+
+
Shares

गाईभैँसी पालनबाट मासिक १५ लाख बचत गर्छन् इन्जिनियर लामिछाने

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ४ गते १९:२८

४ कात्तिक, काठमाडौं । मिहिनेत र लगनशीलता साथ जुनसुकै व्यवसाय गरे पनि सफल हुन सकिन्छ भन्ने उदाहरण बनेका छन् गोरखाका इन्जिनियर कुमार लामिछाने ।

काठमाडौं नागार्जुन नगरपालिका-६ रामकोट डाँडापौवामा गाईभैँसी पालन गर्दै आएका लामिछानेले मासिक १५ लाख रुपैयाँ बचत गर्दै आएका छन्।

गोरखाको सिरानचोक गाउँपालिका-७ खहरेका सिभिल इन्जिनियर लामिछानेले २०७७ साल जेठमा क्षीतिज एकीकृत कृषि फार्म प्रालि स्थापना गरी गाईभैँसी पालन व्यवसाय सुरु गरेका हुन् ।

उनले १० करोड रुपैयाँ लगानी गरेर मासिक १ लाख रुपैयाँ भाडा तिर्ने गरी ६ रोपनी जग्गामा फार्म सञ्चालन गर्दै आएका छन् । सुरुमा ३० वटा भैँसीबाट व्यवसाय थालेका लामिछानेको गोठमा अहिले २ सय गाई र ५० भैँसी छन् ।

‘इन्जिनियर भएपछि निर्माणसँग सम्बन्धित काम गर्थें, सात वर्षदेखि जीवनसाथी इन्जिनियर सङ्गीताको सहयोग र सहकार्यमा इन्जिनियरिङ पेसासँगै गाईभैँसी पालन व्यवसाय पनि गर्दै आएको छु, यस व्यवसायबाट केहीले रोजगारी पाएका छन् भने आम्दानी पनि राम्रै छ,´उनले भने।

लामिछानेको फार्ममा अहिले दैनिक १ हजार २ सय लिटर दूध उत्पादन हुन्छ । उत्पादित दूधमध्ये केही दुग्ध विकास संस्थान (डीडीसी) र नमुना डेरीमा बिक्री हुन्छ भने बाँकी उपत्यकाका विभिन्न डेरीमा बिक्रीवितरण हुँदै आएको उनले बताए ।

उनका अनुसार अहिले भैँसीको दूध प्रतिलिटर १ सय ७० रुपैयाँ र गाईको दूध १ सय रुपैयाँमा बिक्री हुँदै आएको छ। गाई र भैँसीको दूध दुहुन फार्ममा मेसिन समेत जडान गरिएको छ ।

फार्ममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ५० जना कार्यरत छन् । दूध बिक्रीबाट मासिक ४५ देखि ५० लाख रुपैयाँसम्म आम्दानी हुने गरेको लामिछानेले बताए । तर, खर्च कटाउँदा मासिक १५ लाख रुपैयाँ बचत हुने उनको भनाइ छ ।

गाईभैँसीलाई खुवाउने पराल र दानामा बढी खर्च हुने गरेको उनले बताए।

-रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?