+
+
Shares

अनन्या बिड्ला को हुन् ? व्यवसायदेखि बलिउडसम्म चर्चा

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ७ गते १६:१९

व्यवसाय, संगीत, फिल्म र सामाजिक सञ्जालमा सक्रिय अनन्या बिड्ला अहिले चर्चामा छिन् । भारतका चर्चित उद्योगपति कुमार मंगलम बिड्लाकी छोरी अनन्या बिड्ला बिड्ला परिवारको ६ पुस्ताको इतिहासमा व्यवसायमा पूर्णकालीन रूपमा सक्रिय हुने पहिलो महिला हुन् ।

अनन्याले संगीत क्षेत्रमा पनि आफ्नो पहिचान बनाएकी छिन् । अहिले बलिउड फिल्म निर्माणमा समेत सक्रिय हुन थालेकी छिन् ।

करण जोहरको कार्यक्रम ‘कफी विद करण’ को नवौँ सिजनको छैटौँ एपिसोडमा अनन्या बिड्लाले आफ्नो निजी जीवन, विवाहका प्रस्ताव र व्यावसायिक क्षेत्रमा रहेको पुरुषप्रधान सोचबारे खुलासा गरेपछि उनको थप चर्चा भइरहेको छ ।

कार्यक्रममा उनलाई अर्को कुनै ठूलो उद्योगपति परिवारबाट दुवै परिवारको ब्रान्ड र प्रतिष्ठा समान भएकै कारण विवाहको प्रस्ताव आएको थियो कि भनेर सोधिएको थियो ।

यसमा अनन्याले आफूलाई विवाहको ठूलो प्रस्ताव आएको र एउटै व्यक्तिले पटक–पटक प्रस्ताव गरेको बताइन् । जब उनलाई उक्त व्यक्तिको नाम सोधियो, उनले नाम बताउन अस्वीकार गरिन् । करण जोहरले भने अब इन्टरनेटलाई यसबारे अनुमान गर्न दिनुपर्ने भन्दै ठट्टा गरे ।

अनन्याले पटक–पटक विवाहका प्रस्ताव आउँदा आफ्ना अभिभावक दिक्क हुने गरेको बताइन् । एकपटक अस्वीकार गरिसकेपछि कुरा त्यहीँ समाप्त हुनुपर्ने उनको भनाइ थियो ।

‘कफी विद करण’ मा निजी जीवनबारे कुरा गर्दै उनले आफू पूर्ण रूपमा प्रेममा विश्वास गर्ने र रोमान्टिक स्वभावको व्यक्ति भएको बताइन् ।

उनले आफू प्रायः आफूलाई उपयुक्त नहुने र आफू पनि उनीहरूका लागि उपयुक्त नहुने व्यक्तिप्रति आकर्षित हुने गरेको बताइन् । कार्यक्रममा डेटका लागि कुनैबेला पूरै रेस्टुरेन्ट वा कुनै स्थान खाली गराएको छ कि भनेर सोध्दा उनले हाँस्दै स्वीकार गरिन् ।

परिवारको ६ पुस्तामा पहिलो व्यवसायिक महिला

३२ वर्षीया अनन्या बिड्ला आदित्य बिड्ला समूहको व्यवसायमा सक्रिय भूमिका निभाइरहेकी छन् । उनका अनुसार उनी बिड्ला परिवारको छैटौँ पुस्ताकी सदस्य हुन् । अनन्या आदित्य बिड्ला समूहका १० कम्पनीमा निर्देशकको भूमिकामा छिन् ।

उनले स्वतन्त्र माइक्रोफिन प्राइभेट लिमिटेड नामक कम्पनी स्थापना गरेकी छिन् । उनी उक्त कम्पनीकी अध्यक्ष पनि हुन् ।

अनन्याको पारिवारिक जरा उद्योगपति तथा स्वतन्त्रता आन्दोलनका समर्थक घनश्याम दास (जीडी) बिड्लासम्म पुग्छ । एक अन्तर्वार्तामा उनले आफ्नो परिवारमा महिलाको व्यावसायिक भूमिकाबारे भनेकी थिइन्, ‘म आफ्नो परिवारको छैटौँ पुस्ताकी सदस्य हुँ । मेरी हजुरआमाले पनि ४५–५० वर्षको उमेरमा सीएसआर को काम सुरु गर्नुभएको थियो । म परिवारमा पूर्णकालीन रूपमा व्यवसायमा काम गर्ने पहिलो महिला हुँ ।’

संगीतप्रतिको प्रेम छाड्नुपर्‍यो

व्यवसायबाहेक अनन्याको अर्को परिचय संगीतसँग जोडिएको छ । उनले सन् २०१६ मा गायन करियर सुरु गरेकी थिइन् । तर, सन् २०२४ को मे महिनामा उनले संगीत क्षेत्रबाट दूरी बनाउने घोषणा गरिन् । सामाजिक सञ्जाल एक्समा उनले लेखेकी थिइन्, ‘ व्यवसाय र संगीतलाई एकैसाथ सम्हाल्न मलाई कठिन भइरहेको छ । अब म आफ्नो पूरा ध्यान व्यवसायमा केन्द्रित गर्न चाहन्छु । मेरो संगीतलाई माया दिनुभएकोमा सबैलाई धन्यवाद ।’

संगीतबाट टाढिए पनि अनन्याले मनोरञ्जन क्षेत्रमा आफ्नो उपस्थिति कायम राख्ने प्रयास गरिरहेकी छिन् । सन् २०२६ को फेब्रुअरीमा उनले बिड्ला स्टुडियो सुरु गरिन् । उनी यसको संस्थापक तथा अध्यक्ष हुन् ।

इन्डियन एक्सप्रेसको रिपोर्टअनुसार अनन्याले बिड्ला स्टुडियोमार्फत फिल्म निर्माण क्षेत्रमा कदम राखेकी हुन् । उनले इम्तियाज अलीको फिल्म ‘मैं वापस आऊंगा’ बाट निर्माताका रूपमा बलिउडमा प्रवेश गरिन् । फिल्ममा दिलजीत दोसाँझ, नसीरुद्दीन शाह र शर्वरी लगायतका कलाकार छन् ।

अहिले उनी रणवीर सिंह अभिनीत फिल्म ‘प्रलय’ निर्माण गर्दैछिन् । फिल्मको निर्देशन जय मेहताले गरिरहेका छन् ।

अनन्याको योजना हिन्दीबाहेक गुजराती, मलयालम र अन्य भाषामा पनि फिल्म निर्माण गर्ने रहेको छ । व्यावसायिक मनोरञ्जनसँगै नयाँ कलाकार, नयाँ कथा र फरक शैलीका फिल्मलाई प्रोत्साहन गर्ने उनको उद्देश्य छ ।

कसरी बनिन् बिड्ला परिवारकी पहिलो महिला उद्यमी ?

अनन्या आफ्नो व्यवसायिक यात्रामा पिता कुमार मंगलम बिड्लाको योगदानलाई निकै महत्त्वपूर्ण मान्छिन् । उनका अनुसार, उनका पिताले उनलाई लैङ्गिक भेदभावभन्दा क्षमता महत्त्वपूर्ण हुने विश्वास दिलाएका थिए ।

कुमार मंगलम बिड्लालाई भारतीय परिवारमा वंश र विरासतको जिम्मेवारी प्रायः पुरुषलाई दिइने परम्परा परिवर्तन गर्ने निर्णयबारे सोधिएको थियो । यसमा उनले भनेका थिए, ‘मलाई लाग्छ, अहिले हरेक क्षेत्रमा परिवर्तन भइरहेको छ । हाम्रो अघिल्लो पुस्तामा यस्तो जिम्मेवारी छोराहरूलाई मात्रै दिइन्थ्यो । तर, समयसँगै मानिस र उनीहरूको सोच बदलिँदै गएको छ । मेरो विचारमा अहिलेको पुस्ताले छोरा र छोरीबीच कुनै भेदभाव गर्दैन ।’

त्यही कुराकानीमा उनले अनन्याको बाल्यकालको एउटा घटना पनि सुनाएका थिए । उनले भनेका थिए, ‘अनन्या चार–पाँच वर्षकी हुँदाको कुरा हो । म उसको स्कुलमा फुटबल हेर्न गएको थिएँ । त्यहाँ एक सानी बच्चीले अन्य बच्चाहरूको बीचबाट तीव्र गतिमा बल लिएर गोल गरेको देखेँ । पछि थाहा भयो, ती अनन्या थिइन् । उनलाई देखेपछि पहिलोपटक नेतृत्व गर्ने क्षमता भएको महसुस गरेँ ।’

उनले थप भनेका थिए, ‘उनी साँच्चै उत्कृष्ट नेतृत्वकर्ता हुन् । उनीमा धेरै गुण छन् । जुन काम गर्छिन्, त्यसमा आफ्नो ४०० प्रतिशत दिन्छिन् । मलाई लाग्छ, अहिलेको समयमा छोरा र छोरीबीच कुनै भेदभाव छैन।’

संगीतका लागि अक्सफोर्डको पढाइ छाडिन्

व्यवसाय र संगीतबीच आफ्नो बाटो रोज्ने क्रममा अनन्याले अक्सफोर्ड विश्वविद्यालयमा अर्थशास्त्र तथा व्यवस्थापनको पढाइ बीचमै छाडेकी थिइन् । त्यसपछि उनले संगीतलाई करियर बनाउने निर्णय गरिन् । युनिभर्सल म्युजिक ग्रुपसँग आफ्नो पहिलो गीत सम्झौता गर्ने क्रममा उनी भारत फर्किएकी थिइन् ।

सन् २०२६ को मार्चमा एक अन्तर्वार्तामा उनले पढाइ छाड्ने निर्णयबारे कुरा गरेकी थिइन् । उनले भनेकी थिइन्, ‘म शिक्षा पूरा गर्नुपर्ने पक्षमा छु र कसैलाई पनि पढाइ छाड्ने सल्लाह दिन्नँ । हरेक व्यक्तिको आफ्नै यात्रा हुन्छ । सायद मेरो यात्रा यस्तै हुनुपर्ने थियो ।’

उनका अनुसार अक्सफोर्डको अर्थशास्त्र तथा व्यवस्थापन कार्यक्रममा प्रवेश पाउन उनले निकै मेहनत गरेकी थिइन् । तर, कार्यक्रमको दोस्रो वर्षमा मानसिक स्वास्थ्यसम्बन्धी केही समस्या हुन थाले । उनले अन्तर्वार्तामा भनेकी थिइन्, ‘मैले गितार उठाएँ र आफ्ना भावनाहरूलाई गीतमार्फत व्यक्त गर्न थालेँ ।’

अर्को अन्तर्वार्तामा उनले त्यस समयको वातावरणले आफूलाई खुसी नबनाउने गरेको स्मरण गर्दै भनेकी थिइन्, ‘म त्यो वातावरणमा खुसी थिइनँ, किनभने मलाई थाहा थियो, म अरू केही गर्न चाहन्छु । त्यसैले मैले लाइभ संगीत प्रस्तुति सुरु गरेँ ।’

संगीतलाई करियर बनाउने अनन्याको निर्णायक मोड एउटा पुराना कपडा बेच्ने पसलमा प्रस्तुति दिँदा आएको थियो । त्यहाँ मानिसहरू उनको प्रस्तुति सुन्नुभन्दा सामान किनमेल गर्न व्यस्त थिए । तर, त्यसका बाबजुद उनलाई त्यहाँ गीत गाउन रमाइलो लागेको थियो ।

उनले भनेकी थिइन्, ‘संगीतले मलाई खुसी दिन्छ र म जीवनभर संगीत गर्न चाहन्छु भन्ने महसुस भयो ।’

त्यही अनुभवपछि उनले अक्सफोर्ड छाड्ने निर्णय गरिन् । त्यसपछि आफ्ना लागि गीत आफैँ लेख्न र तयार गर्न थालिन् । विभिन्न ठाउँमा गएर गीत प्रस्तुत गर्न थालिन् ।

यसै क्रममा उनले आफ्ना मौलिक गीतका डेमो युनिभर्सल म्युजिक ग्रुपलाई पठाइन् । केही समयपछि कम्पनीका तत्कालीन मार्केटिङ प्रमुख सुनील डिसुजाले उनलाई फोन गरेर मुम्बई आउन आग्रह गरे ।

सन् २०१६ को उक्त भेट सम्झँदै अनन्याले भनेकी थिइन्, ‘म मुम्बई आएँ र युनिभर्सल म्युजिक ग्रुपका प्रमुखलाई आफ्नो गीत ‘आई डन्ट वान्ट टु लभ’ सुनाएँ । त्यो गीत मैले मन टुटेको समयमा लेखेको थिएँ । उहाँले दुईपटक गीत सुन्नुभयो र मलाई कार्यालय बोलाएर सम्झौता गर्ने कुरा गर्नुभयो । त्यो मेरा लागि सपना पूरा भएजस्तै थियो ।’

के व्यवसायिक संसार पनि पुरुषप्रधान छ ?

‘कफी विद करण’ मा अनन्यालाई व्यावसायिक संसारमा पनि पुरुषप्रधान सोचको प्रभाव छ कि भनेर सोधिएको थियो । यसको जवाफमा उनले व्यावसायिक क्षेत्रमा अझै पनि पुरुषप्रधान सोच कायम रहेको बताइन् ।

उनका अनुसार बोर्ड बैठकमा पनि यस्तो सोचको अनुभव हुन्छ । कतिपय पुरुषले आफू ‘कसैकी प्यारी छोरी’ भएकै कारण उनको कुरामा सहमति जनाउने गरेको उनलाई महसुस हुन्छ ।

तर, समयसँगै मानिसले आफ्नो क्षमता स्वीकार गर्न थाल्ने उनको भनाइ छ ।

उनले तथ्यांकले झुट नबोल्ने बताउँदै मानिसहरूले काम गर्ने तरिका र व्यवस्थापन प्रणालीलाई हेर्ने गरेको बताइन् ।

बीबीसीबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?