४ मंसिर, सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको प्रदेश सरकारले जनाएको छ । खेलस्थल व्यवस्थापन, खेलाडीको पोसाक, खेल सामग्री, सुरक्षा, स्वास्थ्य सेवा र उद्घाटन समारोहको तयारी भइरहेपनि सञ्चालनका केही प्राविधिक र व्यवस्थापकीय काम भने अझै चुनौतीका रूपमा देखिएका छन् ।
मुख्यमन्त्री मंगलबहादुर शाहीले तयारीलाई तीव्रता दिइएको र खेल सुरु हुनुअघि करिब ९० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य रहेको बताए । उनका अनुसार खेलस्थल, प्रकाश व्यवस्थापन, खेल सामग्री र खेलाडीको पोसाकको व्यवस्था मिलाउने काम भइरहेको छ । केही खेलस्थलमा सामान्य मर्मतसम्भार र प्राविधिक काम बाँकी रहे पनि तोकिएको समयभित्र सक्ने सरकारको योजना छ ।
‘अहिले तयारीका अधिकांश काम अघि बढिसकेका छन् । बाँकी काम पनि तोकिएको समयभित्र पूरा गर्ने लक्ष्य छ । सात दिनभित्र तयारीलाई ९० प्रतिशतसम्म पुर्याउँछौँ,’ मुख्यमन्त्री शाहीले भने ।
३२ खेल, सात जिल्लामा प्रतिस्पर्धा
दशौँ राष्ट्रिय खेलकुदमा ३२ खेल विधाका प्रतिस्पर्धा हुने कार्यक्रम छ । खेलहरू कर्णालीका विभिन्न जिल्ला र लुम्बिनी प्रदेशका केही जिल्लामा सञ्चालन हुनेछन् ।
सुर्खेतमा सबैभन्दा बढी २३ खेल गर्ने तयारी छ । सल्यान, नेपालगञ्ज र बर्दियामा दुई–दुई तथा दैलेख, कालीकोट र पश्चिम रुकुममा एक–एक खेल हुनेछन् ।
विभिन्न जिल्लामा खेल गर्दा खेलाडी, प्रशिक्षक, निर्णायक र व्यवस्थापकको आवास, यातायात, भोजन र प्राविधिक व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने हुन्छ । यसका लागि सम्बन्धित जिल्लाका स्थानीय तह र सरोकारवाला निकायसँग समन्वय भइरहेको मुख्यमन्त्रीले बताए ।
खेलस्थलमा आवश्यक पूर्वाधार भए पनि केही स्थानमा प्रकाश व्यवस्थापन, मर्मतसम्भार र अन्य प्राविधिक काम बाँकी छन् ।
खेल सामग्री र पोसाक व्यवस्थापन
राष्ट्रिय स्तरको प्रतियोगिताका लागि खेलस्थल तयार पार्नु मात्र पर्याप्त हुँदैन । खेलाडीको पोसाक, खेल सामग्री, प्राविधिक जनशक्ति र निर्णायकको व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण हुन्छ । मुख्यमन्त्री शाहीका अनुसार खेलाडीको पोसाकदेखि खेल सामग्रीसम्मको व्यवस्थापन भइरहेको छ। सामग्री खरिदका लागि टेन्डर प्रक्रिया अघि बढाइएको छ ।
सहभागी खेलाडीलाई समयमै सामग्री उपलब्ध गराउने र खेल सञ्चालनमा अवरोध नहुने गरी तयारी भइरहेको उनको भनाइ छ ।
सुरक्षा र स्वास्थ्य सेवा
देशभरबाट खेलाडी, प्रशिक्षक, व्यवस्थापक र दर्शक सहभागी हुने भएकाले सुरक्षा व्यवस्थापन अर्को महत्वपूर्ण पक्ष हो । सुरक्षा निकायसँग समन्वय भइरहेको छ। सुरक्षा समन्वय बैठकमा करिब दुई हजार सुरक्षाकर्मी परिचालन गर्ने र १५ खेलस्थलमा सीसीटीभी निगरानी राख्ने तयारीबारे जानकारी दिइएको छ ।
अस्पताल तथा स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्ने, आकस्मिक उपचारको व्यवस्था मिलाउने र खेलाडी तथा दर्शकको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिने विषयमा पनि छलफल भएको छ । मुख्यमन्त्री शाहीले सुरक्षा निकाय, स्वास्थ्य संस्था र सम्बन्धित सबै निकायबीच समन्वय भइरहेको बताए ।
मंसिर १६ मा उद्घाटन, स्थानीय तहको पनि सहयोग
दशौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा हुने कार्यक्रम छ । केही खेल भने मंसिर ८ गतेदेखि नै सुरु हुने तयारी छ ।
उद्घाटन समारोहलाई भव्य र व्यवस्थित बनाउन प्रदेश सरकार, कर्मचारी, स्थानीय तह र विभिन्न संघसंस्थासँग समन्वय भइरहेको मुख्यमन्त्रीले बताए । स्थानीय तह तथा अन्य संस्थाले प्रवेशद्वार निर्माणलगायतका काममा सहयोग गर्ने तयारी गरेका छन् ।
प्रदेश सरकारले समारोहमा सहभागी हुने अतिथि, खेलाडी, कर्मचारी र दर्शकको व्यवस्थापनलाई समेत प्राथमिकतामा राखेको छ ।
कर्णालीको अर्थतन्त्रमा अवसर
यो प्रतियोगिता कर्णालीका लागि खेलकुद प्रतिस्पर्धा मात्र नभई आर्थिक तथा सामाजिक गतिविधि विस्तार गर्ने अवसर पनि हो ।
देशभरबाट खेलाडी, प्रशिक्षक, निर्णायक, व्यवस्थापक र दर्शक आउने भएकाले होटल, यातायात, रेस्टुरेन्ट, खाद्यान्नलगायतका व्यवसायमा चहलपहल बढ्ने अपेक्षा गरिएको छ ।
मुख्यमन्त्री शाहीले पनि सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे । ‘यस्तो ठूलो प्रतियोगिता आयोजना हुँदा प्रदेशमा आर्थिक गतिविधि बढ्छ । होटल, यातायात, व्यापार तथा पर्यटन क्षेत्रमा चहलपहल बढ्नेछ। कर्णालीलाई चिनाउने अवसर पनि हो,’ उनले भने ।
प्रतियोगितापछि पूर्वाधारको उपयोग मुख्य चुनौती
राष्ट्रिय खेलकुदका लागि बनाइएका खेल संरचना प्रतियोगितापछि कसरी उपयोग हुन्छन् भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ ।
यी पूर्वाधारलाई नियमित प्रशिक्षण, स्थानीय प्रतियोगिता र राष्ट्रिय स्तरका अन्य खेल आयोजनामा प्रयोग गर्न सके मात्र प्रदेशले दीर्घकालीन लाभ लिन सक्छ । मुख्यमन्त्री शाहीले भविष्यमा कर्णालीमा राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्ने आधार तयार भएको बताएका छन् ।
तर त्यसका लागि संरचनाको नियमित सञ्चालन, मर्मतसम्भार, दक्ष प्रशिक्षकको उपलब्धता र खेलाडी उत्पादनमा निरन्तर लगानी आवश्यक हुन्छ ।
कर्णालीकै खेलाडी उत्पादन र पदकको चुनौती
कर्णालीका खेलाडीलाई जिल्लास्तरबाट छनोट गर्दै प्रदेश र राष्ट्रिय स्तरसम्म प्रतिस्पर्धा गर्न सक्ने वातावरण आवश्यक रहेको मुख्यमन्त्री शाहीको भनाइ छ । नियमित प्रशिक्षण, दक्ष प्रशिक्षक, खेल सामग्री र प्रोत्साहन पाए कर्णालीले राष्ट्रिय स्तरमा उपस्थिति बलियो बनाउन सक्ने उनको विश्वास छ ।
प्रतिक्रिया 4