+
+
Shares

दयनीय हालतमा रहेका अभिनेताको सहयोगमा जुटे शाहरुख र जावेद अख्तर पनि

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ३ गते १५:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता शरद कपूरले आर्थिक र स्वास्थ्य समस्याका कारण सहयोग मागेपछि सोनु सूद, सलमान खान, शाहरुख खान र जावेद अख्तरले चासो देखाएका छन्।
  • शरदले दुईदेखि तीनवटा फिल्मको सम्झौता गरिसकेको र जनवरीदेखि फेरि अभिनयमा फर्किने बताएका छन्।
  • शरदकी साथी हेमा चौधरीले उनको कोठाको अवस्था देखेर डर लागेको बताउँदै फिल्म क्षेत्रका व्यक्तिसँग सहयोगका लागि अपिल गरेकी थिइन्।

अभिनेता शरद कपूर पछिल्लो समय आफ्नो कठिन अवस्थाका कारण चर्चामा छन् । केही समयअघि उनले आर्थिक तथा स्वास्थ्य समस्याका कारण फिल्म क्षेत्रका सहकर्मीसँग सहयोगको अपिल गरेका थिए ।

त्यसपछि बलिउडका थुप्रै कलाकार उनको सहयोगका लागि अघि सरेका छन् ।

सोनु सूद र सलमान खानपछि अब शाहरुख खान र जावेद अख्तर पनि उनको सहयोगमा अघि आएको खुलेको छ । शरदले हालै दुईदेखि तीनवटा फिल्ममा काम गर्ने सम्झौता गरिसकेको र चाँडै छायांकनमा सहभागी हुने तयारीमा रहेको बताएका छन् ।

शरदले कसले गरे सहयोग भन्ने खुलाए

हालै वरिन्दर चावलालाई दिएको एक अन्तर्वार्तामा शरदले आफूलाई फिल्म क्षेत्रका साना-ठूला सबै कलाकारले सहयोग गर्न चासो देखाएको बताएका छन् ।

उनले भनेका छन्, ‘तपाईंलाई विश्वास नलाग्न सक्छ । साना कलाकारदेखि ठूला कलाकारसम्म सबै मेरो अवस्थालाई लिएर चिन्तित थिए ।  सोनु सूद, सलमान खान, शाहरुख खान, राजपाल यादव र जावेद अख्तर सबैले चासो देखाउनुभयो । म उहाँहरू सबैप्रति आभारी छु । मेरा साथी अरमान कोहली पनि निकै चिन्तित थिए । उनले तपाईंलाई जे आवश्यक पर्छ, हामी उपलब्ध गराउँछौँ भनेका थिए ।’

हेमा चौधरीले सार्वजनिक गरिन्, शरदको अवस्था

शरदकी साथी हेमा चौधरीले पनि हालै ‘बलिउड कट अनकट’ पोडकास्टमा उनको अवस्थाबारे कुरा गरेकी थिइन् ।

उनका अनुसार उनी ‘बेजुबान ट्रस्ट’ नामक कुकुर उद्धार तथा संरक्षण केन्द्र सञ्चालन गर्छिन् । सोही सिलसिलामा केही कुकुरको उद्धार गर्न उनी शरद बस्ने क्षेत्रमा पुगेकी थिइन् । त्यही क्रममा उनको शरदसँग भेट भएको थियो ।

पछि शरदको कोठामा पुग्दा त्यहाँको अवस्था देखेर आफू निकै डराएको उनले बताएकी छन् । त्यसपछि उनले शरदलाई सहयोग गर्न फिल्म क्षेत्रका व्यक्तिहरूसँग अपिल गरेकी थिइन् ।

कहिलेदेखि काममा फर्किंदै छन्, शरद ?

केही दिनअघि सार्वजनिक एउटा भिडियोमा शरदले आफू फेरि अभिनयमा फर्किने समयबारे जानकारी दिएका थिए ।

उनले भनेका थिए, ‘म आफ्ना प्रशंसकहरूलाई धन्यवाद दिन चाहन्छु । भगवान्ले तपाईंहरू सबैलाई खुसी राखून् । यस्तै माया दिइरहनुहोला । म तपाईंहरूलाई कहिल्यै निराश बनाउने छैन । जनवरीदेखि रकस्टार जसरी काम गर्न सुरु गर्नेछु र त्यस्तै बन्नेछु । तपाईंहरू सबैप्रति आभारी छु ।’

सोनु सूद र सलमान पनि सहयोगमा

केही समयअघि अभिनेता सोनु सूद शरदलाई भेट्न पुगेको भिडियो सार्वजनिक भएको थियो । सोनुले उनीसँग भेट गरी पुनः काममा फर्काउन सकिने एउटा परियोजनाबारे छलफल गरेका थिए । साथै, उनले शरदलाई स्वास्थ्य उपचारमा सहयोग गर्ने आश्वासनसमेत दिएका थिए ।

सोनुका अनुसार शरद सम्मानपूर्वक पुनः काम गर्न चाहन्छन् । लामो समयदेखि फिल्म क्षेत्रमा सक्रिय रहे पनि पछिल्लो समय कठिन परिस्थितिबाट गुज्रिरहेका शरद अब पुनः अभिनयमा फर्किने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?