+
+
Shares

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मंसिर पहिलो सातादेखि सञ्चालनमा ल्याउने तयारी

पुल निर्माण सम्पन्न गरी मंसिर पहिलो सातादेखि सञ्चालनमा आउने निर्देशनालयका निर्देशक महतोले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २७ गते ११:३४

२७ कात्तिक, जनकपुरधाम । डेढ दशकदेखि रुग्न हुलाकी सडक अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । पुल निर्माण तथा मर्मत सकेर एक्सपान्सन जोड्ने काम अन्तिम चरणमा पुगेको हुलाकी सडक निर्देशनालय जनकपुरका प्रमुख कृष्णकुमार महतोले जानकारी दिए ।

उनका अनुसार पुलको दुवै तर्फ माटो हालेर बाटो बनाउने, बाँध बाँध्ने र पुलमा रेलिंग लगाउने काम भइरहेको छ । भौतिक पूर्वाधार मन्त्रालयको विशेष चासोमा पुल सञ्चालनको लागि तीव्र गतिमा काम जारी छ ।

गत ११ कात्तिकमा अनलाइनखबरले पुलमा राजनीति भन्ने शीर्षकमा समाचार प्रकाशन गरेपछि मन्त्रालयले विशेष चासो दिएको थियो । मन्त्री सुनिल लम्सालले सोही दिन राति सामाजिक सञ्जाल मार्फत पोस्ट गरी मंसिर पहिलो साता सञ्चालनमा आउने दाबी गरेका थिए । त्यस यता काममा गति दिइएको छ ।

पुल निर्माण सम्पन्न गरी मंसिर पहिलो सातादेखि सञ्चालनमा आउने निर्देशनालयका निर्देशक महतोले बताए ।

‘पुल निर्माणको काम अन्तिम चरणमा छ । एक्सपान्सन ज्वाइन्टको काम हुँदै छ । रेलिंग लगाउने, दुवै तर्फ माटो पुरेर बाटो बनाउने र बाँध बाँध्ने काम जारी छ । मंसिर पहिलो सातादेखि पुल सञ्चालनमा आउँछ,’ उनले भने ।

डेढदशकदेखि पुल अलपत्र हुँदा मधेशको लाइफलाइन हुलाकी राजमार्ग भएर आवतजावत गर्ने दैनिक हजारौं नागरिकले सास्ती भोग्दै आएका छन् ।

२०६८ सालमै पप्पु कन्स्ट्रक्सनले ४२ महिनाभित्रै निर्माण सम्पन्न गर्ने गरी २४ करोड ९१ लाख रुपैयाँमा ठेक्का पाएको पुल अलपत्र परेपछि २०७८ असार १३ गते ४७० मिटर लम्बाइको पुल निर्माण सम्पन्न गर्ने गरी लुम्बिनी बिल्डर्सलाई ठेक्का दिइयो । पुल निर्माण करिब–करिब सम्पन्न भएर सञ्चालनको तयारीमा रहेका बेला २०७८ असार १७ गते अविरल वर्षासँगै आएको बाढीले पुल भासिएको थियो ।

चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार मन्त्रालयले पुल निर्माणसँगै कमला नदी नियन्त्रणका लागि २५ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको छ । पुल निर्माण निर्माण भएपनि यसको दीर्घकालिन टिकाउमाथि शंका रहेको छ । किन भने गलत तरिकाले गरिएको डिजाइन र गुणस्तरहीन निर्माण सामग्रीको प्रयोगका कारण पुल सञ्चालनमा नआउँदै भासिएको प्राविधिकहरूको बुझाइ छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो पुलको डिजाइन नै बलान नदीको पुलको डिजाइन नक्कल गरी निर्माण गरिएको निष्कर्ष निकालेपनि अलपत्र पुललाई सञ्चालनमा ल्याउन मुद्दा तत्कालका लागि थाती राखेको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?