+
+
Shares

सुन-चाँदीका सिक्का किन्नेहरूको भिड

नेपाल राष्ट्र बैंकबाट सुन-चाँदीका सिक्का किन्नेहरुको भिड लागेको छ । सिक्का किन्न चाहनेहरूको बबरमहलस्थित टक्सार महाशाखा अगाडि लामो लाइन छ ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ कात्तिक १९ गते ११:४३

१९ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकबाट सुन-चाँदीका सिक्का किन्नेहरुको भिड लागेको छ । सिक्का किन्न चाहनेहरूको बबरमहलस्थित टक्सार महाशाखा अगाडि लामो लाइन छ ।

राष्ट्र बैंकले तिहारलाई लक्षित गरी आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सुन–चाँदीका सिक्का बिक्री सुरु गर्दैछ । खरिद–बिक्रीको काम आज र भोलि दुई दिनसम्म हुने छ ।

तिहारमा सुन–चाँदीका सिक्का वा धातु खरिद गर्दा शुभ हुने धार्मिक विश्वासका साथ राष्ट्र बैंकबाट सिक्का खरिद गरी लक्ष्मीको रुपमा पूजा गर्ने प्रचलन छ । राष्ट्र बैंकबाट बिक्री हुने सुन-चाँदीका सिक्कामा शुद्धता प्रतिशत बढी हुने विश्वासले पनि उपभोक्ताहरु खरिदका लागि पुग्ने गर्दछन् ।

गत वर्ष राष्ट्र बैंकले सुन अभाव भएको भन्दै चाँदीका सिक्का मात्रै बिक्री गरेको थियो । यस वर्ष भने वाणिज्य बैंकबाट ३५ किलो सुन खरिद गरी असर्फी पनि बिक्री थालेको छ ।

एक व्यक्तिले २.५ ग्राम तौलको एउटा सुनको असर्फी र १० ग्राम तौलका ३ वटासम्म चाँदीका सिक्का खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

सुन-चाँदीको मूल्य वृद्धि

असर्फी र चाँदीको सिक्का (मेडालियन)को मूल्य सुन–चाँदीको सोही दिनको मूल्यका आधारमा तय हुन्छ । आज सुनको मूल्य तोलामा १३ हजार ३ सय रुपैयाँ बढेर प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँ पुगेको छ ।

यसैगरी चाँदी पनि तोलामा २६५ रुपैयाँ बढेर ३ हजार ९२० रुपैयाँ पुगेको छ । यो मूल्यमा सिक्का उत्पादनमा लागेको खर्चसमेत जोडेर राष्ट्र बैंकले बिक्री गर्दछ ।

सिक्का खरिद गर्न चाहनेहरुलाई नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर खुलेको अन्य प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुन राष्ट्र बैंकले भनेको छ । खरिदकर्ताले नगद वा क्युआरमार्फत भुक्तानी गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?