७ मंसिर, काठमाडौं । सांसदहरूले खनिज पदार्थको उत्खनन गर्दा भावी पुस्ताको हित ख्याल गर्नुपर्ने गरी कानुनी प्रावधान राख्ने प्रस्ताव राखेका छन् । ‘खानी तथा खनिज पदार्थ विधेयक २०८३’ मा संशोधन प्रस्ताव राख्दै सांसदहरूले भावी पुस्ताको हित ख्याल गर्नुपर्ने गरी कानुनी प्रावधान खोजेका हुन् ।
प्रतिनिधिसभा सदस्यहरू बासना थापा, जयपती रोकाया र रीना उप्रेती (के.सी.)ले प्रस्तावित विधेयकको दफा (३) मा खनिज पदार्थको संरक्षण तथा व्यवस्थापन सम्बन्धी प्रावधान राख्न प्रस्तव गरेका छन् ।
‘नेपाल भित्र निजी, सामुदायिक, सरकारी वा सार्वजनिक स्वामित्वमा रहेको जुनसुकै प्रकारको जमिनको सतह वा भूगर्भमा प्रकृतिक अवस्थामा रहेको खनिज पदार्थको संरक्षण, व्यवस्थापन तथा उपयोग नेपाल सरकारले नागरिक तथा भावी पुस्ताको हितमा हुने गरी गर्नेछ’ उनीहरूले यस्तो लेख्ने प्रस्ताव राखेका हुन् ।
खनिज पदार्थको संरक्षण, व्यवस्थापन तथा उपयोग गर्दा अन्तरपुस्ता न्याय, वातावरणीय दिगोपन, सार्वजनिक हित, पारदर्शिता तथा जवाफदेहिताको सिद्धान्तलाई आधार मानिने विषय पनि ऐनमै लेख्नुपर्ने उनीहरूको प्रस्ताव छ ।
यीसहित यो विधेयकमाथि परेका संशोधनउपर संसदीय विषयगत समितिले छलफल अघि बढाउँदैछ । सोमबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले खानी तथा खनिज पदार्थ विधेयक,२०८३ माथि विज्ञहरुसँग छलफल गर्दैछ । त्यसपछि संशोधनकर्ता सांसदहरूसँग छलफल गर्नेछ ।
यो विधेयकमाथि सांसदहरूले ३५ वटा समूहमा संशोधन प्रस्ताव राखेका छन् ।
यो विधेयक उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ल्याएकी हुन् । १४ साउनमा प्रतिनिधिसभामा दर्ता भएको विधेयकउपर सांसदहरूले ३५ वटा समूहमा संशोधन प्रस्ताव दर्ता गरेका हुन् ।
सरकारले संघीय शासन प्रणाली अनुरूप खानी तथा खनिज पदार्थ सम्बन्धी अधिकार तथा जिम्मेवारी स्पष्ट गर्न खानी तथा खनिज पदार्थ विधेयक ल्याएको हो ।
खानी तथा खनिज पदार्थको संरक्षण, अन्वेषण तथा उत्खनन कार्यलाई व्यवस्थित, वैज्ञानिक तथा दिगो बनाउने उदेश्य राखिएको यो विधेयकमा ६३ वटा दफा प्रस्तावित छन् ।
हाल खानी तथा खनिज पदार्थ ऐन २०४२ प्रचलनमा छ । यसलाई खारेज गरेर समयाअनुकूल र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अनुरूप अधिकार विकेन्द्रीकृत गर्ने गरी ल्याइएको विधेयकमा साधारण निर्माणमुखी खनिज, रणनीतिक तथा सामरिक महत्त्वका खनिज तथा रेडियोधर्मी खनिज पदार्थ सम्बन्धी विशेष व्यवस्था छन् ।
नेपालको संविधानले खानी तथा खनिज पदार्थ सम्बन्धी विषयमा संघ, प्रदेश तथा स्थानीय तहको अधिकारको बाँडफाँट गरेको छ ।
उद्योग मन्त्रालयका अनुसार प्रचलित खानी तथा खनिज पदार्थ ऐन, २०४२ संघीय शासन प्रणाली कार्यान्वयनपूर्वको कानून भएकाले वर्तमान संवैधानिक व्यवस्था, संघीय संरचना, आधुनिक खनिज प्रशासन, वातावरणीय उत्तरदायित्व, रणनीतिक खनिज व्यवस्थापन तथा लगानी प्रवर्द्धनका आवश्यकतालाई समेट्न अपर्याप्त छ ।
खनिज र खनिज क्षेत्रको वैज्ञानिक व्यवस्थापन, खानी तथा खनिज पदार्थको संरक्षण, अन्वेषण तथा उत्खनन प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र सहज बनाउन विधेया ल्याइएको मन्त्रालयले जनाएको छ ।
रणनीतिक, सामरीक तथा रेडियोधर्मी खनिज पदार्थको नियमन गर्न, भौगर्भिक अनुसन्धान तथा भूकम्पमापन कार्यलाई कानुनी आधार प्रदान गर्न तथा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय र अधिकार क्षेत्र स्पष्ट गर्ने उद्देश्यले खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न खानी तथा खनिज पदार्थ विधेयक तर्जुमा गरिएको विधेयकमै उल्लेख छ ।
प्रतिक्रिया 4