News Summary
Generated by OK AI. Editorially reviewed.- कर्णाली प्रदेशमा मंसिर १६ देखि २७ गतेसम्म हुने १०औं राष्ट्रिय खेलकुदमा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने भएको छ।
- राखेपका अनुसार प्रतियोगितामा ११ टोली, ३२ खेलका ३८४ इभेन्ट्स र १ हजार ३० निर्णायक सहभागी हुनेछन्।
- उद्घाटन र समापन सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछ, र केही खेल मंसिर ८ गतेदेखि सुरु हुनेछन्।
३ मंसिर, काठमाडौं । कर्णाली प्रदेशमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुदमा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य पदकका लागि प्रतिस्पर्धा हुने जानकारी दिएको हो।
१०औं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताका केही खेल भने औपचारिक उद्घाटनअघि नै मंसिर ८ गतेदेखि सुरु हुनेछन्। उद्घाटन र समापन समारोह दुवै सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछ।
प्रतियोगितामा सात प्रदेशसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल (एपीएफ) र एनआरएनएको गरी ११ टोलीको सहभागिता रहनेछ। कुल ३२ खेलका ३८४ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ।
प्रत्येक टोलीबाट ६६० जना सहभागी हुनेछन्। जसमा ३१४ महिला र ३४६ पुरुष खेलाडी रहनेछन्। त्यस्तै, प्रत्येक टोलीबाट ८१ प्रशिक्षक र ४१ व्यवस्थापक सहभागी हुनेछन्।
प्रतियोगिताका लागि कुल १ हजार ३० जना निर्णायक रहनेछन्। तीमध्ये २५८ अन्तर्राष्ट्रिय र ७७२ राष्ट्रिय निर्णायक हुने राखेपले जनाएको छ। खेल संघका ९६ प्रतिनिधिको पनि सहभागिता रहनेछ।
प्रतियोगिताका खेल सुर्खेतसहित सात जिल्लामा सञ्चालन हुनेछन्। सुर्खेतमा २३, नेपालगन्जमा दुई, बर्दियामा दुई, दैलेखमा एक, कालीकोटमा एक, सल्यानमा दुई र पश्चिम रुकुममा एक खेल आयोजना हुनेछ।
राखेपले यसपटक व्यक्तिगत र टिम स्पर्धाका पदक विजेतालाई नगद पुरस्कारको व्यवस्था गरेको छ। व्यक्तिगत स्पर्धामा स्वर्ण जित्नेलाई २० हजार, रजत जित्नेलाई १५ हजार र कांस्य जित्नेलाई ८ हजार रुपैयाँ प्रदान गरिनेछ। टिम स्पर्धामा स्वर्ण विजेताले १५ हजार, रजतले १० हजार र कांस्यले ८ हजार रुपैयाँ पाउनेछन्। रजत र कांस्य पदक विजेतालाई पनि नगद पुरस्कार दिने व्यवस्था पहिलोपटक गरिएको राखेपले जनाएको छ।
पटकपटक सर्दै आएको १०औं राष्ट्रिय खेलकुदको मिति पछिल्लोपटक २०८३ साउन २८ गते राखेपको १२५औं बोर्ड बैठकले निर्धारण गरेको थियो।
प्रतिक्रिया 4