News Summary
Generated by OK AI. Editorially reviewed.- निरन्तर रेमिट्यान्स आप्रवाह र न्यून कर्जा मागका कारण वित्तीय प्रणालीमा अधिक तरलता रहेकाले वाणिज्य बैंकको मुद्दती निक्षेप घटेको राष्ट्र बैंकले जनाएको छ ।
- गत आव वाणिज्य बैंकहरूको कुल निक्षेप परिचालन १४.६ प्रतिशतले बढेर ७४ खर्ब ८८ अर्ब १६ करोड पुगेको छ भने कर्जा तथा लगानी ४.२ प्रतिशतले बढेर ६५ खर्ब ५८ अर्ब ८५ करोड पुगेको छ ।
- गत आव वाणिज्य बैंकहरूले सरकारी ऋणपत्रमा गरेको लगानी ९.२ प्रतिशतले घटेर ९ खर्ब ३६ अर्ब ६९ करोड पुगेको छ, र तरल सम्पत्ति कुल निक्षेपको २४.०६ प्रतिशतमा झरेको छ ।
२ मंसिर, काठमाडौं । वाणिज्य बैंकहरूमा अधिक तरलता भएसँगै मुद्दती निक्षेप समेत घटेको छ । न्यून ब्याजदर भए पनि निक्षेपकर्ताले मुद्दतीको पैसालाई बचतमा परिवर्तन गर्दा मुद्दती निक्षेप घटेको हो ।
निरन्तर रेमिट्यान्स आप्रवाहमा आएको सुधार र न्यून कर्जा मागले वित्तीय प्रणालीमा अधिक तरलता अवस्था छ । अधिक तरलता अवस्थामा बैंकहरूले सहज निक्षेप पाउने भएकाले ब्याजदर देखाइ निक्षेप आकर्षण गर्दैनन् ।
सर्वसाधारणले बैंकमा पैसा बचत गर्दा पनि ब्याज दिनुपर्ने भएकाले बैंकहरूले पर्याप्त तरलता भएको अवस्थामा ब्याजदर धेरै दिँदैनन् । साथै, कर्जा माग नै न्यून भएकाले दीर्घकालीन निक्षेप समेत आवश्यक नभएपछि बैंकहरूले नै मुद्दती र बचतको ब्याजदर उस्तै हुँदा सर्वसाधारणले पैसा मुद्दतीमा नराखी बचतमा परिवर्तन गरेको राष्ट्र बैंकले जनाएको छ ।
गत आर्थिक वर्ष वाणिज्य बैंकहरूको चल्ती तथा बचत निक्षेप क्रमश: २९.९ र ४५.६ प्रतिशत बढेको छ भने मुद्दती निक्षेप १५.३ प्रतिशत घटेको राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्ष चल्ती तथा बचत निक्षेप क्रमश: ३८.९ र ३६.५ प्रतिशत बढेको थियो भने मुद्दती निक्षेप २ प्रतिशत घटेको थियो ।
गत आव २०८२/८३ मा वाणिज्य बैंकहरूको कुल सम्पत्ति/दायित्व १३.९ प्रतिशत अर्थात् ११ खर्ब २५ अर्ब ७३ करोडले वृद्धि भई ९२ खर्ब २१ अर्ब १२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो सम्पत्ति/दायित्व १२ प्रतिशत अर्थात् ८ खर्ब ६७ अर्ब ७९ करोडले बढेको केन्द्रीय बैंकले जनाएको छ ।
त्यस्तै कुल निक्षेप परिचालन १४.६ प्रतिशत अर्थात् ९ खर्ब ५६ अर्ब २९ करोडले वृद्धि भई २०८३ असार मसान्तमा ७४ खर्ब ८८ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्ष कुल निक्षेप परिचालन १३.७ प्रतिशत अर्थात् ७ खर्ब ८४ अर्ब ८७ करोडले बढेको थियो ।
समीक्षा वर्षमा वाणिज्य बैंकहरूको कर्जा तथा लगानी ४.२ प्रतिशत अर्थात् २ खर्ब ६३ अर्ब १९ करोडले वृद्धि भई २०८३ असार मसान्तमा ६५ खर्ब ५८ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्ष कर्जा तथा लगानी ७.२ प्रतिशत अर्थात् ४ खर्ब २४ अर्ब ६१ करोडले वृद्धि भएको थियो ।
गत आव वाणिज्य बैंकहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ६.५ प्रतिशत अर्थात् ३ खर्ब १७ अर्ब ९७ करोडले वृद्धि भएको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो कर्जा ८.६ प्रतिशत अर्थात् ३ खर्ब ८६ अर्ब ३ करोडले वृद्धि भएको थियो ।
२०८३ असार मसान्तमा वाणिज्य बैंकहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा र कुल गार्हस्थ उत्पादन (जीडीपी) अनुपात ७८.८ प्रतिशत कायम भएको छ ।
२०८३ असार मसान्तमा वाणिज्य बैंकहरूबाट तोकिएका प्राथमिकताप्राप्त क्षेत्रमा प्रवाहित कर्जा कुल कर्जाको ३८.१४ प्रतिशत अर्थात् १९ खर्ब ६४ अर्ब ६५ करोड पुगेको छ । यसअन्तर्गत कृषि क्षेत्रतर्फ १३.१२ र गैरकृषि क्षेत्रमा २५.०२ प्रतिशत कर्जा प्रवाहित भएको छ ।
गत आव वाणिज्य बैंकहरूले सरकारी ऋणपत्रमा गरेको लगानी ९.२ प्रतिशत अर्थात् ९५ अर्ब १७ करोडले घटेर २०८३ असार मसान्तमा ९ खर्ब ३६ अर्ब ६९ करोड कायम भएको छ । अघिल्लो वर्ष उक्त लगानी १५ अर्ब ५८ करोडले बढेको थियो ।
वाणिज्य बैंकहरूको तरल सम्पत्ति (सरकारी ऋणपत्रमा गरिएको लगानी सहित) १८ खर्ब १ अर्ब ७४ करोड छ । यस्तो सम्पत्ति कुल निक्षेपको २४.०६ प्रतिशत हुन आउँछ । अघिल्लो वर्ष उक्त अनुपात २६.७ प्रतिशत थियो ।
तरल सम्पत्तिका अंशमध्ये समीक्षा अवधिमा तरल कोष २०.९ प्रतिशत बढेको छ । वाणिज्य बैंकहरूको विदेशी बैंक मौज्दात ६२.३ प्रतिशत अर्थात् १ खर्ब ६१ अर्ब ३३ करोडले बढेर २०८३ असार मसान्तमा ४ खर्ब २० अर्ब २१ करोड कायम भएको छ भने नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात १.३ प्रतिशत अर्थात् ४ अर्ब ८१ करोडले घटेर ३ खर्ब ५९ अर्ब ३ करोड कायम भएको छ ।
प्रतिक्रिया 4