+
+
Shares

धान किन्न सरकारी उदासीनता, धनगढी बाहेक सबै कार्यालयमा खरिद शून्य

धनगढी बाहेक १२ कार्यालय तथा विभागको धान खरिद सुरु मिति र खरिद परिमाण दुवै शून्य छ भने कृषि सहकारी मार्फत हालसम्म कुनै पनि कार्यालयबाट धान खरिद भएको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ३ गते १८:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालु आवमा स्वीकृत १ लाख ५० हजार क्विन्टलमध्ये अहिलेसम्म २ हजार ५ सय २९ क्विन्टल मात्रै धान खरिद गरेको छ ।
  • कम्पनीका १३ निकायमध्ये प्रादेशिक कार्यालय धनगढीबाट मात्र धान खरिद भएको छ, जहाँ ३० हजार क्विन्टल कोटामध्ये २ हजार ५ सय २९ क्विन्टल खरिद गरिएको छ ।
  • धान थन्क्याउने याम सकिन लाग्दा पनि खरिद सुस्त हुँदा तोकिएको समर्थन मूल्यमा नकिनिएको किसानले निजी व्यवसायीलाई कम भाउमा बेच्नुपरेको गुनासो गरेका छन् ।

३ मंसिर, काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको धान खरिद कार्य निकै सुस्त रहेको छ ।

आजसम्म कम्पनीले जम्मा २ हजार ५ सय २९ क्विन्टल धान खरिद गरेको छ । प्रत्यक्ष किसानबाट प्रतिक्विन्टल ३ हजार ६ सय ६० रुपैयाँका दरले उक्त परिमाणको मोटा धान खरिद गर्दा कुल ९२ लाख ५७ हजार ५५ रुपैयाँ बराबर खरिद कारोबार भएको कम्पनीको तथ्यांकले देखाउँछ ।

कम्पनीले चालु आर्थिक वर्षका लागि कुल १ लाख ५० हजार क्विन्टल धान खरिद गर्ने स्वीकृत लक्ष्य तय गरेकोमा अब १ लाख ४७ हजार ४ सय ७० क्विन्टल खरिद गर्न बाँकी छ ।

तथ्यांक अनुसार धान खरिद गर्न तोकिएका देशभरिका १२ कार्यालय र खरिद विभाग गरी कुल १३ निकायमध्ये हालसम्म १ कार्यालय अर्थात् प्रादेशिक कार्यालय धनगढीबाट मात्र धान खरिद भएको छ । बाँकी ११ कार्यालय र खरिद विभाग गरी १२ निकायबाट खरिद हुन बाँकी छ ।

प्रादेशिक कार्यालय धनगढीले १ मंसिरदेखि मोटा धान खरिद सुरु गरेको हो, जहाँ कुल स्वीकृत ३० हजार क्विन्टल कोटामध्ये जम्मा २ हजार ५ सय २९ क्विन्टल खरिद भएको छ ।

धनगढी बाहेक १२ कार्यालय तथा विभागको धान खरिद सुरु मिति र खरिद परिमाण दुवै शून्य छ भने कृषि सहकारी मार्फत हालसम्म कुनै पनि कार्यालयबाट धान खरिद भएको छैन ।

खरिद सुरु हुन बाँकी कार्यालयतर्फ मुख्य शाखा कार्यालय बिर्तामोडका लागि सोना मन्सुली धान ८ हजार र रञ्जित धान ४ हजार गरी कुल १२ हजार क्विन्टल स्वीकृत गरिएको छ, जसमध्ये सोना मन्सुलीको खरिद दर प्रतिक्विन्टल ३ हजार ८ सय ६० रुपैयाँ तोकिएको छ भने रञ्जित धानको दर उल्लेख गरिएको छैन ।

त्यस्तै प्रादेशिक कार्यालय विराटनगरका लागि सोना मन्सुली धान १० हजार क्विन्टल र मुख्य शाखा कार्यालय लहानका लागि सोना मन्सुली धान ८ हजार क्विन्टल स्वीकृत भएको छ र यी दुवै स्थानमा खरिद दर प्रतिक्विन्टल ३ हजार ८ सय ६० रुपैयाँ तय गरिएको छ ।

प्रादेशिक कार्यालय जनकपुरका लागि वासमती धान २ हजार क्विन्टल, सोना मन्सुली धान १० हजार क्विन्टल र कतर्नी/जिरा मसिनो धान २ हजार क्विन्टल गरी कुल १४ हजार क्विन्टल स्वीकृत छ भने शाखा कार्यालय वीरगञ्जका लागि सोना मन्सुली धान १० हजार क्विन्टल तोकिएको छ ।

यसैगरी प्रादेशिक कार्यालय भैरहवाका लागि साँवा धान ५ हजार क्विन्टल र मुख्य शाखा कार्यालय नेपालगञ्जका लागि मध्यम धान १० हजार क्विन्टल खरिद गर्ने स्वीकृति छ ।

मुख्य शाखा कार्यालय राजापुरका लागि मोटा धान २५ हजार क्विन्टल (दर ३ हजार ६ सय ६०) र मध्यम धान ५ हजार क्विन्टल (दर ३ हजार ८ सय ६०) गरी कुल ३० हजार क्विन्टल तथा मुख्य शाखा कार्यालय तुलसीपुरका लागि प्रतिक्विन्टल ३ हजार ६ सय ६० रुपैयाँका दरले मोटा धान ५ हजार क्विन्टल स्वीकृत गरिएको छ ।

सुदूरपश्चिमकै शाखा कार्यालय महेन्द्रनगरमा प्रतिक्विन्टल ३ हजार ६ सय ६० रुपैयाँका दरले मोटा धान ८ हजार क्विन्टल, शाखा कार्यालय जुम्लामा मार्सी धान २ सय क्विन्टल (दर उल्लेख नभएको) र केन्द्रीय खरिद विभागका लागि आवश्यकता अनुसार खरिद गर्ने गरी ७ हजार ८ सय क्विन्टल (दर उल्लेख नभएको) कोटा छुट्याइएको छ ।

समग्रमा कम्पनीले चालु आवका लागि स्वीकृत गरेको कुल १ लाख ५० हजार क्विन्टल धानमध्ये प्रतिक्विन्टल ३ हजार ६ सय ६० रुपैयाँ दर तोकिएको मोटा धान ६८ हजार क्विन्टल तथा प्रतिक्विन्टल ३ हजार ८ सय ६० रुपैयाँ दर तोकिएको सोना मन्सुली धान ४६ हजार क्विन्टल र मध्यम धान १५ हजार क्विन्टल छ ।

यस्तै साँवा धान ५ हजार क्विन्टल, रञ्जित धान ४ हजार, वासमती धान २ हजार, कतर्नी/जिरा मसिनो धान २ हजार, मार्सी धान २ सय र खरिद विभाग अन्तर्गत आवश्यकता अनुसार ७ हजार ८ सय क्विन्टल खरिद दर भने उल्लेख छैन ।

धान थन्क्याउने मुख्य याम सकिन लाग्दासमेत मुलुकका धेरैजसो भेगमा राज्य संयन्त्रबाट हुने खरिद कार्यले गति लिन सकेको छैन । तोकिएको समर्थन मूल्यमा सम्बन्धित निकायले बेलैमा बाली नकिन्दिँदा कम भाउमै निजी व्यवसायीलाई उपज बिक्री गर्न बाध्य हुनुपरेको किसानको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?