+
+
Shares

कपाल राम्रो र स्वस्थ राख्न हप्तामा कति पटक स्याम्पूले धुने ?

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २९ गते ११:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चिल्लो र पातलो कपाल हप्तामा तीन पटकसम्म धुन सकिन्छ भने सामान्य वा सुख्खा कपाल हप्तामा दुईदेखि तीन पटक धुन पर्याप्त हुन्छ।

कपाललाई हाम्रो शरीरको शोभा मानिन्छ । कपालले लुक्समा धेरै प्रभाव पार्ने गर्छ । कपाललाई स्वस्थ र राम्रो बनाइराख्न कति दिनको अन्तरालमा धुने भन्ने प्रश्न धेरैको मनमा उठ्ने गर्छ । कपाल धुने तरिका सही नभएमा फाइदाभन्दा बढी नोक्सान हुन सक्छ । कहिलेकाहीँ धेरै छिटोछिटो कपाल धुँदा त्यसमा रहेको प्राकृतिक तेल हट्न सक्छ भने लामो समयसम्म नधुँदा कपालमा तेल र फोहोर जमेर कपाल रुखो र नराम्रो देखिन सक्छ ।

त्यसैले कपाल सफा देखिनुका साथै त्यसको प्राकृतिक चमक र बाक्लोपन कायम राख्न हप्तामा कति पटक स्याम्पू गर्नुपर्छ भन्ने कुरा जान्नु आवश्यक छ।

हप्तामा कति पटक कपाल धुने ?

हप्तामा कति पटक कपाल धुने भन्ने कुरा टाउकोको छाला र कपालको प्रकारमा निर्भर गर्छ । सबैभन्दा पहिले आफ्नो टाउकोको छाला धेरै चिल्लो छ कि सुख्खा छ वा सामान्य अवस्थामा छ भन्ने बुझ्नुपर्छ।

त्यसैगरी, कपालको बनावट पनि हेर्नुपर्छ । कपाल पातलो छ कि बाक्लो, सिधा छ कि घुम्रिएको भन्ने कुराले पनि कपाल धुने समय निर्धारण गर्छ । कपालमा रङ लगाइएको छ भने त्यसले पनि कपाल धुने अन्तराललाई प्रभावित पार्न सक्छ।

चिल्लो र पातलो कपाल

यदि कपाल धेरै चिल्लो छ र पातलो पनि छ भने हप्तामा तीन पटकसम्म धुन सकिन्छ।

सामान्य वा सुख्खा कपाल

सामान्य वा सुख्खा कपाल भएका व्यक्तिका लागि हप्तामा दुईदेखि तीन पटक धुनु पर्याप्त हुन्छ।

फुस्रो, लहरिएको वा रङ लगाइएको कपाल

फुस्रो, लहरिएको र रङ लगाइएको कपाललाई हप्तामा एकदेखि दुई पटक धुन सकिन्छ । तर, बीचमा कपाल फोहोर भएमा वा आवश्यक महसुस भएमा धुन सकिन्छ।

के हरेक दिन कपाल धुनुपर्छ ?

यदि तपाईं नियमित व्यायाम गर्नुहुन्छ वा तपाईंको कपाल अत्यधिक चिल्लो हुन्छ भने दैनिक कपाल धुन सकिन्छ । पसिना धेरै आउने अवस्थामा पनि कपाल र टाउकोको छाला सफा राख्न आवश्यक हुन सक्छ । तर, सामान्य अवस्थामा भने हरेक दिन कपाल धुनु आवश्यक हुँदैन ।

हरेक दिन स्याम्पू लगाउँदा के हुन्छ ?

स्याम्पूको मुख्य काम कपालमा जमेको फोहोर, अतिरिक्त तेल र अन्य पदार्थ हटाउनु हो । तर, कुनै आवश्यकता नभई हरेक दिन सफा कपालमा समेत स्याम्पू लगाउनु उपयुक्त हुँदैन । यसो गर्दा टाउकोको छालामा रहेको प्राकृतिक तेल पनि हट्न सक्छ ।

यसले कपाललाई सुख्खा र खस्रो बनाउनुका साथै फुस्रो बनाउन सक्छ । कपालको प्राकृतिक चिल्लोपन र चमकसमेत कम हुन सक्छ।

लामो समयसम्म स्याम्पू नलगाउँदा के हुन्छ ?

लामो समयसम्म स्याम्पू लगाएर कपाल नधुँदा टाउकोको छालामा फोहोर र अन्य पदार्थ जम्न सक्छन् । पसिना र तेल जम्मा हुन थाल्छ । त्यस्तै, वायु प्रदूषणका सूक्ष्म कण पनि कपालमा टाँसिन सक्छन्।

यसले टाउकोको छालामा फोहोरको तह जम्ने, कपाल चिपचिपे हुने र कपालको स्वास्थ्यमा असर पर्ने समस्या निम्त्याउन सक्छ । लामो समयसम्म सफाइमा ध्यान नदिँदा कपाल बिग्रन पनि सक्छ ।

कपालको अवस्था हेरेर धुने

सरल भाषामा भन्नुपर्दा, आफ्नो कपालको अवस्था हेरेर कति पटक धुने भन्ने निर्णय गर्नुपर्छ । कपाल सुख्खा छ भने हप्तामा दुई पटक र धेरै चिल्लो छ भने तीनदेखि चार पटकसम्म धुन सकिन्छ । कपाल फोहोर वा चिपचिपे देखिन थालेमा तोकिएको समय कुर्नुपर्दैन । आवश्यकताअनुसार बीचमा पनि कपाल धुन सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?