+
+
Shares

तातोपानी नाका खुलाउन नेपालको जोड

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर २ गते १२:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्रमन्त्री शिशिर खनालले चीनका अध्यक्ष याङ्ग वानमिङ्गसँग भेट गरी काठमाडौं नजिकको तातोपानी नाका तत्काल खुलाउन विशेष जोड दिएका छन्।
  • खनालले रसुवागढी नाका बाढीले बन्द र अन्य हिमाली नाका हिउँदका कारण पूर्ण सञ्चालन हुन नसक्ने भन्दै तातोपानी नाका आवश्यक रहेको बताए।
  • अध्यक्ष याङ्गले सम्बन्धित निकायसँग समन्वय गरेर काम गर्ने जानकारी दिए, र दुई पक्षबीच व्यापार, पूर्वाधार, जलवायु, जनस्तर तथा शिक्षाबारे छलफल भयो।

२ मंसिर, काठमाडौं । नेपालले तातोपानी नाका खुलाउनका लागि जोड दिएको छ ।

यो विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल भ्रमणमा रहेका चीनका प्रेसिडेन्ट अफ द चाइनिज पिपुल्स एसोसियसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजका अध्यक्ष याङ्ग वानमिङ्गसँग छलफल गरेका छन् ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले तातोपानी नाका तत्काल खुलाउन सम्बन्धित चिनियाँ पक्षसँग विशेष जोड दिएको उनको सचिवालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खनालले केही समयअघि रसुवा–भोटेकोशीको बाढीले रसुवागढी नाका बन्द भएको र अहिलेको हिउँदको अवस्थामा चीन जोड्ने अन्य उच्च हिमाली नाकाहरू पूर्ण रूपमा सञ्चालन हुन नसक्ने उल्लेख गर्दै अध्यक्ष याङ्गलाई काठमाडौंबाट सबैभन्दा नजिक दुरीमा रहेको तातोपानी नाका तत्काल खोल्नका लागि विशेष जोड दिएका हुन् ।

‘तातोपानी नाका काठमाडौंबाट सबैभन्दा कम दूरीमा रहेको र यो नाका ऐतिहासिक मित्रतापूर्ण सम्बन्धको प्रतीकका रूपमा रहेको छ,’ परराष्ट्रमन्त्री खनालको भनाइ उद्धृत गर्दै उनको सचिवालयले भनेको छ ।

यो नाकालाई दुई मुलुकबीचको कनेक्टिभिटीका लागि तत्काल खुलाउन जरुरी रहेको खनालको आग्रह छ ।

भेटमा अध्यक्ष याङ्गले सम्बन्धित निकायसँग आवश्यक समन्वय गरेर काम गर्ने जानकारी परराष्ट्रमन्त्री खनाललाई दिए । भेटमा दुई पक्षबीच दुई मुलुकबीचको व्यापार, पूर्वाधार, जलवायु परिवर्तन, जनस्तर, शिक्षा लगायत विविध विषयमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?