+
+
Shares

कार्यकर्तालाई विद्या भण्डारीको आग्रह- चुनावी धक्का अस्थायी हो, निराश नहुनु

‘अहिले हामीले भोगेको धक्का अस्थायी हो,’ बरिष्ठ नेता भण्डारीले भनिन्, ‘त्यसैले निराश भएर निष्कृय बस्ने होइन, विगतका अनुभव र ऐतिहासिक विरासतबाट शिक्षा लिदै नयाँ ऊर्जा, उत्साह र आत्मविश्वासका साथ अघि बढ्नुपर्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ३ गते १२:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बबरमहलमा जारी राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टीपंक्तिलाई निराश नहुन आग्रह गरेकी छन् ।
  • उनले एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण नगर्ने भन्दै हारबाट पाठ सिकेर कमजोरी सच्याउनुपर्ने बताइन् ।
  • भण्डारीले कुनै पदीय मोहका लागि सक्रिय राजनीतिमा नफर्किएको बताउँदै एमालेको वैचारिक विकास र संगठन सुदृढीकरणमा योगदान गर्ने उद्देश्य रहेको खुलाइन् ।

३ मंसिर, काठमाडौं । सक्रिय राजनीतिमा फर्किएपछि पहिलोपटक पार्टीको ठूलो फोरमलाई सम्बोधन गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीपंक्तिलाई निराश नहुन आग्रह गरेकी छन् ।

बबरमहलमा जारी राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भण्डारीले एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण नगर्ने भएकाले निराश नहुन आग्रह गरेकी हुन् । ‘एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण गर्दैन,’ भण्डारीले भनिन्, ‘तर हारबाट सही पाठ सिक्नु र कमजोरीहरु सच्याउँदै अघि बढ्नु हाम्रो दायित्व हो ।’

गत २१ फागुनको निर्वाचनको नतिजालाई अस्थायी धक्काको संज्ञा दिएकी छन् । ‘अहिले हामीले भोगेको धक्का अस्थायी हो,’ बरिष्ठ नेता भण्डारीले भनिन्, ‘त्यसैले निराश भएर निष्कृय बस्ने होइन, विगतका अनुभव र ऐतिहासिक विरासतबाट शिक्षा लिदै नयाँ ‌ऊर्जा, उत्साह र आत्मविश्वासका साथ अघि बढ्नुपर्छ ।’

गत वर्षको जेनजी आन्दोलनबाटै एमाले पंक्तिमा निराशा उत्पन्न भएको पनि उनले सम्झिएकी छन् । ‘हो, गत वर्षा भदौ २३ र २४ गते मुलुकमा घटेका घटनाक्रम तथा तथा फागुन २१ गते सम्पन्न आमनिर्वाचनमा पार्टीले बेहोर्नु परेको धक्काले नेता तथा कार्यकर्तामा केही निराशा उत्पन्न गरेको हुन सक्छ,’ उनले भनिन् ।

तर विगतका धक्काहरु सम्झिएर यो चुनौतीको सामना गर्ने शक्ति आर्जन गर्न सकिने निष्कर्ष पनि भण्डारीले सुनाएकी छन् । ‘सन् १९९० को दशमा विश्व कम्युनिष्ट आन्दोलनले गम्भीर धक्का व्यहोरेको अवसथामा पनि हामीले पलायनको बाटो रोजेनौं, बरु आन्दोलनलाई थप लोकप्रिय, सशक्त र व्यापक बनाउँदै अघि बढ्यौं,’ भण्डारीले भनिन् ।

गत निर्वाचनको नतिजालाई पनि सच्याउन सकिने उनको विश्वास छ । ‘हारबाट पाठ सिक्नु र कमजोरीहरु सच्याउँदै अघि बढ्नु हाम्रो दायित्व हो,’ भण्डारीले भनिन् ।

‘राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन’ भन्ने मदन भण्डारीको भनाइ उदृत गर्दै भण्डारीले स्थानीय निर्वाचनको तयारीमा जुट्न आग्रह गरेकी छन् । ‘निकट भविष्यमा हुने स्थानीय तह सहितका निर्वाचनलाई समेत ध्यानमा राख्दै हाम्रा नीति, योजना र कार्यक्रम जनता समक्ष पुर्याउनु पर्दछ,’ भण्डारीको आग्रह छ ।

चुनावी तयारी गर्दा जनताको विश्वासलाई प्राथमिकतामा राख्न पनि उनको सुझाव छ । ‘जनताको विश्वास नै हाम्रो सबैभन्दा ठूलो राजनीतिक पुँजी हो । त्यो विश्वास हाम्रो विचार, व्यवहार, कार्यशैली र जनताको जीवनमा ल्याउने सकारात्मक परिवर्तनबाट अवश्य आर्जन गर्न सकिन्छ,’ भण्डारीले भनेकी छन् ।

कुनै पदीय मोहले सक्रिय राजनीतिमा फर्किएको होइन : भण्डारी

यसबीच बरिष्ठ नेता भण्डारीले कुनै पदीय मोहका निम्ति सक्रिय राजनीतिमा नफर्किएको बताएकी छन् । कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भण्डारीले भनिन्, ‘साँच्चै भन्ने हो भने अब म कुनैपनि पदप्रति निष्पृह जस्तै भएको छु । किनकि मैले राष्ट्रपति जस्तो मुलुकको सर्वोच्च ओहोदा हासिल गरिसकेको छु ।’

सक्रिय राजनीतिमा फर्कनुमा भने मातृ पार्टी एमालेको वैचारिक विकास, संगठनात्मक सुदृढीकरण, सामाजिक–आर्थिक रुपान्तरणमा योगदान पुर्याउने उद्देश्य रहेको बताएकी छन् । सात वर्षे राष्ट्रपतिको कार्यकालमा संवैधानिक दायरा र मर्यादाभित्र रहेकार काम गरेको दावी पनि गरेकी छन् ।

‘म राष्ट्रपतिको भूमिकामा रहँदा संवेधानिक दायरा र मर्यादाभित्र रहेर देश र जनताको हितमा आफूले सम्पादन गरेका असल कार्यहरु सबैका सामू छर्लङ्ग छन्,’ भण्डारीले भनेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?