News Summary
Generated by OK AI. Editorially reviewed.- कतारले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा लगाएको आरोप अस्वीकार गरेको छ।
- विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले कतारले इजरायलविरुद्ध जनमत प्रभावित पार्ने अभियान चलाइरहेको आरोप निराधार भएको बताए।
- उनले इजरायलको कब्जा गरिएका प्यालेस्टिनी क्षेत्रमा भएका कार्य र त्यसबाट उत्पन्न मानवीय परिणामबाट ध्यान मोड्न यस्तो बयानबाजी गरिएको बताए।
९ असोज, दोहा (रासस/एएनआई) । कतारले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा कतारविरुद्ध लगाउनुभएको आरोप अस्वीकार गर्दै त्यसलाई इजरायलको कार्यबाट ध्यान हटाउने प्रयास भएको बताएको छ ।
कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले सामाजिक सञ्जाल एक्समार्फत नेतान्याहुको आरोप स्पष्ट रूपमा अस्वीकार गरेका हुन्। उनले कतारले इजरायलविरुद्ध जनमत प्रभावित पार्ने अभियान चलाइरहेको भन्ने आरोप निराधार रहेको बताउँदै कब्जा गरिएका प्यालेस्टिनी क्षेत्रमा इजरायलले गरेको कार्य र त्यसबाट उत्पन्न मानवीय परिणामबाट ध्यान मोड्न यस्तो बयानबाजी गरिएको बताए ।
विश्वव्यापी जनमतमा, विशेषगरी युवाहरूमा आएको परिवर्तनलाई कुनै ‘प्रभाव अभियान’ को परिणामका रूपमा व्याख्या गर्नु उनीहरूको चेतना र निर्णय क्षमताको अपमान हुने उनले बताए। मानिसहरूले प्यालेस्टिनी क्षेत्रमा भइरहेको अवस्था प्रत्यक्ष देखेर आफ्ना धारणा बनाइरहेको उनको भनाइ थियो ।
विश्वले इजरायललाई फरक दृष्टिले हेरेको चाहने हो भने इजरायली नेताहरूले आफ्नो नीति परिवर्तन गर्नुपर्ने, अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्नुपर्ने र आफ्ना कार्यको जिम्मेवारी लिनुपर्ने उनले बताए।
कतारको प्रतिक्रिया नेतान्याहुले महासभामा कतार र टर्कीको नाम लिँदै इजरायलविरुद्ध ‘झुट’ फैलाउन धेरै विदेशी मुलुकले ठूलो रकम खर्च गरेको आरोप लगाएपछि आएको हो । उनले कतारले युवाहरूलाई इजरायल, अमेरिका र पश्चिमप्रति घृणा गर्न उक्साउने अभियान चलाएको आरोप लगाएका थिए।
नेतान्याहुले कतारले हमासका नेताहरूलाई आश्रय दिएको भन्दै आलोचना गरेका थिए भने टर्कीलाई ‘यहुदीकविरोधी झूट फैलाउने प्रमुख माध्यम’ भएको आरोप लगाउँदै राष्ट्रपति रेसेप तैयप एर्दोगानविरुद्ध पनि टिप्पणी गरेका थिए।
प्रतिक्रिया 4