+
+
Shares

चेक गणतन्त्रका प्रधानमन्त्रीले नेतान्याहुसँग हात नमिलाएपछि

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हात मिलाउन खोज्दा चेक गणतन्त्रका प्रधानमन्त्री आन्द्रे बाबिसले तत्काल प्रतिक्रिया नदिएको भिडियो सार्वजनिक भएपछि कूटनीतिक वृत्तमा चर्चा भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर २ गते १६:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र चेक गणतन्त्रका प्रधानमन्त्री आन्द्रे बाबिसबीच जेरुसेलममा भएको भेटमा हात मिलाउने क्षण चर्चामा आएको छ ।
  • नेतान्याहुको निमन्त्रणामा नोभेम्बर १६ देखि १८ सम्म इजरायल पुगेका बाबिससँग रक्षा सहकार्य, सुरक्षा, स्वास्थ्य, प्रविधि र बालबालिकाको संरक्षणमा छलफल भएको छ ।
  • नेतान्याहुले इरानको क्षेप्यास्त्र, आणविक कार्यक्रम र आतंकवाद युरोपका लागि पनि खतरा भएको भन्दै चेक गणतन्त्रसँग अर्को पुस्ताको प्रतिरक्षा प्रणालीमा सहकार्य हुने बताएका छन् ।

२ मंसिर, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हात मिलाउन खोज्दा चेक गणतन्त्रका प्रधानमन्त्री आन्द्रे बाबिसले तत्काल प्रतिक्रिया नदिएको भिडियो सार्वजनिक भएपछि कूटनीतिक वृत्तमा चर्चा भएको छ ।

इजरायलको जेरुसेलममा दुई नेताको संयुक्त उपस्थितिका क्रममा नेतान्याहुले बाबिसतर्फ हात बढाएको देखिन्छ । तर बाबिसले तत्काल हात समातेको देखिँदैन ।

बाबिस नेतान्याहुसँग आफ्नो देशको बारे गुणगान गरिरहेको सुनिन्छन् । मनीकन्ट्रोलका अनुसार भ्रमणकै क्रममा पछि दुवै नेताले हात मिलाएका थिए र द्विपक्षीय विषयमा छलफल पनि गरेका थिए ।

बाबिस नोभेम्बर १६ देखि १८ सम्मको तीनदिने कार्यकारी भ्रमणका लागि इजरायल पुगेका हुन् । नेतान्याहुको निमन्त्रणामा भएको भ्रमणमा रक्षा सहकार्य, सुरक्षा, स्वास्थ्य, प्रविधि र बालबालिकाको संरक्षणसम्बन्धी विषय मुख्य एजेन्डामा छन् ।

भ्रमणको पहिलो दिन नोभेम्बर १६ मा बाबिसले जेरुसेलमस्थित नेतान्याहुको कार्यालयमा भेटवार्ता गरेका थिए । सुरुमा दुई नेताबीच एक्लाएक्लै छलफल भएको थियो । त्यसपछि दुवै देशका परराष्ट्र, रक्षा, स्वास्थ्य तथा अन्य मन्त्री र उच्च सुरक्षा अधिकारी सहभागी विस्तारित बैठक भएको थियो ।

संयुक्त पत्रकार भेटघाटमा नेतान्याहुले चेक गणतन्त्रलाई इजरायलको पुरानो र निकट मित्रराष्ट्र भन्दै प्रशंसा गरेका थिए । उनले सन् १९४८ मा इजरायल राष्ट्र स्थापना हुँदा तत्कालीन चेकोस्लोभाकियाले हतियार र विमान उपलब्ध गराएर सहयोग गरेको स्मरण गरेका थिए ।

उनले इजरायली प्रविधिले अहिले चेक गणतन्त्रको आकाश सुरक्षामा सहयोग गरिरहेको र दुवै देश अर्को पुस्ताको प्रतिरक्षा प्रणालीमा सहकार्य गर्न लागेको बताएका थिए ।

नेतान्याहुले इरानको क्षेप्यास्त्र, आणविक कार्यक्रम र आतंकवादलाई इजरायल मात्र नभई युरोपका लागि पनि खतरा भन्दै भनेका थिए, ‘इरानका क्षेप्यास्त्र इजरायलको सीमामा रोकिँदैनन् । त्यसको आतंकवाद र आणविक महत्त्वाकांक्षा पनि त्यहीँ रोकिन्न । युरोप दर्शक मात्र होइन, लक्ष्य पनि हो ।’

बाबिसले पनि इजरायलको रक्षा प्रविधिको प्रशंसा गर्दै आफ्नो देशलाई सुरक्षित र लगानीका लागि उपयुक्त गन्तव्यका रूपमा प्रस्तुत गरेका थिए ।

तीनदिने भ्रमण नोभेम्बर १८ मा सकिने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?