+
+
Shares

अतिक्रमित सरकारी जग्गा खाली गराउन गौशालाका मेयरले लेखे प्रधानमन्त्रीलाई पत्र

विजय कुमार सिंह विजय कुमार सिंह
२०८३ कात्तिक २८ गते १७:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गौशाला नगरपालिकाले गौशाला बजारस्थित सरकारी जग्गा खाली गराउन आवश्यक सुरक्षा प्रबन्ध मिलाइदिन प्रधानमन्त्री बालेन शाहलाई पत्र लेखेको छ ।
  • नगरप्रमुख डा. दिपेन्द्र महतोका अनुसार कित्ता नम्बर ११५ मा ५ बिघा ३ कठ्ठा ८ धुर सरकारी जग्गा अतिक्रमण गरी ४२ घर बनेका छन् ।
  • नगरपालिकाले बाल उद्यान र हाटबजार निर्माणको योजना अघि सारेको छ, र सुरक्षा पाए २४ घण्टाभित्र जग्गा खाली हुने नगरप्रमुखले बताएका छन् ।

२८ कात्तिक, महोत्तरी । महोत्तरीको गौशाला बजारस्थित अतिक्रमित सरकारी जग्गा खाली गराउन नगरपालिकाले आवश्यक सुरक्षा व्यवस्थाको माग गर्दै प्रधानमन्त्री बालेन शाहलाई पत्र लेखेको छ ।

गौशाला नगरपालिकाका प्रमुख डा. दिपेन्द्र महतोले शुक्रबार प्रधानमन्त्री शाहलाई पत्र लेख्दै गौशाला बजारस्थित सरकारी जग्गा खाली गराउने कार्यका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाइदिन आग्रह गरेका हुन् ।

सुरक्षा व्यवस्थाका लागि प्रहरी महानिरीक्षकदेखि गृहमन्त्रालय, प्रधानमन्त्री कार्यालयसम्म पुगेर आग्रह गर्दा पनि आवश्यक बन्दोबस्त नभएपछि बाध्य भएर प्रधानमन्त्रीलाई पत्र लेख्नुपरेको नगरप्रमुख डा. महतोले बताए ।

अतिक्रमण हटाउन पटक–पटक सूचना जारी गर्दा पनि जग्गा खाली नभएको र अदालतबाट समेत अतिक्रमणकारीको पक्षमा परेका रिट खारेज भइसकेको अवस्थामा सरकारी जग्गामा भएको अतिक्रमण हटाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाइदिन आग्रह गर्दै आएको उनको भनाइ छ ।

नगर प्रमुख महतोका अनुसार कित्ता नम्बर ११५ मा ४२ वटा घर रहेका छन् । तीमध्ये दुई घर सुकुमवासी परिवारका हुन् । उनीहरूको अवस्था पनि राम्रो रहेको उल्लेख गर्दै उनले नगरपालिकाले अहिले बसोबास गरिरहेको अवस्थाभन्दा राम्रो आवासको व्यवस्था गरिदिने प्रस्तावसमेत गरेको बताए ।

‘४२ घरमध्येदुई घर सुकुमवासीका छन् । उहाँहरूको अवस्था पनि राम्रो छ । तैपनि हामीले नगरपालिकाबाट अहिलेको भन्दा राम्रो बासको व्यवस्था गरिदिन्छौँ भनेका छौं,’ नगरप्रमुख डा. महतोले भने ।

उनका अनुसार साविक शिवभक्तिखोर गाविस–१ स्थित कित्ता नम्बर ११५ को पाँच बिघा तीन कठ्ठा आठ धुर जग्गा नेपाल सरकारको नाममा दर्ता छ । उक्त जग्गामा लामो समयदेखि विभिन्न व्यक्तिले अतिक्रमण गरी घरटहरा निर्माण गरेर बसोबास गर्दै आएका छन् ।

नगरपालिकाले पटक–पटक सार्वजनिक सूचना जारी गरी अतिक्रमित जग्गा खाली गर्न आग्रह गरे पनि सम्बन्धित व्यक्तिहरूले अटेर गर्दै आएको जनाएको छ । नगरपालिकाले उक्त जग्गा खाली गराएर बाल उद्यान निर्माण तथा हाटबजार व्यवस्थापन गर्ने योजना अघि सारेको नगरप्रमुख डा. महतोले बताए ।

जग्गा आफ्नो नाममा कायम गराउन अतिक्रमण गरी बसेका व्यक्तिहरूले सर्वोच्च अदालत र उच्च अदालत जनकपुरधाममा मुद्दासमेत दायर गरेका थिए । सर्वोच्च अदालतमा दायर मुद्दामा यसअघि नै रिट खारेज भएको थियो भने उच्च अदालत जनकपुरधाममा दायर उत्प्रेषण मिश्रित प्रतिषेध रिट पनि खारेज भएको छ ।

यसअघि गत चैतमा पनि सोही कित्तामा सार्वजनिक जग्गा अतिक्रमण गरी पक्की घर निर्माण भइरहेको उजुरीपछि गौशाला नगरपालिकाले संरचना हटाउने प्रयास गरेको थियो । निर्माण सामग्री नहटाएपछि सुरक्षा निकायको सहयोगमा निर्माणाधीन संरचना भत्काइएको थियो । तर, जग्गा खाली गराउने विषय भने अझै टुंगिएको छैन ।

उक्त खाली गराउने नगरपालिकाको तयारीविरुद्ध गत जेठमा अतिक्रमण गरी बसेका स्थानीयले संघर्ष समितिसमेत गठन गरेका थिए । उनीहरुले आफूहरू लामो समयदेखि उक्त क्षेत्रमा बसोबास गर्दै आएको भन्दै वैकल्पिक व्यवस्था नगरी घरटहरा हटाउन नहुने माग राखेका थिए । त्यसक्रममा गौशाला बजार बन्द गरी विरोध प्रदर्शनसमेत गरिएको थियो ।

अदालतबाट रिट खारेज भइसकेपछि अतिक्रमण हटाएर जग्गा खाली गराउने प्रक्रिया अघि बढाउन नगरपालिकाले विभिन्न सरकारी निकायसँग सुरक्षा सहयोग माग्दै आएको छ ।

‘सरकारी जग्गा खाली गराउन समाननीय प्रधानमन्त्रीज्यू काठमाडौंको मेयर हुँदाकै अवस्थादेखि सक्रिय हुनुहुन्छ । उहाँले सुरक्षा व्यवस्थाका लागि आवश्यक निर्देशन गर्नुहुन्छ भन्ने हामीलाई पूर्ण विश्वास छ,’ नगरप्रमुख डा. महतोले भने ‘सुरक्षा व्यवस्था उपलब्ध भएको २४ घण्टाभित्र अतिक्रमित जग्गा खाली हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?