१७ असार, काठमाडौं । इरान र अमेरिकाबीच कतारको राजधानी दोहामा बुधबार वार्ता चलिरहेको छ । अन्तर्राष्ट्रिय सञ्चार संस्था रोयटर्सको एक रिपोर्टले यसलाई प्रत्यक्ष वार्ता नभई ‘टेक्निकल डायलग’ भनेको छ ।
यो वार्ताको मध्यस्थकर्ता पाकिस्तान र कतारले गरिरहेको बताइएको छ । वार्ताको तयारीका लागि मंगलबार मात्रै अमेरिकी विशेष दूत स्टीभ बिटकफ राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जरेड कुसनर कतार पुगेका थिए ।
उनीहरूले कतारका प्रधानमन्त्रीसँग भेटवार्ता पनि गरेका थिए । बुधबारको वार्तामा भने उनीहरू सहभागी नरहेको बताइएको छ ।
यो वार्ता स्ट्रेट अफ होर्मुजमा भएको पछिल्लो सैन्य तनावपछि भइरहेकाले विशेष मानिएको छ ।
यसअघि १७ जुनमा अमेरिका र इरानबीच १४ बुँदे मेमोरेन्डर अफ अन्डरस्ट्यान्डिङ(एमओयू)मा सहमति जुटेको थियो । त्यसपछि २१ जुनमा स्विट्जरल्यान्डमा दुई देशका प्रतिनिधिमण्डबीच पहिलो चरणको शान्ति वार्ता भएको थियो ।
त्यसपछि रोकिएको युद्ध पछिल्ला केहीदिन यता होर्मुज स्ट्रेटमा भएको तनावले फेरि भड्किने त्रास पैदा भएको छ । उक्त घटनालाई लिएर दुवै देशले एकअर्कामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाइरहेका छन् ।
प्रतिक्रिया 4