२ मंसिर, काठमाडौं । कांग्रेसको देउवा पक्षका नेता रमेश लेखकले वास्तविक कांग्रेसको प्रतिनिधित्वका लागि आफूहरू वडादेखि नै संगठित भइरहेको बताएका छन् ।
कांग्रेस कञ्चनपुरको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लेखकले मिलाउने प्रयत्न गर्दागर्दै नसकेर बाध्यतावश छुट्टै संगठन गर्ने काममा आफूहरू लागेको बताए ।
‘वास्तविक नेपाली कांग्रेसको प्रतिनिधित्व गर्नका निमित्त हामीले वडादेखि संगठन गर्दै संगठित हुँदै यो अवस्थामा पुगेका छौं । आज जिल्ला अधिवेशन हुँदैछ,’ नेता लेखकले भने, ‘हामीले मिलाउने प्रयत्न गर्दा–गर्दै नसकेर बाध्यतावश छुट्टै संगठन गर्ने काममा लागेका छौं ।’
हरेक तहमा कांग्रेसका दुई वटा समिति बनेको भन्दै उनले पार्टी र समग्र राष्ट्रिय राजनीतिको अवस्था सुखद् नभएको पनि बताए ।
‘पार्टीको आन्तरिक जीवनको कुरा गर्दा पनि प्रतिकूल अवस्था छ भने समग्र राष्ट्रिय अवस्था पनि धेरै सुखद् देखा परेको छैन,’ लेखकले भने, ‘नेपाली कांग्रेसका लागि अहिले विषम् अवस्था छ । हामी अप्ठ्यारो अवस्थामा छौं ।’
पूर्वगृहमन्त्री लेखकले कांग्रेस दुई भइसकेको पनि जिकिर गरे । ‘लुकाउनु–छिपाउनु केही छैन, पार्टी दुई भएको छ,’ उनले भने, ‘नेपाली कांग्रेसको आत्मा, विचार, भावना यहीँ छ ।’
लेखकले कञ्चनपुरका नेता–कार्यकर्ताहरूलाई आत्मबलका साथ अगाडि बढ्न पनि आग्रह गरे । ‘यो नै नेपाली कांग्रेस हो,’ उनले भने, ‘यो आत्मबलको साथ अगाडि बढ्नुहोला ।’
प्रतिक्रिया 4