News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले यो वर्षको विशिष्ट प्रतिभा सम्मान झापाका गीतकार शिवशंकर थापा मगर र खोटाङका कवि चन्द्र रानाहँछालाई दिने घोषणा गरेको छ।
८ कात्तिक, काठमाडौं । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले यो वर्षको विशिष्ट प्रतिभा सम्मान झापाका गीतकार शिवशंकर थापा मगर र खोटाङका कवि चन्द्र रानाहँछालाई दिने घोषणा गरेको छ । प्रतिष्ठानले शनिबार विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएको हो ।
प्रतिष्ठानका अध्यक्ष देवेन्द्र खेरेसका अनुसार यो पुरस्कारको नगद राशी १ लाख रुपैया रहेको छ ।
वि.स. २००३ साल वैशाख १५ गते धनकुटाको चुलीवनस्थित डाँडागाउँमा जन्मेका शिवशंकर थापा मगर युवा अवस्थादेखि गीतलेखनमा सक्रिय रहँदै आएका छन् । ०२० सालबाट गीत लेख्न सुरु गरेका थापाले ०२६ सालमा रेडियो नेपालबाट स्वर परिक्षा उतिर्णगरी गीत रेकर्र्ड गराएका थिए । २०२८ सालदेखि उनको गीत रेडियो नेपालमा बज्न थालेको थियो ।
थापाले एकसयको हाराहारीमा गीतहरू लेखेका छन् । उनका केही चर्चित गीतहरूमा दीप श्रेष्ठको तिमी आकाशको जून भयौ.., भन्थिन् मेरी उनी मेरो पाइला नटेकिदिनू.., पवन गोलेले गाएको रहेको हावासँग बगुँ भन्छ पातसङ्ग बोलु भन्छ.., ओमविक्रम विष्टको स्वर रहेको मेरो रहर ब्यूँझिएर लगायत छन् ।
थापाका पाइतालाका डोबहरू मुक्तक सङ्ग्रह प्रकाशित छ । उनका भन्थिन् मेरी उनी संस्मरण र गिती सङ्ग्रह प्रकाशोन्मुख कृति छन ।
त्यसैगरी वि.स.२०३७ सालमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगर पालिका–९ निर्मलीडाँडामा जन्मेका थिए कवि चन्द रानाहँछा । उनी साहित्य लेखन तथा कलाकारिता क्षेत्रमा सक्रिय रहँदै आएका छन् । बाल्यकालमा चित्रकला प्रतिको आकर्षणले कलाकारितासंगै गीत, कविता, कथा र चलचित्रको पटकथासमेत उनले लेख्दै आएका छन् ।
उनका प्रकाशित कृतिहरूमा चौबन्दी किनिदिउँला (गीति एल्बम) २०५६, चिनो रुमाल (गीति एल्बम) २०५७, मनमा आँधी चलेपछि गीत, (कवितासङ्ग्रह) २०६७, भाउजू लडेको भीर (कथासङ्ग्रह) २०६९, थिबिया चराको गीत (कवितासङ्ग्रह) २०७१ रहेका छन् ।
रानाहँछाले राष्ट्रिय कविता महोतसव, २०७४ प्रथम, युवा वर्ष मोती पुरस्कार, २०७५ र खोटाङ प्रतिभा पुरस्कार, २०८० लगायत दर्जन बढी पुरस्कारहरु प्राप्त गरेका छन् ।
बेलायतमा बसेर कर्मथलो बनाएका नेपाली स्रष्टाहरुले सन २००८ मा नेपाली प्रतिभा प्रतिष्ठान स्थापना गरेका थिए ।
प्रतिक्रिया 4