथमा उभिइन् । पहिलो पत्नीको निधनपछि राधा कसरी उनको जीवनको हिस्सा बनिन्रु उनीहरूको प्रेमकथा कुनै फिल्मको कथाभन्दा कम छैन ।
प्रेमलाई विवाहमा परिणत गर्न उनीहरूले विभिन्न कठिनाइको सामना गर्नुपरेको थियो ।
राधाका अनुसार सुरुमा उनका आमाबुबा विवाहका लागि तयार थिएनन् । यसको मुख्य कारण उनीहरूबीचको १३ वर्षको उमेर अन्तर थियो । तर पछि परिवारले उनीहरूको सम्बन्धलाई स्वीकार गर्यो ।
राधा क्यानडाकी हुन् । राजपाल फिल्मको छायांकनका लागि क्यानडा पुगेका बेला उनीहरूको भेट भएको थियो । एक साझा साथीमार्फत उनीहरूको चिनजान भएको थियो । त्यसपछि राजपाल राधाका आमाबुबालाई भेट्न उनको घरसमेत पुगेका थिए । त्यतिबेला उनीहरूको विवाह हुन्छ कि हुँदैन भन्ने निश्चित थिएन ।
उनीहरू करिब १० महिना लामो दूरीको प्रेम सम्बन्धमा रहे । सन् २००३ मा राधा भारत आइन् र त्यसपछि उनीहरूले विवाह गरे।
विवाहपछि पनि पढाइलाई प्राथमिकता
राजपाल यादवले विवाहपछिको जीवनबारे कुरा गर्दै शिक्षाको महत्त्वसमेत बताएका छन् । उनले विवाहपछि राधालाई आफ्नो पढाइ पूरा गर्न प्रोत्साहित गरेका थिए।
राधाले आफ्ना अधुरा इच्छा पूरा गर्दै इन्टेरियर डिजाइनिङको अध्ययन गरिन् । उनले अन्तर्राष्ट्रिय स्तरमा अध्ययन गर्नुका साथै लन्डन र दुबईमा तालिम लिएर आफ्नो कोर्स पूरा गरिन् ।
राजपालको विचारमा विवाहले व्यक्तिको प्रगतिमा बाधा पुर्याउनु हुँदैन । बरु, दम्पतीले एकअर्कालाई अघि बढ्न सहयोग गर्नुपर्छ । उनीहरूको सम्बन्धले पनि यही सोचलाई प्रतिबिम्बित गर्छ ।
पहिलो पत्नीको निधनपछि राधासँग विवाह
राजपाल यादवले विभिन्न अन्तर्वार्तामा आफ्नो पहिलो विवाह करुणासँग भएको बताएका छन् । तर विवाहको केही महिनापछि नै करुणाको निधन भएको थियो । त्यसपछि उनले राधासँग नयाँ जीवन सुरु गरे ।
जीवनका विभिन्न कठिन परिस्थितिमा राधाले राजपाललाई साथ दिँदै आएकी छन् । राजपालका लागि उनी केवल जीवनसाथी मात्र नभई सुखदुःखकी भरपर्दो साथी पनि हुन् ।
प्रतिक्रिया 4