+
+
Shares

राम बनेको भन्दै खिसीट्युरी गर्नेलाई रणवीरको कडा जवाफ, ‘कामले नै जवाफ दिनेछ’

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १७ गते १५:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रणवीर कपूरले ‘रामायण’मा रामको भूमिकालाई लिएर भइरहेको ट्रोलिङबारे ‘कुछ तो लोग कहेंगे, लोगों का काम है कहना’ भन्दै प्रतिक्रिया दिएका छन् ।
  • दसैं कार्यक्रममा उनले ‘अच्छाई की जीत’ भन्न खोज्दा ‘अच्छाई का अन्त’ भनेपछि विवादमा परेका थिए र पछि माफी मागेका थिए ।
  • निर्देशक नितेश तिवारीको ‘रामायण’मा साई पल्लवी सीता र यश रावणको भूमिकामा छन्, र फिल्मलाई भव्य परियोजना भनिएको छ ।

भगवान रामको भूमिकामा रणवीर कपूर !

फिल्म ‘रामायण’मा रणवीर कपूर राम बन्ने खबर सार्वजनिक भएदेखि नै उनको छनोटमाथि प्रश्न उठ्न थाले ।

केहीले रणवीरलाई यो भूमिकामा सुहाउने कलाकार मानेनन् त केहीले उनले रामको चरित्रलाई कसरी पर्दामा उतार्लान् भनेर चासो व्यक्त गरे । फिल्मका प्रचार सामग्री सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा आलोचना र ट्रोलिङ पनि बढ्दै गयो ।

तर, रणवीर भने यस्ता खिसीट्युरीका टिप्पणीबाट विचलित देखिँदैनन् । बरु, उनले आलोचकलाई एउटा पुरानो हिन्दी गीतको सम्झना गराउँदै जवाफ दिएका छन् ।

फिल्म प्रदर्शनको तीन दिनअघि देखि रणवीरले सामाजिक सञ्जालमा भइरहेको ट्रोलिङबारे मुख खोलेका हुन् ।

१८ हजारभन्दा बढी विद्यार्थीसँगको संवादमा उनले किशोर कुमारको चर्चित गीत ‘कुछ तो लोग कहेंगे, लोगों का काम है कहना’ को प्रसंग निकाले ।

उनको भनाइको सोझो अर्थ थियो, ‘मानिसले कुरा काटिरहन्छन् । तर, आफ्नो नियत सही छ र इमानदारीपूर्वक मेहनत गरिएको छ भने अरूको नकारात्मक टिप्पणीमा अल्झिनु हुँदैन । आफ्नो कामलाई बोल्न दिनुपर्छ ।’

रणवीरका अनुसार अन्ततः मानिसको नियत, मेहनत र कामले नै उसको मूल्यांकन गर्छ । त्यसैले, बाहिरको हल्लाभन्दा आफ्नो जिम्मेवारी र काममा ध्यान दिनु महत्त्वपूर्ण हुन्छ ।

रामको भूमिकामै किन भइरहेको छ बहस ?

निर्देशक नितेश तिवारीको निर्देशनमा बनेको ‘रामायण’ घोषणा भएदेखि नै चर्चामा छ । विशेषगरी भगवान् रामको भूमिकामा रणवीर कपूरलाई लिने निर्णयले सामाजिक सञ्जालमा फरक–फरक प्रतिक्रिया जन्मायो ।

केही दर्शकले रणवीरलाई यो भूमिकाका लागि उपयुक्त मानेनन् । उनीहरूको प्रश्न थियो, ‘रामजस्तो आदर्श र मर्यादित पात्रलाई रणवीरले पर्दामा कसरी उतार्लान् ?’

फिल्मका प्रचार सामग्री सार्वजनिक भएपछि पनि बहस रोकिएन । कतिपयले दृश्य र दृश्य प्रभावको आलोचना गरे भने कतिपयले कलाकारको छनोटलाई लिएर टिप्पणी गरिरहे ।

यद्यपि, रणवीरले यस्ता प्रतिक्रियालाई आफ्नो काममा बाधा बन्न नदिने संकेत गरेका छन् ।

चिप्लिएको बोलीले गर्दा लफडा

फिल्मको प्रचारका क्रममा रणवीर आफैंले गरेको एउटा गल्तीका कारण पनि विवादमा तानिएका थिए ।

दसैंको एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले ‘अच्छाई की जीत’ अर्थात् असलको जित भन्नुपर्ने ठाउँमा झुक्किएर ‘अच्छाई का अन्त’ अर्थात् राम्रो कुराको अन्त्य भनेका थिए ।

उनको यो अभिव्यक्तिको भिडियो सामाजिक सञ्जालमा फैलियो । त्यसपछि उनीमाथि व्यापक टिप्पणी र ट्रोलिङ भयो । पछि रणवीरले आफ्नो गल्ती स्वीकार गर्दै सार्वजनिक रूपमै माफी मागेका थिए ।

‘अवतार’ र ‘लर्ड अफ द रिङ्स’सँग तुलना

‘रामायण’को चर्चा कलाकारको छनोटमा मात्र सीमित छैन । यसको निर्माण शैली, दृश्य प्रभाव र भव्यताका कारण पनि फिल्मले अन्तर्राष्ट्रिय स्तरमा ध्यान खिचिरहेको छ ।

निर्माण पक्षले यसलाई ‘लर्ड अफ द रिङ्स’ र ‘अवतार’जस्ता ठूला अन्तर्राष्ट्रिय फिल्म शृंखलाको स्तरमा तयार गर्ने लक्ष्य राखेको छ । फिल्ममा दृश्य प्रभाव र भव्य सेट निर्माणमा ठूलो लगानी गरिएको बताइएको छ ।

यसलाई भारतीय सिनेमाका महँगो र महत्त्वाकांक्षी परियोजनामध्ये एक मानिएको छ ।

सीताको भूमिकामा साई पल्लवी, रावणमा यश

फिल्ममा रणवीर रामको भूमिकामा छन् भने साई पल्लवी सीताको भूमिकामा देखिनेछिन् । दक्षिण भारतीय अभिनेता यशले रावणको भूमिका निर्वाह गरेका छन् ।

त्यस्तै, सनी देओल हनुमान, अरुण गोविल र लारा दत्तासहितका कलाकार पनि फिल्ममा देखिनेछन् ।

रवि दुबे, कुणाल कपूर, काजल अग्रवाल, रकुल प्रीत सिंह, विवेक ओबेरोयलगायत कलाकारको पनि महत्त्वपूर्ण भूमिका रहेको छ ।

अब रणवीरको जवाफले ट्रोलिङ रोकिएला वा नरोकिएला, त्यो आफ्नो ठाउँमा छ । तर, रामको भूमिकामा उनलाई दर्शकले कति स्वीकार गर्छन् भन्ने कुराको वास्तविक परीक्षा भने फिल्म प्रदर्शनपछि नै हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?