News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता गणेश पराजुलीले मौरिससका श्रममन्त्री मुहम्मद रेजा कासाम उतेमसँग करिब १४ हजार नेपाली श्रमिकको अधिकार र सुरक्षाबारे छलफल गरे।
- उनीहरूबीच श्रमिक भर्नासम्बन्धी द्विपक्षीय समझदारीपत्रको प्रभावकारी कार्यान्वयन र सुरक्षित, सम्मानजनक तथा न्यायोचित कार्य वातावरण सुनिश्चित गर्ने विषयमा विचार आदानप्रदान भयो।
- नेपाल र मौरिससबिच पर्यटन, संस्कृति र जनस्तरको सम्बन्ध विस्तार तथा पशुपतिनाथ र लुम्बिनी जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गर्ने सम्भावनाबारे पनि छलफल भयो।
७ कात्तिक, मौरिसस । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले मौरिससका श्रम तथा औद्योगिक सम्बन्धमन्त्री मुहम्मद रेजा कासाम उतेमसँग छलफल गरेका छन् ।
मौरिससमा कार्यरत करिब १४ हजार नेपाली श्रमिकको अधिकार, सुरक्षा र मर्यादित रोजगारी सुनिश्चित गर्ने विषयमा उनीहरूबीच छलफल भएको पराजुलीको सचिवालयले जनाएको छ ।
भेटका क्रममा नेपाली श्रमिकको हित संरक्षण, श्रमिक भर्नासम्बन्धी द्विपक्षीय समझदारीपत्रको प्रभावकारी कार्यान्वयन तथा श्रमिकका लागि सुरक्षित, सम्मानजनक र न्यायोचित कार्य वातावरण सुनिश्चित गर्ने विषयमा विचार आदानप्रदान भएको थियो ।
साथै, श्रमसम्बन्धी विद्यमान व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्दै दुई देशबिचको सहकार्य थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको उपनेता पराजुलीले बताए ।
नेपाल र मौरिससबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ वर्ष पूरा भएको सन्दर्भमा दुई देशबिचको सम्बन्धलाई थप विस्तार र सुदृढ बनाउने विषयले पनि छलफलमा महत्त्व पाएको थियो ।
भेटमा श्रम सहकार्यका अतिरिक्त पर्यटन, संस्कृति र जनस्तरको सम्बन्ध विस्तारका सम्भावनाबारे पनि छलफल भएको थियो ।
नेपालको हिमाली प्राकृतिक सौन्दर्य र मौरिससका समुद्री तटलाई पर्यटन सहकार्यका माध्यमबाट जोड्दै दुवै देशबिच पर्यटकीय आदानप्रदान प्रवर्द्धन गर्न सकिने विषयमा विचार आदानप्रदान गरिएको जनाइएको छ ।
त्यसैगरी, मौरिससका हिन्दु धर्मावलम्बीलाई नेपालको पशुपतिनाथ मन्दिर तथा भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँग जोड्दै धार्मिक, सांस्कृतिक र आध्यात्मिक पर्यटन प्रवर्द्धन गर्न सकिने सम्भावनाबारे पनि चर्चा भएको थियो। यस्तो सहकार्यले दुवै देशका नागरिकबिच सांस्कृतिक समझदारी, आपसी सद्भाव र जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो ।
प्रतिक्रिया 4