+
+
Shares

इराकको विद्युत् केन्द्रमा विस्फोट हुँदा चार जनाको मृत्यु, ३० घाइते

हरिथा विद्युत् उत्पादन केन्द्रको कुल उत्पादन क्षमता ८०० मेगावाट रहेको छ । तर घटना हुनुअघि यसले करिब ४०० मेगावाट विद्युत् उत्पादन गरिरहेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ५ गते १७:५२

इराकको दक्षिणी सहर बस्रास्थित एक विद्युत् उत्पादन केन्द्रमा विस्फोटपछि आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरेका छन् ।

इराकी सुरक्षा अधिकारीहरूका अनुसार बस्राको उत्तरी क्षेत्रमा रहेको हरिथा विद्युत् उत्पादन केन्द्रमा घटना भएको हो । इराकको सरकारी समाचार संस्था आईएनएका अनुसार घटनास्थल पुगेका अग्नि नियन्त्रण टोलीले आगो नियन्त्रणमा लिएका छन् ।

विस्फोट र आगलागीको कारण खुल्न नसकेको अधिकारीहरूले बताएका छन् । घटनाबाट भएको क्षतिको पूर्ण विवरणसमेत संकलन भइसकेको छैन ।

सुरक्षा स्रोतका अनुसार विद्युत् केन्द्रमा लागेको आगो नजिकैका आवासीय क्षेत्रमा समेत फैलिएको थियो । घटनापछि केन्द्रको सञ्चालन बन्द गरिएको छ ।

अधिकारीहरूका अनुसार हरिथा विद्युत् उत्पादन केन्द्रको कुल उत्पादन क्षमता ८०० मेगावाट रहेको छ । तर घटना हुनुअघि यसले करिब ४०० मेगावाट विद्युत् उत्पादन गरिरहेको थियो ।

इराकको विद्युत् क्षेत्र दशकौंदेखि न्यून लगानी, कमजोर मर्मतसम्भार र पूर्वाधारसम्बन्धी समस्याबाट प्रभावित हुँदै आएको छ । विशेषगरी गर्मीयाममा विद्युत्को माग बढ्दा देशले लामो समयसम्म विद्युत् कटौती र आपूर्ति प्रणालीमा समस्या झेल्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?