News Summary
Generated by OK AI. Editorially reviewed.- दिल्लीको राउज एभेन्यु अदालतले ठग सुकेश चन्द्रशेखरसँग जोडिएको २०० करोड भारुको ठगी प्रकरणमा साक्षी नोराफतेहीलाई आगामी ६ नोभेम्बरमा उपस्थित हुन आदेश दिएको छ।
- सोमबार उपस्थित नभएपछि विशेष न्यायाधीश गगनदीप सिंहले नोराको व्यवहारप्रति असन्तुष्टि जनाउँदै अदालतलाई हल्का रूपमा नलिनू भनेका छन्।
- दिल्ली प्रहरीले २२ अक्टोबरमै इमेल र ह्वाट्सएपमार्फत सूचना पठाएको र फोन गर्दा पनि जवाफ नआएको जनाएको छ।
बलिउड अभिनेत्री नोरा फतेहीलाई दिल्लीको अदालतले कडा चेतावनी दिएको छ । अभियुक्त सुकेश चन्द्रशेखरसँग जोडिएको २०० करोड भारुको ठगी प्रकरणमा साक्षीका रूपमा बयान दिन बोलाइएकी नोरा अदालतमा उपस्थित नभएपछि न्यायाधीशले उनको व्यवहारप्रति असन्तुष्टि जनाएका हुन् ।
सोमबार दिल्लीको राउज एभेन्यु अदालतमा उपस्थित हुनुपर्ने भए पनि नोरा पुगिनन्। बरु उनका वकिलले व्यक्तिगत उपस्थितिबाट छुट दिन माग गर्दै निवेदन दिएका थिए ।
त्यसपछि विशेष न्यायाधीश गगनदीप सिंहले असन्तुष्टि जनाउँदै भने, ‘उनी साक्षी हुन्। अदालतमा उपस्थित हुनुपर्थ्यो। उनको व्यवहार ठीक छैन। अदालतलाई हल्का रूपमा नलिनू।’
अदालतले नोराका नाममा पुनः समन जारी गर्दै आगामी ६ नोभेम्बरमा उपस्थित हुन निर्देशन दिएको छ।
२२ अक्टोबरमै पठाइएको थियो, सूचना
सुनुवाइका क्रममा दिल्ली प्रहरीले नोरालाई २२ अक्टोबरमै इमेल र ह्वाट्सएपमार्फत आधिकारिक सूचना पठाएको जानकारी दिएको थियो । फोनमार्फत सम्पर्क गर्ने प्रयास गर्दा पनि उनको तर्फबाट जवाफ नआएको प्रहरीको भनाइ थियो।
तर नोराका वकिलले भने २९ अक्टोबरमा मात्रै सूचनाबारे जानकारी पाएको बताएका थिए ।
यस प्रकरणमा नोरालाई अभियुक्तका रूपमा होइन, अभियोजन पक्षको साक्षीका रूपमा बयान दिन बोलाइएको हो।
सुकेशबाट एक करोडभन्दा महँगो कार उपहार
सुकेश चन्द्रशेखरको ठगी प्रकरणको अनुसन्धानका क्रममा नोरा फतेहीको नाम पनि जोडिएको थियो । अनुसन्धानमा सुकेशले नोरालाई महँगो कारसहित विभिन्न उपहार दिएको खुलेको थियो ।
सोधपुछका क्रममा नोरा र सुकेशलाई आमनेसामने राखेर बयानसमेत लिइएको थियो । त्यसक्रममा नोराले एक करोड भारुभन्दा बढी मूल्यको विलासी कार उपहार पाएको स्वीकार गरेकी थिइन् ।
सन् २०२० मा चेन्नईमा आयोजित एक कार्यक्रममा उक्त कार आफूलाई दिइएको उनको भनाइ थियो।
यद्यपि, नोराले आफू यस प्रकरणमा संलग्न नभई पीडित भएको दाबी गर्दै आएकी छन् । यही कारण अनुसन्धानपछि उनलाई अभियोजन पक्षको साक्षी बनाइएको हो।
ज्याकलिन पनि जोडिएकी छन्, सुकेश प्रकरणमा
सुकेशसँग जोडिएको २०० करोड भारुको प्रकरणमा अर्की बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसको नाम पनि आएको थियो । अनुसन्धानका क्रममा सुकेश र ज्याकलिन प्रेम सम्बन्धमा रहेको खुलेको थियो ।
सुकेशले आफूलाई व्यवसायीका रूपमा चिनाउँदै ज्याकलिनसँग सम्बन्ध अघि बढाएको र उनलाई महँगा उपहार दिएको अनुसन्धानमा उल्लेख छ।
ज्याकलिनले भने आफूलाई सुकेशको वास्तविक परिचय र आपराधिक गतिविधिबारे जानकारी नभएको बताउँदै आएकी छिन् ।

तर नोराभन्दा फरक, ईडीले दायर गरेको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा ज्याकलिन अभियुक्त छिन् । उनले उक्त मुद्दामा साक्षी बन्न दिएको निवेदनसमेत अदालतले अस्वीकार गरेको थियो ।
के हो २०० करोड भारुको ठगी प्रकरण ?
यो प्रकरणका मुख्य पात्र हुन्, सुकेश चन्द्रशेखर। उनले आफूलाई कहिले प्रधानमन्त्री कार्यालय त कहिले गृह मन्त्रालयको उच्च अधिकारी बताउँदै पूर्व रेनब्याक्सी प्रवर्द्धक शिविन्दर मोहन सिंहकी पत्नी अदिति सिंहबाट करिब २०० करोड भारु असुलेको आरोप छ।
शिविन्दर जेलमा रहेका बेला सुकेशले उनलाई छुटाइदिने आश्वासन दिँदै अदितिसँग सम्पर्क गरेको अनुसन्धानमा खुलेको थियो । सरकारी अधिकारीको परिचय दिएर जेलभित्रैबाट फोन गर्ने र विभिन्न किस्तामा रकम असुल्ने गरेको आरोप छ।
अगस्ट २०२१ मा अदितिले प्रहरीमा उजुरी दिएपछि यो प्रकरण बाहिर आएको थियो। त्यसपछि दिल्ली प्रहरीको आर्थिक अपराध शाखाले अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानका क्रममा जेलभित्रैबाट ठगीको सञ्जाल सञ्चालन भएको खुलेको थियो । यही प्रकरणमा सुकेशसँग सम्पर्कमा रहेका बलिउड कलाकारहरूको नामसमेत जोडिएपछि यो मुद्दा लामो समयदेखि चर्चामा छ ।
अब नोरा फतेहीले यही सन्दर्भमा आगामी ६ नोभेम्बरमा अदालतमा उपस्थित भएर आफ्नो बयान दिनुपर्नेछ।
प्रतिक्रिया 4