+
+
Shares

बिहे अनिरुद्ध रविचन्दर र काव्या मारनको, चर्चा रजनीकान्तको

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २६ गते १४:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिण भारतीय संगीतकार अनिरुद्ध रविचन्दर र आईपीएलसँग जोडिएकी काव्या मारनले ग्रीसमा भव्य विवाह गरेका छन् ।
  • विवाह समारोहमा रजनीकान्त र तमिलनाडुका पूर्वमुख्यमन्त्री एमके स्टालिन पहिलो पङ्क्तिमा सहभागी भएका थिए ।
  • अनिरुद्ध र काव्याको विवाह नोभेम्बर १० र ११ मा समुद्र किनारको मण्डपमा परिवार र सीमित पाहुनाबीच सम्पन्न भएको थियो ।

दक्षिण भारतीय संगीतका चर्चित संगीतकार अनिरुद्ध रविचन्दर र आईपीएलसँग जोडिएकी काव्या मारन विवाह बन्धनमा बाँधिएका छन् । ग्रीसमा सम्पन्न उनीहरूको भव्य विवाहका तस्बिरहरू अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेका छन् ।

विवाह समारोहमा दक्षिण भारतीय सिनेमाका सुपरस्टार रजनीकान्त र तमिलनाडुका पूर्वमुख्यमन्त्री एमके स्टालिन पनि सहभागी थिए । विवाहका तस्बिर सार्वजनिक भएपछि धेरैको ध्यान बेहुला र बेहुलीभन्दा अगाडिको पङ्क्तिमा बसेका यी दुई चर्चित व्यक्तित्वतर्फ गएको छ ।

कोहीले अनिरुद्ध र काव्याको जोडीको प्रशंसा गरेका छन् भने कोहीले रजनीकान्त र स्टालिनको उपस्थितिलाई विशेष चासोका साथ हेरेका छन् ।

विवाह समारोहमा अनिरुद्ध बेहुलाका रूपमा मण्डपतर्फ अघि बढ्दै गर्दा क्यामेराको ध्यान उनीसँगै पहिलो पङ्क्तिमा बसेका दुई व्यक्तित्वतर्फ पनि थियो । एकातिर सुपरस्टार रजनीकान्त थिए भने अर्कोतिर तमिलनाडुका पूर्वमुख्यमन्त्री एमके स्टालिन ।

रजनीकान्त बेज रङको सर्ट र धोतीमा चस्मा लगाएर मुस्कुराउँदै ताली बजाइरहेका देखिन्थे । त्यस्तै, स्टालिन पनि अगाडिको पङ्क्तिमा बसेर विवाह समारोहमा सहभागी भएका थिए ।

रजनीकान्त र स्टालिनसँग के छ पारिवारिक सम्बन्ध ?

अनिरुद्धसँग रजनीकान्तको पारिवारिक सम्बन्ध छ । अनिरुद्धका पिता अभिनेता रवि राघवेन्द्रले रजनीकान्तकी पत्नी लता रजनीकान्तकी बहिनी लक्ष्मीसँग विवाह गरेका हुन् । यही सम्बन्धका कारण रजनीकान्त अनिरुद्धका मामा हुन् ।

त्यस्तै, बेहुली काव्या मारनको परिवारसँग एमके स्टालिनको पनि पारिवारिक सम्बन्ध छ । काव्या सन ग्रुपका अध्यक्ष कलानिधि मारनकी छोरी हुन् । कलानिधि मारन दिवंगत केन्द्रीय मन्त्री मुरासोली मारनका छोरा हुन् । मुरासोली मारन द्रविड मुनेत्र कषगम (डीएमके) का चर्चित नेता एम. करुणानिधिका भतिजा थिए ।

कलानिधि मारन र एमके स्टालिन आपसमा काकाका छोरा हुन् । यही नाताले स्टालिन काव्याका हजुरबुबा पुस्ताका आफन्त पर्छन् ।

अनिरुद्ध र काव्याको विवाहसम्बन्धी कार्यक्रम नोभेम्बर १० र ११ मा ग्रीसमा आयोजना गरिएको थियो । नोभेम्बर १० मा परम्परागत इन्गेजमेन्ट समारोह भएको थियो भने नोभेम्बर ११ बुधबार उनीहरूले पारिवारिक सदस्य र सीमित पाहुनाको उपस्थितिमा विवाह गरेका थिए ।

समुद्र किनारमा सेतो र क्रिम रङका फूलहरूले सजाइएको मण्डपमा विवाह समारोह आयोजना गरिएको थियो । बेहुला अनिरुद्धले आइभोरी रङको कुर्ता र धोतीमाथि बुट्टेदार ज्याकेट लगाएका थिए । बेहुली काव्या भने हल्का गुलाबी रङको चम्किलो लेहेंगामा सजिएकी थिइन् ।

विवाहका तस्बिरमा अनिरुद्ध र काव्यासँगै रजनीकान्त, एमके स्टालिन, उदयनिधि स्टालिन तथा दुवै परिवारका सदस्यहरू पनि देखिएका छन् ।

को हुन् अनिरुद्ध र काव्या ?

अनिरुद्ध रविचन्दर दक्षिण भारतीय फिल्मका चर्चित संगीतकार तथा संगीत निर्देशक हुन् । उनले थुप्रै लोकप्रिय चलचित्रमा संगीत दिएका छन्।

त्यस्तै, काव्या मारन आईपीएल टोली सनराइजर्स हैदराबादकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । उनी सन ग्रुपका अध्यक्ष कलानिधि मारनकी छोरी पनि हुन्।

संगीत र खेलकुद क्षेत्रसँग जोडिएका दुई चर्चित परिवारबीचको यो विवाह अहिले दक्षिण भारतीय मनोरञ्जन जगत्मा चर्चाको विषय बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?