+
+
Shares

दशैंको टीकालगत्तै चितवनमा बढे पर्यटक

सौराहा, पटिहानी, मेघौली लगायतका क्षेत्रका ठूला होटल, रेष्टुरेन्टहरूमा पर्यटकहरुको संख्या पछिल्लो दुई दिन यता निकै बढेको व्यवसायीहरुले जनाएका छन् ।

सुवास पण्डित सुवास पण्डित
२०८३ कात्तिक ६ गते ९:४८
सौराहा क्षेत्रमा आन्तरिक पर्यटकहरु

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दशैंको टीकापछि चितवनका सौराहा, पटिहानी र मेघौलीमा आन्तरिक तथा बाह्य पर्यटक बढ्दा होटलको अकुपेन्सी ८० प्रतिशतभन्दा माथि पुगेको व्यवसायीहरूले जनाएका छन्।
  • सौराहाका होटल तथा रेष्टुरेन्टमा पछिल्लो दुई दिनदेखि बुकिङ बढेको छ, र वनबास होटलमा ९० प्रतिशतभन्दा बढी कोठा बुक भएका छन्।
  • चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८२/०८३ मा २ लाख ७२ हजार ९२३ पर्यटक घुमेका थिए, जसमा नेपाली पर्यटकको संख्या १ लाख ६१ हजार ३७५ पुगेको छ।

६ कात्तिक, चितवन । दशैंको टीका लगत्तै चितवनका प्रमुख पर्यटकीय केन्द्रहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या बढ्न थालेको छ ।

देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहा, पटिहानी, मेघौली लगायतका क्षेत्रका ठूला होटल, रेष्टुरेन्टहरूमा पर्यटकहरुको संख्या पछिल्लो दुई दिन यता निकै बढेको व्यवसायीहरुले जनाएका छन् ।

एकातिर पर्यटकीय सिजन सुरु भएको कारणले बाह्य देशका पर्यटक पनि नेपाल आएका छन् भने अर्कोतिर दशैंको लामो बिदाका कारण पर्यटकहरु घुम्नका लागि चितवन आउन थालेका हुन् ।

यहाँका प्रमुख पर्यटकीय गन्तव्यहरुमा ८० प्रतिशतभन्दा माथि अकुपेन्सी रहेको होटल व्यवसायीहरूको भनाइ छ । सौराहामा १३६ वटा होटलहरुमा ६ हजार २०० बेड छन् ।

आन्तरिक तथा बाह्य पर्यटकहरु आउँदा पर्यटकीय गतिविधिहरुसमेत सुरु भएका छन् । विषेशगरी वाइल्ड लाइफ सफारीसँग सम्बन्धित गतिविधिहरू बढ्न थालेको व्यवसायीहरू बताउँछन् ।

क्षेत्रिय होटल संघ सौराहाका महासचिव महेश खनालले दशैंको टीकालगत्तै बुकिङ र देशका विभिन्न भागबाट पर्यटकहरूको आवागमन बढेको बताए । उनका अनुसार दशैं अगाडिसम्म ३० प्रतिशतको हाराहारीमा रहेको अकुपेन्सी बढेर ८० प्रतिशतभन्दा माथि पुगेको छ ।

उनले नेपालीसँगै चिनियाँ र अन्य देशबाट आउने पर्यटक पनि बढेको बताए ।

दशैंका बेला हात्ती सफारी गर्दै विदेशी पर्यटक । तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

सौराहाका रेष्टुरेन्टहरुसमेत आन्तरिक पर्यटकहरुको उल्लेख उपस्थिति देखिएको छ । रेष्टुरेन्ट एण्ड बार एसोसियसन नेपाल (रेवान) सौराहाका महासचिव नविन नेपालले लामो समयदेखि मन्दी रहेको रेष्टुरेन्ट व्यवसाय दशैं लगत्तै बढ्न थाल्दा चलायमान बनेको र व्यवसायीहरू खुसी भएको बताए ।

भदौ र असोजमा आएको बाढी र त्यसले पुर्‍याएको ठूलो जनधनको क्षति, राष्ट्रिय राजमार्गहरूमा पुर्‍याएको क्षतिले घुम्ने र रमाउने माहोल नभइरहेका बेला नेपालीहरूको महान पर्व बडादशैंले सकारात्मक सोचतर्फ लैजान प्रेरणा जगाएको सौराहाका पर्यटन व्यवसायी बासु ढुंगानाले बताए ।

ढुंगानाले सञ्चालन गरेको वनबास होटलमा विगत ३ दिनदेखि ९० प्रतिशतभन्दा बढी कोठाहरू बुक भएका छन् ।

सौराहामा तिहार र छठसम्म नै पर्यटकहरु आउन सक्ने देखिएको बताउँदै ढुंगानाले भने, ‘लामो समयसम्म संकटग्रस्त देखिएको सौराहाको पर्यटन व्यवसाय तंग्रिने प्रयासमा छ ।’ सौराहामा तिहार लगत्तै आन्तरिक पर्यटकहरुलाई लक्षित गरेर नेपथ्यको कन्सर्ट समेत आयोजना गरिँदै छ ।

चितवको मेघौलीमा पर्यटकहरुलाई देखाइएको थारु नाच

सौराहा मात्रै नभई चितवनको अर्को पर्यटकीय गन्तव्य पटिहानीमा पनि पर्यटकहरुको संख्या उल्लेख रुपमा बढेको छ । सोल्टी वेस्टइन्ड रिसोर्टका जनरल म्यानेजर चोपलाल पाण्डेले विगत २ दिनदेखि थप ३ दिनसम्म रिसोर्ट पुरै सोल्ड आउट भएको बताए । रिसोर्टमा नेपालीका साथैं विदेशी पर्यटकहरु रहेको पाण्डेले बताए । रिसोर्टमा ५२ वटा रुम छन् ।

पटिहानीकै अर्को रिसोर्ट रिभर बैंकका सञ्चालक दीपेन्द्र जोशीले दशैं लगत्तै पर्यटकको संख्या बढेको बताए । दशैंको टीका अगाडि भन्दा पछाडि पर्यटकको संख्या बढेको बताउँदै उनले भने, ‘५० प्रतिशत भन्दा माथि अकुपेन्सी पुगेको छ । आगामी दिनमा अझै बढ्ने देखिएको छ ।’

पटिहानीसँगै जोडिएको जगतपुरका होटल तथा रिसोर्टहरुमा समेत पर्यटकहरुको संख्या बढेको छ । जगतपुरको टाइगरल्याण्ड रिसोर्टका जनरल म्यानेजर श्याम थापाले अकुपेन्सी ८० प्रतिशतको हाराहारीमा रहेको जानकारी दिए । उनले दशैं सुरु भएपछि नै विदेशी तथा स्वदेशी पर्यटकहरुको संख्या बढेको बताए ।

यस्तै पश्चिम चितवनको प्रमुख पर्यटकीय गन्तव्य मेघौलीका होटल तथा रिसोर्टहरू दुई दिनदेखि सोल्ड आउट छन् । सिद्धार्थ बिजनेस ग्रुपका सीईओ कृष्ण न्यौपानेले वाइल्डलाइफ रिसोर्टमा अपेक्षा गरिएको भन्दा राम्रो पर्यटकहरु आएको बताए । उनले मध्यम वर्गीय नेपाली पर्यटकदेखि उच्च वर्ग तथा विदेशी पर्यटकहरुको रोजाइमा सिद्धार्थ पर्ने गरेको बताए ।

सिद्धार्थ वाइल्डलाइफ रिसोर्ट

‘यस वर्ष ढिलो गरी पर्यटकीययाम सुरु भएको छ, पर्यटकको आशालाग्दो उपस्थिति छ,’ सञ्चालक न्यौपानेले भने, ‘थारुको परम्परागत खाना, हिमालयन ब्रेकफास्ट, कोदोको रोटीसहितका नेपाली परिकार, लेमन ग्रासका जुस जस्ता विषयले पर्यटकहरु आकर्षित हुने गरेका छन् ।’ सिद्धार्थले राधाकृष्ण सामुदायिक वनदेखि चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीमार्फत पर्यटकलाई घुमाउने गरेको छ ।

मेघौलीकै अर्को रिसोर्ट बाराही जंगल लजसमेत दुई दिनदेखि सोल्ड आउट भएको छ । रिसोर्टका फुड एण्ड वेभरेट निर्देशक तेज थनेतले पर्यटकहरु दशैं लगत्तै बढेको बताए ।

मेघौलीमा तीन वटा ठूला पर्यटकीय होटल, केही साना होटल र घरबास (होमस्टे) पनि रहेका छन् । चितवनमा आउने पर्यटकहरु मध्ये अधिकांश २ रात ३ दिन बस्ने गरी आउने गरेका छन् ।

चितवनको पर्यटन क्षेत्रका जानकार हिम्मत पुरीका अनुसार दशैंको टीकालगत्तै आइतबारसम्म बिदा हुँदा ढुक्कले पारिवारिक भ्रमणमा जाने अवसर मिलेको कारण पर्यटकहरु बढेका हुन् ।

अहिले मौसम निकै अनुकल रहेको र पोखरा, बुटवल अनि काठमाडौंबाट आउ-जाउ गर्ने सडक सुविधाका कारण पनि पर्यटकहरु चितवन घुम्न आएको हुनसक्ने पुरी बताउँछन् । ‘भोटेकोशी र बूढीगण्डकी नदीमा आएका अस्वाभाविक बाढीपछि केही त्रसित बनेका नेपालीहरु दशैंलगत्तै अलि ढुक्कले घुम्न थालेको पाएँ,’ पुरी भन्छन्, ‘कोभिड पछाडि जुन ढंगले आन्तरिक पर्यटकहरु घुम्न निस्किएका थिए, त्यही ढंगले यसपटक पनि घुम्ने मुड बनाएको जस्तो बुझेको छु ।’

पुरीले पछिल्लो समय इभी गाडीप्रति देखिएको आकर्षणले पनि घुमघाम बढी भएको हुनसक्ने अनुमान गरे । इभी गाडी चढ्दा डिजेल–पेट्रोल गाडीमा हुने खर्चले एक रात कतै बस्न पुग्ने भएकाले पनि छोटो दुरीमा घुम्न जानेहरु बढेको उनको बुझाइ छ ।

सौराहासहित अन्य नाकाहरुबाट चितवन राष्ट्रिय निकुञ्ज प्रवेशसमेत खुला गरिएको छ । यसले पनि पर्यटकको संख्या बढेको अनुमान छ ।

चितवन राष्ट्रिय निकुञ्ज प्रवेश गरी जंगली जनावर तथा विभिन्न प्रजातिका चराचुरुङ्गीको अवलोकन गर्न तथा शान्त राप्ती नदीमा डुंगा शयर गर्नुका साथै यहाँको थारु संस्कृतिमा रमाउनका लागि पर्यटकहरु चितवन आउने गर्दछन् ।

दशैंका बेला चितवनमा देखिएका पर्यटकहरु । तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

निकुञ्ज प्रवेश गर्ने प्रमुख केन्द्र वरपर राप्ती नदी किनारमा ठूला तथा साना होटलहरु बनेका छन् । निकुञ्ज भित्र जिप सफारी, सामुदायिक तथा मध्यवर्ती वनमा हात्ती सफारी र राप्ती नदीमा डुंगा सफारी यहाँका प्रमुख पर्यटकीय गतिविधि हुन् ।

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८२/०८३ मा २ लाख ७२ हजार ९२३ पर्यटकहरु घुमेका थिए । निकुञ्ज कार्यालयले दिएको जानकारी अनुसार गत आर्थिक वर्ष नेपाली १ लाख ६१ हजार ३७५, सार्क देशका २२ हजार ८ सय ८३ र तेस्रो देशका ८८ हजार ६ सय ६५ पर्यटकहरुले निकुञ्ज घुमेका थिए ।

निकुञ्ज घुम्ने विदेशी भन्दा स्वदेशी पर्यटकहरुको संख्या बढ्दै गएको छ । अघिल्लो आर्थिक वर्ष (२०८१/०८२) मा भन्दा नेपाली पर्यटकको संख्या गत आर्थिक वर्ष २०८२/०८३ मा ४४ हजार १६९ ले बढेको छ ।

निकुञ्जका अनुसार सबैभन्दा धेरै कात्तिक महिनामा ३२ हजार २५२ र सबैभन्दा कम साउन महिनामा ७ हजार ७३ जना पर्यटकहरुले निकुञ्ज घुमेका छन् ।

लेखक
सुवास पण्डित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?