News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारीबारे सन् २०२७ नलागेसम्म अन्तिम निर्णय नलिने भएका छन्।
- भान्सका नजिकका स्रोतले उनले सन् २०२७ को वसन्त ऋतुको अन्त्यसम्म आफ्नो राजनीतिक मनसाय सार्वजनिक गर्न सक्ने बताएका छन्।
- मध्यावधि निर्वाचनको पराजयपछि पनि भान्स रिपब्लिकन अग्रपङ्क्तिको दाबेदार मानिएका छन्, तर ट्रम्प प्रशासनको रेकर्ड र ट्रम्पको उपस्थितिले उनको योजना जटिल बनाएको छ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने वा नदिने भन्नेबारे नयाँ वर्ष (सन् २०२७) नलागेसम्म अन्तिम निर्णय नलिने भएका छन्। भान्सका योजनाबारे जानकार दुई स्रोतले अमेरिकी समाचार संस्था ‘एक्सियोस’ लाई बताए अनुसार, उनले आफ्नो राजनीतिक मनसाय सार्वजनिक रूपमा घोषणा गर्न सन् २०२७ को वसन्त ऋतुको अन्त्य (‘लेट स्प्रिंग’) सम्म प्रतीक्षा गर्न सक्छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पको उत्तराधिकारीका रूपमा रिपब्लिकन पार्टीको राष्ट्रपतीय उम्मेदवार बन्ने दौडमा भान्स अझै पनि सुरुवाती प्रमुख दाबेदार मानिएका छन्। यद्यपि, हालै सम्पन्न मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले व्यहोरेको पराजयले उनको राजनीतिक भविष्यलाई जटिल बनाइदिएको छ ।
निर्णयमा ढिलाइको कारण: पारिवारिक छलफल र मध्यावधिअघिकै कार्यतालिका
भान्सको सोचबारे परिचित व्यक्तिहरूका अनुसार, उनी उम्मेदवारी दिने विषयमा साँच्चिकै अनिर्णीत छन्। निर्णय लिने यो समयतालिका मध्यावधि निर्वाचनअघि नै तय भइसकेको थियो, तर सल्लाहकारहरूले परिस्थिति अनुसार उक्त समयतालिका परिवर्तन हुन सक्ने चेतावनी समेत दिएका छन्।
स्रोतहरूका अनुसार, चौथो सन्तानको जन्मपछि भान्सले आफ्नी पत्नी उषा लगायत परिवारका सदस्यहरूसँग सम्भावित राष्ट्रपतीय अभियानबारे अझै छलफल गरिरहेका छन्।
यस विषयमा उपराष्ट्रपति भान्सका प्रवक्ताले कुनै आधिकारिक टिप्पणी गर्न अस्वीकार गरेका छन्।
भान्सको शक्तिशाली आधार: दाता सञ्जाल, एलन मस्क र चुनावी पूर्वाधार
मध्यावधि निर्वाचनको हारका बावजुद सन् २०२८ को रिपब्लिकन अग्रपङ्क्तिको दाबेदारका रूपमा भान्सको हैसियतमा कुनै परिवर्तन नआएको उनका सहयोगीहरूको दाबी छ। यसका पछाडि उनका बलियो दाता सञ्जाल, राजनीतिक पूर्वाधार र देशव्यापी पहिचान मुख्य कारण मानिएका छन् ।
भान्सले सह-स्थापना गरेको गोप्य राजनीतिक तथा दाता सञ्जाल ‘रकब्रिज नेटवर्क’ ले उनको राष्ट्रपतीय कोष सङ्कलन अभियानको मुख्य आधारस्तम्भको काम गर्न सक्छ। मध्यावधि निर्वाचनलगत्तै उक्त समूहको बैठक ह्युस्टनमा सम्पन्न भइसकेको छ।
रिपब्लिकन नेसनल कमिटी (आरएनसी) को फाइनान्स चेयरका रूपमा काम गर्दा भान्सले ठूला चन्दादाताहरूसँग गहिरो सम्बन्ध बनाएका छन्। यसका साथै, प्रविधि क्षेत्रका प्रभावशाली दाताहरू पिटर थिल, डेभिड स्याक्स र विश्वकै धनी व्यक्ति तथा रिपब्लिकन पार्टीका सबैभन्दा ठूला आर्थिक सहयोगी एलन मस्कसँग उनको निकट सम्बन्ध रहेको छ।
मध्यावधि निर्वाचनका क्रममा भान्सले देशभर चुनावी प्रचारप्रसार गर्दै पार्टीका सक्रिय कार्यकर्ता र स्थानीय अधिकारीहरूसँग सम्बन्ध विस्तार गरेका थिए । जुन सन् २०२८ को प्राइमरी निर्वाचनमा अत्यन्तै मूल्यवान साबित हुन सक्छ।
पर्दापछाडिको चुनौती: ट्रम्प प्रशासनको रेकर्ड र इरान युद्धको छाया
उपराष्ट्रपतिको निकट रहेका एक व्यक्तिका अनुसार, भान्सका नजिकका राजनीतिक सल्लाहकारहरूले उनले सन् २०२८ मा चुनाव लड्नुपर्छ र लड्ने सम्भावना प्रबल छ भन्ने विश्वास राखेका छन्। तर, मध्यावधि निर्वाचनको हारले ट्रम्प प्रशासनको छायाबाट बाहिर निस्कन चाहने रिपब्लिकनहरूलाई सन् २०२८ मा नयाँ दिशा रोज्न बहस गर्ने बाटो खोलिदिएको छ।
भान्सले सन् २०२८ मा ट्रम्प प्रशासनको समग्र कार्यसम्पादनको जवाफ दिनुपर्नेछ । जसले उनको राष्ट्रपतीय महत्त्वाकाङ्क्षालाई जटिल बनाउन सक्छ। भान्सले निजी रूपमा इरान युद्धको विरोध गरेका थिए । र, कतिपय रिपब्लिकनहरूले मध्यावधि निर्वाचनपछि उक्त द्वन्द्वबारे भान्सले गरेको आलोचनालाई इरानमाथि आक्रमण गर्ने ट्रम्पको निर्णयबाट आफूलाई टाढा राख्ने प्रयासका रूपमा व्याख्या गरेका छन्।
भान्सनिकट रिपब्लिकनहरूका अनुसार, ट्रम्पको निरन्तर सक्रिय राजनीतिक उपस्थिति नै भान्सले आफ्नो २०२८ को योजना घोषणा गर्न ढिलाइ गर्नुको अर्को मुख्य कारण हो। निकै चाँडो चुनावी अभियान सुरु गर्दा ट्रम्पबाट ध्यान भड्किने र उनी चिढिन सक्ने जोखिमप्रति भान्स सचेत छन्।
यद्यपि, ट्रम्पले इरान युद्धबारे भान्सका टिप्पणीहरू ‘धेरै मानिसहरूलाई मन नपरेको’ बताए पनि आफू ती व्यक्तिहरूमा नपर्ने र यसले आफूहरूबिचको सम्बन्धमा कुनै असर नपारेको स्पष्ट पारेका छन्। एक्सियोसबाट
प्रतिक्रिया 4