+
+
Shares

विदेशमा जन्मिएका सन्तानले आमाको नामबाट नागरिकता लिँदा स्वघोषणा गर्नुपर्ने

आमाले आफ्नो नागरिकता प्रमाणपत्र नम्बर, जारी जिल्ला, जारी मिति र राष्ट्रिय परिचय नम्बरसमेत खुलाउनुपर्नेछ । आमा र सन्तान दुवैले गरेको स्वघोषणा सत्य भएको र झुटो ठहरे कानुनबमोजिम सहने वा बुझाउने प्रतिबद्धता जनाउनुपर्नेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २९ गते १४:५८
एआईको सहयोगका निर्मित प्रतीकात्मक तस्वीर

२९ कात्तिक, काठमाडौं । विदेशमा जन्मिएका र बाबुको पहिचान नभएका नेपाली आमाका सन्तानले नागरिकता पाउन स्वघोषणा गर्नुपर्ने कानुनी व्यवस्था कार्यान्वयनमा आएको छ ।

यसका लागि आवश्यक स्वघोषणाको ढाँचा हालै संशोधित नेपाल नागरिकता नियमावलीमा समेटिएको छ ।

नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा स्थायी बसोबास गरेको विदेशको नागरिकता वा राहदानी नलिएको व्यक्ति र निजको आमाले गर्ने स्वघोषणासहितको संशोधित नियमावली गृह मन्त्रालयले सार्वजनिक गरेको छ ।

ढाँचामा भनिएको छ, ‘…नेपाल नागरिकता ऐन, २०६३ को दफा ५ को उपदफा (५ख) बमोजिम नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा स्थायी बसोबास गरेको, विदेशको नागरिकता वा राहदानी नलिएको र हालसम्म बाबुको पहिचान नभएको बेहोरा स्वघोषणा गर्दछु ।’

नागरिकता ऐन, २०६३ को दफा ५ मा अंगीकृत नागरिकता सम्बन्धी व्यवस्था छ । दफा ५ को उपदफा (५ख) मा विदेशमा जन्मिएका र बाबुको पहिचान नभएका नेपाली आमाका सन्तानले नागरिकता पाउने व्यवस्था छ ।

जहाँ भनिएको छ, ‘नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा स्थायी बसोबास गरेको, विदेशको नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको व्यक्ति र निजको आमाले तोकिएबमोजिम स्वघोषणा गरेमा अंगीकृत नेपाली ती नागरिकता नागरिकता प्राप्त गर्न सक्नेछ ।’

यही व्यवस्था कार्यान्वयन गर्ने गरी सरकारले पाचौं पटक नेपाल नागरिकता नियमावली संशोधन गरेको हो ।

नागरिकता नियमावली पाँचौँ संशोधन २०८३ ले यस्तो नागरिकता लिन आवश्यक स्वघोषणाको ढाँचा अनुसूची (७ग) मा समावेश गरेको हो ।

यसअघि नेपाल नागरिकता ऐन, २०६३ को दफा ५ को उपदफा (५ख) मा नै यस्तो नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था थियो । तर आवश्यक स्वघोषणाको औपचारिक ढाँचा स्पष्ट थिएन ।

नियमावलीमा भएको संशोधनसँगै सम्बन्धित व्यक्तिले आफू नेपाली नागरिक आमाबाट विदेशमा जन्मिएको, नेपालमा स्थायी बसोबास गर्दै आएको, विदेशी मुलुकको नागरिकता वा राहदानी नलिएको र हालसम्म बाबुको पहिचान नभएको व्यहोरा स्वघोषणा गरेपछि नागरिकता लिने प्रक्रिया थप अगाडि बढ्नेछ ।

स्वघोषणा गर्ने व्यक्तिले आफ्नो नाम, थर, जन्ममिति, दस्तखत र मिति खुलाउनुपर्नेछ । त्यसमा दायाँ र बायाँ औँठाछापसमेत लगाउनुपर्ने व्यवस्था छ । स्वघोषणा गराउने अधिकृतले पनि आफ्नो नाम, पद, दस्तखत र मिति उल्लेख गर्नुपर्नेछ ।

नियमावलीले स्वघोषणाको ढाँचा मात्रै होइन, त्यसलाई गराउने आधिकारिक प्रक्रियासमेत स्पष्ट गरेको छ । अनुसूची (७ग) नियम ७ को उपनियम (१ख) को खण्ड (ङ) सँग सम्बन्धित छ ।

नियमावलीले आमाको स्वघोषणाका लागि पनि छुट्टै ढाँचा राखेको छ ।

आमाले आफ्नो सन्तान नेपाली नागरिक आमाबाट विदेशमा जन्मिएको, नेपालमा स्थायी बसोबास गरेको, विदेशी नागरिकता वा राहदानी नलिएको र सन्तानको बाबु हालसम्म पहिचान हुन नसकेको बेहोरा स्वघोषणा गर्नुपर्नेछ ।

आमाले आफ्नो नागरिकता प्रमाणपत्र नम्बर, जारी जिल्ला, जारी मिति र राष्ट्रिय परिचय नम्बरसमेत खुलाउनुपर्नेछ ।

आमा र सन्तान दुवैले गरेको स्वघोषणा सत्य भएको र झुटो ठहरे कानुनबमोजिम सहने वा बुझाउने प्रतिबद्धता जनाउनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?