News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले १५औं महाधिवेशनमा सहभागी नभएका पूर्णबहादुर खड्का र डा. शेखर कोइरालाका लागि सानेपास्थित पार्टी कार्यालयमा छुट्टै कोठा व्यवस्था गरेको छ।
- सभापति गगनकुमार थापाले पूर्वउपसभापति खड्का र नेता कोइरालाका लागि वरिष्ठ नेताको हैसियतमा प्रयोग गर्न कार्यकक्ष राख्न लगाएका हुन्।
- उपसभापति मधु आचार्यले छुट्टै कार्यकक्ष अझै तयार नभएको भन्दै पार्टी एकता कायम राखेर अघि बढ्ने प्रयास भइरहेको बताए।
३० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशनमा सहभागी नभएका नेताद्वय पूर्णबहादुर खड्का र डा. शेखर कोइरालाका लागि छुट्टै कोठाको व्यवस्था गरेको छ ।
सभापति गगनकुमार थापाले पूर्वउपसभापति खड्का र नेता कोइरालाका लागि सानेपास्थित पार्टी कार्यालयमा छुट्टै कोठाको व्यवस्था गर्न लगाएका हुन् ।
स्रोतका अनुसार नेताद्वय खड्का र कोइरालालाई वरिष्ठ नेताको हैसियतमा प्रयोग गर्नेगरी कांग्रेसले कार्यालयमा छुट्टै कोठाको व्यवस्था गरेको हो । उनीहरूका लागि उपसभापति मधु आचार्यको कार्यकक्ष अगाडि दुईवटा छुट्टा–छुट्टै कार्यकक्ष तयार गरिएको स्रोतको भनाइ छ ।
ती कोठाहरू दुई जना सहमहामन्त्रीहरूले आफ्नो कार्यकक्ष बनाउन इच्छा देखाए पनि कार्यावहक मुख्यसचिव कृष्णप्रसाद दुलालले नेताद्वय खड्का र कोइरालाका लागि राखिएको जवाफ दिएको स्रोतको भनाइ छ ।
‘सहमहामन्त्रीहरूले आफ्नो कार्यकक्ष बनाउन इच्छा देखाउनुभएको थियो । तर, मुख्यसचिव (कार्यवाहक) ले सभापतिज्यूले नेताहरूका लागि राख्न लगाएको भन्नु भएछ,’ स्रोतले भने ।
यसअघि ती कोठाहरू १४औं महाधिवेशनबाट निर्वाचित सहमहामन्त्रीहरूले प्रयोग गर्दै आएका थिए । १५औं महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित एक नेताले पूर्वउपसभापति खड्का र नेता कोइरालाका लागि कार्यकक्ष तयार पारिएको पुष्टि गरे ।
‘पार्टी कार्यालयमा पार्टीका पुराना शीर्ष नेताहरूका लागि छुट्टै कोठाको व्यवस्था गरिएको छ,’ ती सहमहामन्त्रीले भने, ‘पार्टीका वरिष्ठ नेताहरू कार्यालय आउँदा प्रयोग गर्न सकून् भनेर कोठाहरू छुट्याइएको हो ।’
अघिल्लो कार्यकालमा सहमहामन्त्रीहरूले प्रयोग गरेका कार्यकक्षहरू शीर्ष नेताका लागि छुट्टयाइएको ती सहमहामन्त्रीको भनाइ छ । उनका अनुसार, सहमहामन्त्रीहरूका लागि यसअघि लाइब्रेरी रहेको हलमा कार्यकक्ष बनाइएको छ ।
‘सहमहामन्त्रीहरूका लागि लाइब्रेरी हलमा व्यवस्था गरिएको छ,’ उनले भने, ‘सहमहामन्त्रीहरूका लागि नयाँ ठाउँ व्यवस्थापन भएपछि यसअघिका सहमहामन्त्रीहरूले प्रयोग गर्दै आएका कोठाहरू अहिले पार्टीका वरिष्ठ नेताहरूका लागि राखिएको हो ।’
अर्का सहमहामन्त्रीले पनि नेताद्वय खड्का र कोइरालाका लागि छुट्टाछुट्टै कार्यकक्षका लागि कोठा छुट्टयाइएको बताए ।
पार्टीका पुराना शीर्ष नेताहरूको सहजताका लागि पनि कार्यालयमा कोठाहरूको व्यवस्था गरिएको उनले बताए । ‘उहाँहरू जुनसुकै बेला कार्यालय आउँदा ती कोठाहरू प्रयोग गर्न सक्नुहुन्छ,’ ती सहमहामन्त्रीले भने ।
तर, उपसभापति मधु आचार्यले भने छुट्टै कार्यकक्ष नै तयार भइनसकेको प्रतिक्रिया दिए ।
पार्टीभित्र एकता कायम गर्दै सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको उल्लेख गर्दै उनले कार्यकक्ष व्यवस्थापनलाई प्राविधिक विषयका रूपमा व्याख्या गरे ।
‘राजनीतिक रूपमा एउटा सहमति बनेपछि कार्यकक्षको कुरा त निमेषभरमै तयार भइहाल्छ,’ उपसभापति आचार्यले भने, ‘उहाँहरूका लागि हामी बसेको ठाउँ छोडेर पनि स्वागत गर्छौं । त्यसकारण उहाँहरूका लागि ठाउँ तयार पार्न हामी जहिल्यै पनि तयारी अवस्थामा छौं ।’
उपसभापति आचार्यले पूर्वउपसभापति खड्का र नेता कोइरालासँग संवाद अघि बढिरहेको पनि बताए । ‘राजनीतिक रूपमा पार्टी एकता बिग्रिनु हुँदैन, एकता बनाएरै जानुपर्छ भन्नेमा हामी सकारात्मक छौं,’ उनले भने ।
यसअघि १४औं महाधिवेशन सम्पन्न भएको एक वर्षपछि तत्कालीन सभापति देउवाले नेता कोइरालाका लागि छुट्टै कार्यकक्षको व्यवस्था गरेका थिए । तर, उनले त्यसले उपयोग भने गरेका थिएनन् ।
प्रतिक्रिया 4