२ मंसिर, काठमाडौं । इरानको सेनाले बुधबार कुवेतस्थित अली अल सलेम एयर बेसमा रहेका अमेरिकी सैन्य संरचनालाई लक्षित गरी ड्रोन आक्रमण गरेको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार इरानी सेनाले उक्त आक्रमणमा प्याट्रियट हवाई रक्षा प्रणाली तथा अमेरिकी सैन्य ड्रोन र क्षेप्यास्त्र प्रक्षेपण गर्ने प्लेटफर्मलाई निशाना बनाएको जनाएको छ ।
त्यसअघि बुधबार बिहान कुवेती सेनाले आफ्नो हवाई रक्षा प्रणालीले ‘शत्रुतापूर्ण ड्रोन’ लाई निष्क्रिय पार्न कारबाही गरिरहेको जनाएको थियो । कुवेतको सशस्त्र सेनाको जनरल स्टाफले देशका विभिन्न स्थानमा सुनिएका विस्फोटका आवाज हवाई रक्षा प्रणालीले आक्रमण रोक्ने क्रममा उत्पन्न भएको हुन सक्ने बताएको थियो ।
मंगलबार अमेरिकाले इरानको केश्म टापुमा विभिन्न आक्रमण गरेको थियो । बहराइनमा अमेरिकाद्वारा सञ्चालित राडार प्रणालीलाई लक्षित गरी इरानी ड्रोन आएको र आफ्नो हवाई क्षेत्र उल्लंघन भएको आरोपपछि अमेरिकाले उक्त कारबाही गरेको हो ।
आणविक आक्रमण भए समान स्तरको जवाफ दिने इरानी सांसदको चेतावनी
यसैबीच, इरानी सांसद मोहम्मद रेजा मोहसेनी सानीले अमेरिकाले इरानमाथि आणविक हतियार प्रयोग गरे त्यसको ‘समान स्तरमा’ जवाफ दिने चेतावनी दिएका छन् ।
इरानी संसद्को राष्ट्रिय सुरक्षा समितिका सदस्य मोहसेनी सानीले मंगलबार इरानी समाचार वेबसाइट खबरफुरीसँग कुरा गर्दै सम्भावित सैन्य आक्रमणको सामना गर्न आफ्नो देश तयार रहेको बताएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको व्यवहारका कारण कुनै पनि सम्भावनालाई नकार्न नसकिने उनको भनाइ छ ।
उनले अमेरिकासँग सम्झौता हुने सम्भावनाप्रति पनि आशंका व्यक्त गरेका छन् । अमेरिकाले आफ्नो नीति परिवर्तन गरी युद्ध जारी राख्नुको कुनै औचित्य नरहेको निष्कर्षमा पुगे मात्रै कूटनीतिक समाधान सम्भव हुने उनले बताएका छन् ।
रियादतर्फ प्रहार गरिएको क्षेप्यास्त्र साउदी गठबन्धनद्वारा नष्ट
यता, यमनका हुथी विद्रोहीविरुद्ध लडिरहेको साउदी नेतृत्वको सैन्य गठबन्धनले बुधबार रियाद क्षेत्रतर्फ प्रहार गरिएको क्रुज क्षेप्यास्त्र आकाशमै नष्ट गरेको जनाएको छ ।
गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले सामाजिक सञ्जाल एक्समार्फत उक्त क्षेप्यास्त्रलाई ‘आतंकवादी हुथी मिलिसिया’ले प्रहार गरेको दाबी गरेका छन् ।
सन् २०२२ मा युद्धविराम भएपछि यमनको लामो समयदेखिको द्वन्द्व केही मत्थर भएको थियो । तर, यस वर्षको गर्मीयाममा पुन: चर्किएको द्वन्द्वका क्रममा हुथी विद्रोहीले आफ्नो नियन्त्रण क्षेत्र विस्तार गर्दै अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको अन्तरिम राजधानी अदनतर्फ अघि बढेका छन् ।
संयुक्त राष्ट्रसंघका अनुसार द्वन्द्व पुन: सुरु भएयता एक हजार ६०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने तीन लाखभन्दा बढी विस्थापित भएका छन् ।
प्रतिक्रिया 4